१६ चैत्र २०८०, शुक्रबार

नौवस्ता औद्योगिक क्षेत्र निर्माणमा प्रदेश सरकारले संघमा समन्वय गर्छः मन्त्री नमुना
  • न्युज मानसराेवर

बाँके \लुम्बिनी प्रदेश सरकारकी मन्त्री कृष्णा केसी(नमुना)ले नौवस्ता औद्योगिक क्षेत्र निर्माणको लागि प्रदेश सरकारले भूमिका खेल्ने बताएकी छिन् । संघीय सरकारले बजेट विनियोजन गरेपनि औद्योगिक क्षेत्रको काम अगाडि बढ्न नसकेको भन्दै उनले प्रदेश सरकारले निर्माणको काम अगाडि बढाउन भूमिका खेल्ने बताइन् ।

‘अहिले नेपालगन्जमा औद्योगिक क्षेत्र रहेपनि नौवस्तामा ठूलो औद्योगिक क्षेत्र बन्दैछ’ मंगलबार नेपालगन्जमा महोत्सवको उद्घाटन गर्दै मन्त्री नमुनाले भनिन्, ‘रोकिएका कामहरु अगाडि बढाउनको लागि प्रदेश सरकारले संघीय सरकारसँग पुल काम गर्छ ।

’ नौवस्ता औद्योगिक क्षेत्रमा केही समस्याहरु हल भएपनि अन्य समस्याहरु समेत सरोकारवालाहरु बसेर हल गर्नुपर्नेमा उनले जोड दिइन् । त्यहाँ बसोबास गर्ने मानिसहरुको घरवास र रोजगारीको ग्यारेण्टी राज्यले गर्नुपर्ने उनको भनाई रहेको थियो ।

बाँकेको विकासका लागि आफुले खेल्नुपर्ने भूमिका खेल्न तयार रहेको मन्त्री नमुनाले बताइन् । ‘समग्र बाँकेको विकासको लागि सबैजना आफ्नो स्थानबाट लाग्नुपर्छ’ उनले भने, ‘यसमा नीजि क्षेत्रको झनै महत्वपूर्ण भूमिका हुन्छ ।

म यहाँको विकासको लागि आफ्नो भूमिका निर्वाह गर्न तयार छु ।’ सो अवसरमा उनले ठूला उद्योगका साथै साना तथा घरेलु उद्योगहरुले समेत नेपालको आर्थिक विकास र समृद्धिमा महत्वपूर्ण भूमिका खेलिरहेको बताइन् । साना तथा घरेलु उद्योगहरुको प्रबर्द्धन एवं विकास गर्नुपर्नेमा मन्त्री नमुनाले जोड दिइन् ।

  • १० माघ २०७९, मंगलवार प्रकाशित

  • Nabintech