१० फाल्गुन २०८०, बिहीबार

लोकतान्त्रिक अभ्यास
  • न्युज मानसराेवर

जिउँदो प्राणीलाई कुनै प्रकारको हानिनोक्सानी पु-याउन नहुने, अनुमतिबिना कसैको कुनै वस्तु लिन नहुने, व्यभिचार गर्न नहुने, मिथ्यासञ्चार गर्न नहुने र नशालु वस्तुको सेवन गर्न नहुने जस्ता शिक्षा बुद्धले आफ्नो समयमा गाउँगाउँ/बस्तीबस्ती पुगेर दिन्थे ।

हेर्दा साधारण लाग्ने तर दूरगामी महìवको त्यो शिक्षाको सान्दर्भिकता राजनीतिक फाँटमा त झनै बढेको छ । आज विश्वका लोकतान्त्रिक मुलुकका संविधान र कानुनमा मात्र होइन संयुक्त राष्ट्रसङ्घको मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र र तत्पश्चात्का मानव अधिकारसम्बन्धी महासन्धिमा समेत २५०० वर्षअघि नै बुद्धले दिएका नैसर्गिक नैतिक शिक्षा अकाट्य रूपले पर्नु जति उचित लाग्छ मानवजतिको चिन्तन र व्यवहार नैतिक रूपले क्रमशः ह्रासोन्मुख हुँदै जाँदा त्यति नै दुखित तुल्याउँछ । वास्तवमा, नेपालको सन्दर्भमा पनि सुशासनमुखी राजनीतिक संस्कृति निर्माणमा बुद्धको शिक्षालाई खोजीखाजी गरी विस्तृत रूपमा ग्रहण गर्नु फलदायी हुन्छ ।

प्राचीन ग्रीसका दार्शनिक सोक्र्याटसले नैतिक चरित्र र ज्ञान अकाट्य रूपमा सम्बन्धित हुन्छ भन्ने कुरामा विश्वास गर्थे । उनी ठान्थे वास्तविक ज्ञानबिना असल नैतिक आचरणको पालना हुँदैन । यसको मतलव–वास्तविक ज्ञानको अभावमा नै मानव नैतिक पतनको बाटो हिँड्छ, अन्य कारण जेसुकै तेस्र्याइयोस् । यहाँनेर ज्ञान र औपचारिक शिक्षालाई एउटै ठान्ने भूल गर्नुहुन्न । आफ्नै मौलिक अनुभूतिद्वारा, ध्यानद्वारा वा आफँैले वैज्ञानिक परीक्षण गरेर प्राप्त गरेको ज्ञानलाई नै बुद्धले वास्तविक ज्ञान मानेका छन् । (कलम सुत्त) सोक्र्याट्स पनि ज्ञानद्वारा मानव जीवन मार्गदर्शित हुनुपर्छ र ज्ञान नै ईश्वर हो भन्ने मान्यता राख्थे । उनले राज्यका संयन्त्रमा व्याप्त अनैतिक आचरणको कडा आलोचना गर्दै सडकमै खुला रूपमा युवावर्गलाई नैतिक शिक्षा दिँदै हिँड्थे । यसवापत उनलाई मृत्युदण्ड दिइयो । उनले माफी मागेर ज्यान जोगाउन अस्वीकार गरे । बरु मृत्युदण्ड दिइनु एक घण्टाअघिसम्म पनि हिरासतभित्रै आफ्ना शिष्य तथा शुभचिन्तकलाई नैतिक शिक्षा दिने कार्य जारी राखे । वासनायुक्त व्यक्ति र नैतिक रूपले जागृत व्यक्तिबीच कति ठूलो भिन्नता हुन्छ भन्ने कुरा यस उदाहरणबाट झल्किन्छ र हाम्रो वर्तमानलाई झस्का दिन्छ । राजनीतिमा वासनाग्रस्त मनोग्रन्थी हावी हुँदा नै मानव जीवनको नैतिक आचरणजस्तो निर्णायक मापदण्ड ओझेलमा परेको हो, र त समाज दुष्परिणाम भोग्न बाध्य छ ।

नैतिकताकै सबालमा, प्राचीन ग्रिक दार्शनिक प्लेटोले मानव सुख र समृद्धिका निम्ति असल नैतिक चरित्र र मानवीय गुणलाई अनिवार्य तìव मानेका छन् । असल चरित्रमा जोड दिने प्राचीन ग्रिसकै अर्का दार्शनिक एरिस्टोटलले कुनै पनि अतिवादपट्टि नढल्किकन असल क्रियाकलापमामा संलग्न हुने प्रवृत्तिलाई नैतिक गुणको रूपमा व्याख्या गरेका छन् । आधुनिक लोकतन्त्रमा नैतिक शक्तिलाई बढवा दिनु आवश्यक छ भन्ने अर्थमा माथिका प्रसङ्ग उठाइएका हुन् ।

यसप्रकार, उल्लिखित प्रसङ्गले मानवजाति नैतिक, तर्कशील र भावनात्मक प्राणी हो भन्नेमा दुविधा रहँदैन । उसले आफ्नै मनलाई असीमित तार्किक प्रयोगशालाका रूपमा प्रयोग गर्न सक्छ । दिवङ्गत वैज्ञानिक स्टेफन हकिङले गणितीय तार्किक क्षमताको प्रयोग गरेरै ब्रह्माण्डको ब्ल्याकहोलसम्बन्धी सिद्धान्तको प्रतिपादन गरेका हुन् । के, किन, कस्तो, कसरी, कहाँ, कहिले आदि प्रश्नलाई औजारको रूपमा प्रयोग गरेर अनेक प्रश्नको हलार्थ परीक्षणमा उत्रनु मानवको वैज्ञानिक स्वभाव हो । ज्ञानको साथसाथै असल विचार र असल व्यवहारको पालना गर्दा नै मानिस झन् माथिल्लो श्रेणीमा पुग्छ भन्ने तथ्य बोधगम्य नै छ । हाम्रो सन्दर्भमा राजनीतिक वृत्तको चित्त पनि नैतिक रूपमा माथिल्लो श्रेणीमा उक्लनु पर्छ भन्ने मान्यता राख्नुलाई अन्यथा मान्न मिल्दैन । किनभने लोकतन्त्रमा नैतिक ह्रासको क्रमलाई स्वागतयोग्य ठान्न सकिन्न ।

लोकतन्त्र सम्वृद्धि र सुसंस्कृतिको रूपमा जनजीवनमा हुर्काउन तर्कशीलता र नैतिकता मात्रै होइन भावनात्मकताको पनि सदुपयोग गर्नुपर्छ । मानवको शरीरमा विद्युतीय–चुम्बकीय तरङ्ग उत्पादन हुन्छ भनेर विज्ञानले पुष्टि गरिसकेको विषय हो । हाम्रो जीवनको नैतिकीकरणको सबालमा यो स्मरण गर्नु जरुरी छ कि शरीरभित्रको परिभाषित–अपरिभाषित जैविक–रसायनको प्रक्रिया र स्नायु प्रणालीको कार्यबाट पैदा भएका तरङ्गरूपी संवेदनाहरूको सदुपयोगबाट राम्रो परिणाम आउँछ भने दुरुपयोगबाट दुःखद परिणाम आउँछ । हानिकारक भावना वा संवेगलाई नियमन गर्ने कार्य तार्किक चेतले नै गर्न सक्छ । त्यसको निम्ति हाम्रो मन कुनै पनि प्रकारको मानसिक तथा शारीरिक दुव्र्यसनीबाट मुक्त हुनुपर्छ । मुख्य कुरा ज्ञान–चालित, ज्ञान–उत्प्रेरित मन छ भने अनेक प्रकारका भावावेशहरूलाई अनाशक्त र हानिरहित ढङ्गले व्यवस्थापन गर्न सक्छ । जबकी आसक्त, सतही र सङ्कीर्ण स्थितिमा गुज्रिरहेको मन छ भने, विभिन्न समयमा मनमा उत्पन्न हुने भावावेशको उचित व्यवस्थापन गर्न नसक्दा धेरै क्षति समेत हुने गर्छ । यो कुरा लोकतान्त्रिकरणको प्रक्रियामा यो वा त्यो रूपमा संलग्न हामी सबैका लागि विचारणीय छ । अझ राजनीतिक वृत्तले त यसलाई गम्भीरतापूर्वक लिनु अपरिहार्य छ ।

तर्कशीलता, नैतिकता र भावनात्मकताको सन्तुलित संयोजनबाट हाम्रो लोकतन्त्र फलिभूत हुन सक्छ । तर बजार–नियन्त्रित, पैसा–केन्द्रित सामाजिक मनोविज्ञानले निर्णायक भूमिका खेलिरहेको वर्तमान विश्वमा मानिसले आफ्नो जीवनलाई जानेर वा नजानेर नैतिक रूपले ह्रासोन्मुख बनाउँदै लगिरहेको छ । इन्द्रिय आसक्तिले मनलाई दास बनाएपछि मानिस जस्तोसुकै क्षमतावान भए पनि नैतिक रूपले पतित हुन सम्भव छ भन्ने कुरा पुष्टि हुने घटनाक्रम संसारभरि नै बग्रेल्ती भेटिन्छन् । राजनीति र लोकतन्त्रको कलेवरमा हुने भ्रष्टाचारलाई पनि त्यस्तै एउटा उदाहरणको रूपमा लिने गरिन्छ । वास्तवमा, भ्रष्टाचारमा संलग्न हुने चट्टानीकृत प्रवृत्तिले एकातिर जनतालाई भास्छ भने अर्कोतिर लोकतन्त्रलाई बाँझो बनाउँछ । फलतः समग्र समाज नै बहुआयामिक सङ्कटको शृङ्खलाबाट गुज्रन बाध्य हुन्छ ।

त्यसैले, हामीले यहाँको राजनीतिमा बढ्दो नैतिक ह्रासलाई लोकतान्त्रिक बहसभित्र एक प्रमुख एजेन्डा बनाउन कन्जुस्याइँ गर्नु हुन्न । व्यक्तिवादी मनोढाँचामा ढालिएर एकोहोरो भौतिक समृद्धिको मन्त्र जप्ने–जपाउने गर्दा सामाजिक मनोविज्ञान नै नैतिक रूपले ह्रासोन्मुख बन्दै जान्छ । मानवजस्तो नैतिक प्राणीमा खँगारिँदो नैतिक गुण झिनोमसिनो विषय ठानिनु हुन्न । सकारात्मक लोकतान्त्रिक उपलब्धिलाई समग्रतः जनताको जीवन नै फेर्ने गरी सदुपयोग गर्न नैतिक क्षमताकै खाँचो पर्छ । लोकतन्त्रमा नैतिक मूल्य र मान्यतालाई कम आँकेर भौतिक उपलब्धिलाई मात्र एजेन्डा बनाउनु हुन्न । त्यस्तै, सार पक्षलाई उपेक्षा गरेर को व्यक्तिले के पाउने भन्नेमा हाम्रो राजनीतिक तथा मिडिया संवाद बढी केन्द्रित भइरहँदा लोकतन्त्रमा नैतिक ह्रास चुलिँदै गएको देखिन्छ ।

लक्षित नीति तथा कानुन र तिनको कार्यान्वयनमा जवाफदेही र पारदर्शी बन्न, सामाजिक मनोविज्ञानको विकास गर्न र जिम्मेवारीबाट पन्छिने वा पन्छाउने मनोवृत्ति खारेज गर्न ठोस कदम चाल्नु आवश्यक छ । हाम्रा सुशासनसम्बन्धी प्रक्रिया बढी प्रदर्शनकारी, कम नतिजामुखी छन् । कानुनका ठेली र न्यायालयले मात्र भ्रष्टाचारलगायत अन्य ठूलासाना अपराध रोक्न सक्दैन, किनभने तिनका जरामा अनैतिक आचरणको मनोवैज्ञानिक बीजारोपण भएको हुन्छ । तसर्थ, आजको नैतिक खडेरीलाई सम्बोधन गर्ने गरी प्रारम्भिक तहदेखि नै लागू गर्ने प्रयोजनका निम्ति गहन खोजअनुसन्धानसहितको नैतिक शिक्षाको नीतिगत तर्जुमा गरिनु पर्छ । नागरिकमा नैतिक गुणको जग हाल्न रूपान्तरणकारी शिक्षाको तर्जुमा गरेपछि सुशासन, जवाफदेहिता र पारदर्शिताको एजेन्डाले व्यावहारिक सार्थकता पाउने छ । के यो दिशामा अबको संसदीय मगज प्रयोग होला ?

  • १४ माघ २०७९, शनिबार प्रकाशित

  • Nabintech