११ श्रावण २०८१, शुक्रबार

लोप हुँदै दौडा पोसाक
  • न्युज मानसराेवर

हुम्ला\दक्षिणी क्षेत्रका गाउँपालिकामा अविवाहित युवतीले लगाउने पोसाक (दौडा) लोप हुने अवस्थामा पुगेको छ। युवतीको पहिचानका रूपमा यो पोसाक रहेको भए पनि पछिल्लो समय युवतीहरू आधुनिक पोसाकप्रति आकर्षित हुन थालेपछि यो कपडा देख्नै मुस्किल हुने गरेको हो।

अदानचुली गाउँपालिका–२ का कालीबहादुर थापाले प्रत्येक अविवाहित युवतीले लगाउने दौडा लोप हुने अवस्थामा पुगेको बताएका छन। उक्त पोसाकको कपडा कपासबाट स्थानीय प्रविधिबाट कपडा बुनेर दौडा तयार गरिन्थ्यो।

उनले अहिले सबै युवती विद्यालयमा जाने भएको कारण आधुनिक कपडासँग आकर्षित भएपछि यो पोसाक लोप भएको बताए । पहिले–पहिले यस्तो पोसाक लगाएका युवती देख्नेबित्तिकै अविवाहित महिला भनेर पहिचान हुने गथ्र्यो। विवाहित महिलाले भने यो पोसाक लगाउन हुँदैन थियो। विवाहितले धोती–चोली लगाउने गरिन्थ्यो। अहिले अविवाहित युवतीले कुर्ता–सुरुवाल लगाउन थालेपछि दौडा लोप भएको थापाले भने ।

एउटा घरमा जति पनि अविवाहित छोरी हुन्थ्ये, प्रत्येकका लागि कम्तीमा पनि दुई जोर दौडा सिलाउने गरिन्थ्यो। अझ विशेष गरी चाडपर्व र मेलापातमा युवतीले एउटै किसिमको यो पोसाक लगाउने गर्दा निकै सुन्दर देखिन्थ्यो।

ती युवतीले दौडा मात्र नभएर कम्बरमा पटुका, त्यस्तै गहना लगाएर सजिएपछि युवतीको समूह फरक देखिन्थ्यो। उहाँले आधुनिकता आफ्ना ठाउँमा भए पनि आफ्नो पुरानो परम्परागत पहिचान झल्कने पोसाकको संरक्षण गर्नु आवश्यक रहेको समेत बताए ।

  • २१ माघ २०७९, शनिबार प्रकाशित

  • Nabintech