१६ चैत्र २०८०, शुक्रबार

अन्तर्राष्ट्रिय विमानस्थल ठप्प हुँदा अर्बौँ लगानी डुब्ने चिन्ता
  • न्युज मानसराेवर

बुटवल\२०७९ जेठ २ गते बुद्धपूर्णिमाका दिन भव्य कार्यक्रमबीच शुभारम्भ गरिएको थियो, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल। नेपालमै अन्तर्राष्ट्रिय उडान हुने दोस्रो विमानस्थल भैरहवामा सञ्चालनमा आउँदा लुम्बिनीमा मात्रै होइन, देशव्यापी उत्साह थियो। किनकि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि अर्को त्यस्तै विमानस्थल बनेको थियो।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेसहितले नेपाली आकाशमा दोस्रो अन्तर्राष्ट्रिय उडानको शुभारम्भ गर्दै हवाई उडानमा नयाँ इतिहास कायम गरेको बताएका थिए। तर गौतमबुद्ध विमानस्थलको अन्तर्राष्ट्रिय हवाई उडानको यात्रा भने ७ महिना नबित्दै रोकिएपछि उत्साह निराशामा परिणत भएको छ।

भैरहवाबाट नियमित रूपमा उडान गरेको जजिरा र हिमालय एयरलायन्सले मौसम खराबीको कारण देखाउँदै उडान रोकेका छन्। नेपाल र चीनका निजी क्षेत्रको संयुक्त लगानी रहेको हिमालयन एयरलायन्सले पुस १ र जजिराले पुस ६ गतेदेखि उडान रोकेका हुन्।

जजिराले सुरुमा हप्ताको तीन दिन गर्दै दैनिक उडान गरेको थियो। यात्रुको संख्या कम भएपछि हप्तामा तीन दिनमै सीमित भएको थियो। पुस ६ गतेदेखि हुुस्सुको कारण देखाउँदै उडान रोकेको विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले जानकारी दिए।

‘जजिरा र हिमालयनले मौसमलाई देखाएर उडान रोकेका छन्’, महाप्रबन्धक दाहालले भने, ‘अहिले मौसम सफा पनि छ, प्राविधिक रूपमा उडान भर्न नसक्ने अवस्था छैन।’
पुसमा हुुस्सुका कारण केही समस्या भए पनि प्राविधिक समस्याका कारण विमानस्थलको प्रयोग गर्न एयरलायन्सहरूले आनाकानी गरेको उनको भनाइ छ।

गौतमबुुद्ध विमानस्थलमा प्रायः रोजगारीमा जानेहरूले नै प्रयोग गर्ने गरेकाले यहाँ श्रम स्वीकृति, भिसा सेन्टर, स्वास्थ्य उपचार जस्ता प्राविधिक समस्या छ। ‘भिसा प्रक्रियाका लागि भोग्नुपरेको झन्झटका कारण यात्रुको संख्या कम हुने हुँदा पनि समस्या भएको हो’, उनले भने । श्रम स्वीकृतिदेखि वैदेशिक रोजगारीमा जानका लागि आवश्यक पर्ने कार्यालय, म्यानपावर लगायतका निकाय यहाँ नहुँदा पनि हवाई उडानमा समस्या देखापरेको हो।

त्यस्तै विमानस्थल नजिकै रहेको भन्सार कार्यालय र अन्य विमानस्थलसँग सम्बन्धित निकाय र कार्यालयले समेत सेवा प्रवाह काठमाडौँबाट भैरहवा ल्याउन हिचकिचाउँदा पनि विमानस्थल सञ्चालनमा कठिनाइ भइरहेको छ।

प्राविधिक उपकरण सञ्चालन नहुँदा पनि अन्तर्राष्ट्रिय उडान प्रभावित बनेको विमानस्थलका प्रवक्ता सुुवास झाले जानकारी दिए। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिमेकी मुलुक भारतको सीमा नजिकै भएकाले भारतीय आकाशको प्रयोग गर्नुपर्ने हुन्छ।

तर भारतले आफ्नो आकाश प्रयोग गर्न नदिँदा पनि विमानस्थलको प्रयोगमा एयरलायन्सहरूको अरुचि बढेको हो। भारतले सुरक्षाको कारण देखाउँदै गौतम बुद्ध विमानस्थललाई सहज हुने पश्चिमतर्फको हवाई प्रवेश बिन्दु दिन मानिरहेको छैन।

भैरहवा तथा यस आसपासको ‘भिजिबिलिटी’ २०० मिटर हाराहारीमा रहने गरेको छ। घाम लागे आन्तरिक उडान हुने र नलागे उडान नै नहुने अवस्था छ। विमानस्थलमा जडित आईएलएस (उपकरणको मद्दतबाट विमान ल्यान्डिङ गर्ने प्रणाली) सञ्चालनमा आउन नसक्दा भैरहवाका लागि हुने गरेका सबै अन्तर्राष्ट्रिय उडान अवरुद्ध भएको हो।

आईएलएस एक रेडियो नेभिगेसन प्रणाली हो, जसले विमानहरूलाई रातमा वा खराब मौसममा पनि अवतरणमा सहयोग गर्छ। अरू बेला १ हजार ५०० मिटरको भिजिबिलिटी आवश्यक पर्नेमा आईएलएसको सहयोगमा ८०० मिटरसम्मको भिजिबिलिटीमा हवाईजहाज अवतरण गराउन सकिने प्रवक्ता झाले बताए।

विमानस्थल क्याट-२ का लागि पनि तयार गर्न सक्ने गरी लगानी गरिएको छ। पछि क्याट-२ मा लैजान सहज होस् भन्ने उद्देश्यले सो सम्बन्धी केही उपकरण तथा बत्ती जडान गरिसकिएको छ।

विमानस्थलमा अवतरण प्रणाली रहे पनि यो उपयोगमा आउन सकेको छैन। यसको प्रयोगमा भारतीय आकाश पनि प्रयोग हुन सक्ने भएकाले भारतको स्वीकृति आवश्यक परेको हो।

यो आकाश प्रयोग गर्ने अनुमतिका लागि उच्चस्तरीय तहबाट संवाद गरेर निकास निकाल्नुपर्नेछ।

अहिले मौसम सफा भए पनि यात्रु र अन्य कारणले एयरलायन्सहरूले उडानका लागि इच्छा देखाएका छैनन्। ‘फेब्रुअरीबाट उडान हुने भन्ने थियो, तर अझै पनि एयरलायन्सले चलाउन नसक्ने खबर गरेका छन’, प्रवक्ता झाले भने, ‘मार्च पहिलो सातासम्म चल्छ कि भन्ने छ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा सञ्चालन गरिएको यो विमानस्थलमा दैनिक ३० देखि ४० वटासम्म उडान गर्न सकिने क्षमता छ। प्रवक्ता झाका अनुसार विमानस्थल फुलफेजमा सञ्चालन नहुँदै उडान रोकिएकाले महिनाको ३० लाखसम्म विमानस्थल घाटा लागेको छ। अन्तर्राष्ट्रिय उडान नहुँदा घरेलु विमानस्थलको आम्दानीले खर्च मेन्टन गर्नुपरेको छ।

उडान रोकिएसँगै चिन्ता बढ्यो

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भगवान् बुुद्धको जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर सञ्चालनमा आएको हो। विश्वभरका बौद्धमार्गी र पर्यटकहरूको आकर्षणको केन्द्र लुम्बिनी भएकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग बढी हुने अपेक्षा छ। तर लुम्बिनीमा पर्यटक आउने सिजनमै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान रोकिएको हो।

लुम्बिनीमा अक्टोबरदेखि मार्चसम्म पर्यटकहरू आउने गरेका छन्। सिजन सुरु भइरहेका बेला अन्तर्राष्ट्रिय उडान नभएपछि लुम्बिनीसँग विमानस्थलको कनेक्सन नै नभएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले बताए।

उनले विमानस्थल सञ्चालनले आफूहरूलाई समेत उत्साही बनाइरहेका बेला उडान नभएपछि पर्यटकले विमानस्थलको सुविधा उपयोग गर्न नपाएको बताए।

त्यसो त विमानस्थलबाट चीन, भारत, श्रीलंका, थाइल्यान्डजस्ता देशबाट सीधै उडान गर्नुपर्ने आवाज पनि उठेको छ। अर्बौँका लगानी गरेका निजी क्षेत्रका व्यवसायीहरू अन्तर्राष्ट्रिय उडान रोकिएपछि त्रसित भएका छन्। सिद्धार्थ उद्योग वाणिज्य संघ भैरहवाका अध्यक्ष भीष्म न्यौपानेले निजी क्षेत्रमा सन्नाटा छाएको बताए।

‘विमानस्थलकै कारण भैरहवा र लुम्बिनीमा धमाधम तारे होटलहरू थपिएका छन्। व्यवसायीहरूले अर्बौँ लगानी गरेका छन्’, न्यौपानेले भने, ‘अन्तर्राष्ट्रिय उडान नभएपछि लगानी डुब्ने चिन्तामा छौँ।’ उनले राज्यको अर्बौँ लगानी गरेर सञ्चालन गरिएको विमानस्थल एउटा दुईवटा एयरलायन्सले प्राविधक कारण देखाएर बन्द गर्न नहुने बताए।

‘नेपाली ध्वजावाहक एयरलायन्सले किन हिम्मत गरेको छैन?’, उनले भने, ‘विमानस्थल सञ्चालनका लागि पनि हामीले ज्ञापनपत्र बुुझाउनुपर्ने, यो कस्तो देश हो।’ उनले प्रधानमन्त्री र पर्यटनमन्त्रीले तत्तकाल विमानस्थल सञ्चालनका लागि ठोस कदम चाल्नुपर्ने बताए।

उनले कोभिड महामारीले थलिएका व्यवसायीमा विमानस्थल सञ्चालनले उत्साह थपे पनि एकाएक बन्द भएपछि व्यवसायीहरू बैंकिङ कालोसूचीमा पर्ने अवस्था आएको गुनासो गरे। विमानस्थल निर्माण भएपछि उपयोगमा सरकारले ध्यान दिन नसकेको व्यवसायीहरूको भनाइ छ।

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुँदा यसले पर्यटन व्यवसायीहरूलाई आशा जगाएको थियो। भैरहवादेखि लुम्बिनीसम्म होटल, टुर ट्राभल्स जस्ता पर्यटकीय क्षेत्रमा लगानी बढ्दै थियो।

विमानस्थल बन्द भएपछि चिन्ता थपिएको नेपाल टुर्स एन्ड ट्राभल्स एजेन्ट संघ (नाट्टा) की लुम्बिनी प्रदेश अध्यक्ष रचना पन्तले बताइन्। उनले उडान सुरु भएको ७ महिनामै उडान रोकिँदा यसले आफूहरूलाई नमिठो लागेको बताइन्।

२०७१ माघ १ गते (जनवरी १५, २०१५) मा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको शिलान्यास गरिएको थियो। तीन चरणमा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण गरिएको हो। पहिलो बोलपत्र (आईसीबी वान) अन्तर्गत ६ अर्ब ८२ करोड, दोस्रो अन्तर्राष्ट्रिय बोलपत्र (आईसीबी टू) अन्तर्गत ५० करोड र तेस्रो मुआब्जा वितरण २२ अर्ब ४० करोड रूपैयाँ भएको थियो। त्यसका अतिरिक्त कार्गो निर्माणका लागि ९० करोडको काम भएको छ। यसरी सबै आयोजनाको काम जोड्दा ३० अर्ब रूपैयाँभन्दा बढी लगानीमा विमानस्थल निर्माण भएको हो।

विमानस्थलमा कुल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्ग छ। यस्तै आगमन, प्रस्थानसहितको टर्मिनल भवन, प्रशासकीय भवन, खानेपानी, फायर स्टेसन, मौसमसम्बन्धी जानकारी दिने उपकरणसहित अत्याधुनिक एयर ट्राफिक टावरसमेत निर्माण गरिएको छ।

विमानस्थल करिब ८ सय बिघा क्षेत्रफलमा फैलिएको छ। ३ किलोमिटर रनवे रहेको विमानस्थलमा फोर ई क्याटोगोरीको विमानस्थलमा नवौँ क्याटोगोरीका दमकल छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसरह उडान र अवतरण हुन सक्ने यहाँ ४ वटा न्यारोबडी र एउटा वाइडबडी गरी ५ वटासम्म अन्तर्राष्ट्रिय जहाज पार्किङ गर्न सकिन्छ।

विमानस्थलमा हालसम्म १५४ अन्तर्राष्ट्रिय उडान र त्यत्ति संख्यामै अवतरण भएका छन्। यस अवधिमा ३२ हजार यात्रुले सेवा लिएको विमानस्थलका प्रबन्धक दाहालले बताए। विमानस्थलमा हाल अन्तर्राष्ट्रिय वायु सेवालाई आकर्षित गर्न अवतरण शुल्क, सञ्चार तथा उडड्यन सेवा शुल्क र सुरक्षा जाँच शुल्कमा पहिलो वर्ष शतप्रतिशत छुट प्रदान गरिएको छ।

यसैगरी नेपाल वायु सेवा निगमले लिने ग्राउन्ड ह्यान्डलिङ सेवा शुल्कमा पनि ५० प्रतिशत छुट दिइएको थियो।

  • २१ माघ २०७९, शनिबार प्रकाशित

  • Nabintech