१२ मंसिर २०८१, बुधबार

सङ्घीयता बलियो बनाउन स्थानीय सरकार बलियो बनाउनुको विकल्प छैनः प्रमुख शेरचन
  • न्युज मानसराेवर

बुटवल\लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले सङ्घीयता बलियो बनाउन स्थानीय सरकारलाई बलियो बनाउनुपर्ने बताएका छन। उनले सङ्घीयता कार्यान्वयनमा स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहने बताए ।

बुटवल उपमहानगरपालिकाले आयोजना गरेको प्रथम उपमहानगर राष्ट्रिय सम्मेलनको आइतवार बुटवलमा उद्घाटन गर्दै प्रदेश प्रमुख शेरचनले स्थानीय सरकारमा पनि महानगर, उपमहानगर र गाउँनगरको अवस्था र समस्या फरक फरक रहेकाले आर्थिक सामाजिक हिसाबले स्रोत साधनको वितरणबारे छलफल गर्न जरुरी रहेको बताए ।

सङ्घीयता कार्यान्वयनका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारका बीचमा समन्वय र सहकार्य जरुरी रहेको भन्दै उनले आवश्यक कानुन निर्माणमा चासो दिनुपर्ने बताए । उनले बुटवलले उपमहानगरपालिकाहरुका साझा समस्याको समाधानको खोजी गर्ने अभ्यासको थालनी गरेकोमा खुशी व्यक्त गर्दै उनले यसले सङ्घीयतालाई बलियो बनाउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बोल्दै महानगर फोरमका संयोजक तथा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सङ्घीयता बलियो बनाउनका लागि स्थानीय सरकारलाई बलियो बनाउनुपर्ने बताए । उनले संविधानले व्यवस्था गरेअनुसारका साझा र एकल अधिकार प्रयोगका लागि आवश्यक कानून निर्माण र कार्यान्वयनमा जटिलता देखिएकाले त्यसको समाधानका लागि सङ्घीय सरकारले चासो देखाउनुपर्ने बताए ।

उनले महानगर, उपमहानगर, नगर र गाउँपालिकाहरुको भूगोल, आर्थिक र सामाजिक अवस्था फरक फरक रहेकाले सोहीअनुसारले आर्थिक स्रोतको वितरण गरिनुपर्ने बताए । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाइँले संविधानले व्यवस्था गरेअनुसारका अधिकार कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणमा सङ्घीय सरकारले विशेष चासो देखाउनुपर्ने बताए ।
उनले सङ्घ, प्रदेश र स्थानीय सरकारका बीचमा समन्वय र सहकार्यलाई अरु बढी प्रभावकारी बनाउनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै नेपाल नगरपालिका सङ्घका महासचिव तथा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले सङ्घ, प्रदेश र स्थानीय सरकारका योजनाहरु दोहोरिने गरेको र योजना कार्यान्वयनमा जटिलता देखिने गरेकोमा त्यसलाई सुधार गर्दै समन्वय र सहकार्यलाई जोड दिनुपर्ने दिएका छन।

नेपाल नगरपालिका सङ्घका सहकोषाध्यक्ष तथा हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले सङ्घीयता सफल बनाउन स्थानीय सरकारहरुलाई सफल बनाउनुपर्ने बताए । कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले साझा अधिकारको सूचीमा रहेका अधिकार क्षेत्रहरुको जिम्मेवारी तोकी सोही बमोजिमको कानुन बनाउन सङ्घीय सरकारले तदारुपता देखाई प्रदेश र स्थानीय सरकारलाई कानुन बनाउन सहजीकरण गर्नुपर्ने बताए ।

उनले सङ्घीय सरकारका विषयगत मन्त्रालयहरूबाट स्थानीय सरकारका अधिकारहरुमाथि अङझ्कुश लगाउने प्रयास भएको भन्दै स्थानीय सरकारलाई स्थानीय निकाय जसरी व्यवहार गर्न नहुने बताए । बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले स्थानीय सरकारका साझा मुद्दालाई एकीकृत रुपमा समाधान गर्नका लागि साझा समस्या भएका स्थानीय सरकार एकै ठाउँमा उभिएको बताए ।

कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, नेपाल पत्रकार महासङ्घ लुम्बिनीका महासचिव विक्रम खड्कालगायतले आफ्नो धारणा राखेका थिए ।

 

  • २२ माघ २०७९, आईतवार प्रकाशित

  • Nabintech