बाँके\बाँकेमा पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सभापति स्वर्गीय सुशील कोइरालाको ७ औँ स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस बाँकेले बिहीबार नेपालगञ्जमा बृहत् रक्तदान कार्यक्रम गरेको छ ।
नेपालगञ्जमा केही समय यता गम्भीर प्रकारका बिरामीका लागि रगतको अभाव देखिएकाले सो अभाव पूरा गर्ने उद्देश्यले संविधानका पिता स्वर्गीय कोइरालाको स्मृतिमा रक्तदान कार्यक्रम राखिएको कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले बताएका छन।
उनले प्रजातन्त्रको संरक्षण र गणतन्त्रको स्थापनामा अहम् भूमिका खेल्नु भएका स्वर्गीय कोइरालालाई स्मरण गर्दै रक्तदानलगायत उहाँले गर्नुभएका महत्त्वपूर्ण कामको पनि चर्चा परिचर्चा गरिएको बताए ।
रक्तदान कार्यक्रमको शुभारम्भमा बोल्दै पूर्वमन्त्री तथा कांग्रेस नेता गजेन्द्र हमालले स्वर्गीय कोइरालाको जनता र प्रजातन्त्रप्रतिको अटुट समर्पण तथा सादगी जीवनशैली सबैको लागि प्रेरणादायी रहेको बताए ।
स्वर्गीय कोइरालाले मुलुकको राजनीतिक परिवर्तनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गराउँदै पूर्वमन्त्री हमालले संविधान जारी गर्न लिएको चट्टानी अडान सधैँ नेपालीले सम्झिरहने उल्लेख गरेका छन।
कांग्रेस बाँकेका सभापति गौडेलको सभापतित्वमा भएको कार्यक्रममा प्रदेशसभाका सांसद बादशाह कुर्मी, बाँके कांग्रेसका पूर्व सभापतिहरू किरण कोइराला र सनत रेग्मीलगायतले स्वर्गीय कोइरालाको योगदानबारे चर्चा गरिएको थियो। कार्यक्रममा ६५ जनाले रक्तदान गर्नुभएको रक्त सञ्चार केन्द्र नेपालगञ्जले जनाएको छ ।