११ असार २०८२, बुधबार

बाँके विमानस्थलमा कन्भेयर बेल्ट प्रणाली सुरु
  • न्युज मानसराेवर

बाँके\देशकै सर्वाधिक व्यस्त विमानस्थलमध्ये अग्र स्थानमा रहेको नेपालगञ्ज विमानस्थलको आगमन कक्षमा शुक्रबारदेखि अत्याधुनिक ‘ब्यागेज हैन्डलिङ सिस्टम’अन्तर्गत ‘कन्भेयर बेल्ट’ प्रणाली सञ्चालनमा ल्याइएको छ ।

दुई करोड बढीको लागतमा विमानस्थलको आगमन कक्षमा जडान गरिएको यो प्रणालीको नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक हंशराज पाण्डेले शुक्रबार एक समारोहका बीच उद्घाटन गरे।

सो अवसरमा बोल्दै उपमहानिर्देशक पाण्डेले विमानस्थलको सेवासुविधा वृद्धि गरेर यात्रुलाई बढीभन्दा बढी सहज सेवा प्रदान गर्ने उद्देश्यले नेपालगञ्ज विमानस्थलमा यो प्रणाली सञ्चालनमा ल्याइएकोबताए । उनले अब विभिन्न ठाउँबाट नेपालगञ्ज पुगेका यात्रुको सामानलाई छिटो र छरितो तरिकाले उपलब्ध गराउन सकिएको बताए ।

यसअघि आगमन कक्षमा आएको यात्रुको सामानलाई कर्मचारीले हातले वितरण गर्दा निकै समय लाग्ने र झन्झटिलो समेत रहेको नागरिक उड्डयन कार्यालय नेपालगञ्जका प्रमुख सुरेश खनालले बताएका छन।

उनले अब यात्रु र एयरलाइन्स दुवैलाई सामान लिन दिन सहज भएको बताए । नेपालका विभिन्न आन्तरिक विमानस्थलमा यात्रुको सेवासुविधा अभिवृद्धि गर्ने योजनाअनुरूप पहिलो चरणमा नेपालगञ्ज, विराटनगर र धनगढीमा ब्यागेज हैन्डलिङ सिस्टमअन्तर्गत कन्भेयर बेल्ट प्रणाली सञ्चालनमा ल्याइएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

नेपालगञ्ज विमानस्थलको आगमन कक्षमा जडान गरिएको कन्भेयर बेल्टको लम्बाइ ४०।६ मिटर र लगेज हैन्डलिङ क्षमता प्रतिघण्टा दुई हजार ४०० देखि तीन हजारसम्म रहेको छ ।

  • २८ माघ २०७९, शनिबार प्रकाशित

  • Nabintech