१२ असार २०८२, बिहीबार

अभियन्ता खानसहित तीन जनालाई मार्न सांसद कुर्मीले सुपारी दिएको आरोप
  • न्युज मानसराेवर

बाँके\अभियन्ता रुबी खानले आफूलाई मार्न सांसद बादशाह कुर्मीले भारतीय सुटर खटाएको बताएकी छन्।

भारतको उत्तर प्रदेशका सार्प सुटरलाई रुबीसहित ३ आन्दोलनकारीलाई मार्नका लागि ५-५ लाख रुपैयाँको सुपारी सांसद कुर्मीले दिएको सूचना आफूले पाएको उनले बताइन्। उनका अनुसार अभियन्ता खानसहित छानबिन समिति आन्दोलनकर्मीका सदस्य मोहम्मदशेर बादशाह, निर्मला कुर्मीको न्यायका लागि उजुरी दिएकी मनकुमारी गुर्माललाई मार्न सुपारी दिइएको हो। “यसअघि पनि मार्ने धम्की आइरहेकै हुन्, नेपालगञ्जमा सांसद पद गए मार्ने भन्दै स्थानीयलाई धम्की सांसद कुर्मीले दिँदै आएका छन्,” खानले बताइन्।

रुबीसहित अभियन्ताहरू २०७५ देखि बाँकेकी निर्मला कुर्मी र नकुन्नी धोबीको न्यायका लागि आन्दोलनरत छन्। २०७८ असोज १ गते नेपालगञ्जदेखि काठमाडौंसम्म २० दिन लगाएर पैदल यात्रा गरी काठमाडौं आइपुगेका उनीहरूले कुर्मी र धोबीको न्यायका लागि माइतीघरमा धर्ना दिएका थिए। सरकारले आश्वासन दियो, तर सहमतिअनुसार अनुसन्धान अघि बढेन।

त्यसको दुई महिनापछि पुन: काठमाडौं आई उनीहरूले निरन्तर ४२ दिनसम्म निरन्तर धर्नामा बसेपछि सरकारले छानबिन समिति बनाएको थियो। सांसद कुर्मीको भूमिका शंकास्पद रहेको निष्कर्ष निकाल्दै उक्त समितिले अनुसन्धानका लागि सिफारिस पनि गरेको थियो।

रुबीहरू न्यायका लागि पहिलोपटक काठमाडौं आएको करिब डेढ वर्ष भइसकेको छ, तर प्रहरीले अझै दोषीलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन सकेको छैन। अघिल्लो वर्ष पुसमा दोस्रोपटक काठमाडौं आएका उनीहरूले मंगलबारसम्म ४८ दिन निरन्तर काठमाडौंमा आन्दोलन गरेका थिए।मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालसित उनीहरूको छलफल भएको थियो।

एक साताभित्र सीआईडीको अनुसन्धान टोली नेपालगञ्ज पठाइ अनुसन्धान गर्ने सहमति भएपछि उनीहरूले आन्दोलन स्थगित गरेका छन्। आन्दोलनकर्ताहरू आजै नेपालगञ्ज फर्किँदैछन्।बुधबार नै अभियन्ता खानले प्रधानमन्त्रीलाई आफूलाई सुरक्षा थ्रेट भएको जानकारी गराएकी थिइन्। प्रधानमन्त्रीले गृह मन्त्रालयलाई सुरक्षाका लागि निर्देशन दिएको जानकारी उनले दिएकी छन्।

  • ३ फाल्गुन २०७९, बुधबार प्रकाशित

  • Nabintech