बाँके\देशको सङ्घीय राजधानी काठमाडौं बाहिर पहिलो पटक नेपालगञ्जस्थित वेष्टर्न अस्पतालमा अत्याधुनिक सुविधासहितको लेभल ३ आइसियु सेवा सुरु भएको छ । सो सेवा काठमाडौंका तीन वटा मात्र निजी अस्पतालमा रहेको जनाउँदै काठमाडौं बाहिर नेपालगञ्जमा पहिलो पटक सञ्चालनमा ल्याइएको वेष्टर्न अस्पतालका प्रबन्ध निर्देशक डा. राहुल थापाले बताए ।
सिकिस्त बिरामीको उपचार सेवालाई अधिकतम प्रभावकारी बनाउने उद्देश्यले ८ बेडको लेभल ३ आइसियु सेवा सुरु गरिएकोबताए ।
‘अबदेखि कुनै पनि अति गम्भीर बिरामीले उपचारका लागि काठमाडौं वा भारतको लखनउ जानु पर्ने छैन । ती ठाउँमा पाइने उपचार सेवा हामीले नेपालगञ्जमै दिंदैछौं’ डा. थापाले भनेका छन।
अस्पतालका प्रबन्ध निर्देशक डा. थापाका अनुसार यस्तो सुविधा भएको आइसियु सञ्चालन गर्ने वेष्टर्न अस्पताल काठमाडौं उपत्यका बाहिर पहिलो निजी अस्पताल मानिएको छ । सो सेवा अन्तर्गत आइसियुमा भर्ना हुने हरेक बिरामीका लागि एक–एक जना तालिम प्राप्त डेडिकेटेड नर्सका साथै चौबिसै घण्टा क्रिटिकल केयर कन्सल्टेन्ट चिकित्सक पनि डिउटीमा रहने व्यवस्था मिलाइएको छ ।
सोही प्रकारले आइसियुमा भर्ना हुने बिरामीको स्वास्थ्य सूचकहरूको बारेमा जानकारी दिनका लागि विश्व स्वास्थ्य सङ्गठनको प्रोटोकलअनुसार हेल्थ इन्डिकेटर इन्फरमेसन सिस्टम मिलाइएको आइसियु युनिटका प्रमुख डा. पारस पाण्डेले बताए ।
उपचार सेवालाई थप प्रभावकारी बनाउन सो अस्पतालले काठमाडौंको टिचिङ, ह्याम्स र ग्रान्डीजस्ता सुविधा सम्पन्न अस्पतालको आइसियु विभागमा लामो समय काम गरेका चिकित्सक र नर्ससँग सहकार्य गर्दैआएको अस्पतालले जनाएको छ ।
यसैगरी वेष्टर्न अस्पतालले ८ बेडको लेभल ३ आइसियु सेवासँगै ६ बेडको एचडियू सेवा पनि सुरु गरेको छ । आइसियुबाट स्वास्थ्य उपचार गराएर बिरामीलाई एचडीयुमा राख्नका लागि सो सेवा पनि सुरु गरिएको अस्पतालका प्रबन्ध निर्देशक डा. थापाले बताए । लेभल ३ को आइसियुमै डायलिसिस सेवा पनि रहेको बताए ।
अस्पतालमा ६ वटा भेन्टिलेटरसहित अत्याधुनिक उपकरण रहेका छन् । केही दिनमै ६ बेडको एनआइसियु सेवा पनि सञ्चालन गरिने जनाइएको छ । आइसियुलगायतका सुविधा थप गर्न करिब ५ करोडको लगानी गरिएको अस्पताल व्यवस्थापनले जनाएको छ ।
१०० बेडको सो अस्पतालले अर्थोपेडिक, ट्रमा, जनरल सर्जरी, प्रसूति तथा स्त्रीरोग, नाक कान घाँटी, जनरल मेडिसिन, म्याक्जिलो फेसियल सर्जरी र युरिलोजीसम्बन्धी सेवा प्रदान गर्दैआएको छ । अस्पतालले निकट भविष्यमै बाल रोग, मानसिक रोग, न्यूरो सर्जरीका साथै डाइलासिस सेवा सञ्चालनको तयारी गरिरहेको छ ।











