६ जेष्ठ २०८१, आईतवार

लुम्बिनीको भेटीमा १ सय वटा देशका मुद्रा : सटही भएन करोडौं रुपैयाँ
  • न्युज मानसराेवर

बुटवल\बुद्ध जन्मस्थल लुम्बिनीमा विश्वभरबाट पर्यटक आउँछन् र आफ्नो गच्छेअनुसार दानभेटी चढाउँछन् । तर, अहिलेसम्म कति देशका नागरिक लुम्बिनी आए ? ठ्याक्कै रेकर्ड कतै भेटिँदैन । तर, लुम्बिनीको दानपेटिकामा एकसय देशका मुद्रा भेटिएका छन् ।

लुम्बिनीमा चढाइएको विदेशी मुद्रा सात वर्षदेखि सटही हुन नसकेको खबर सञ्चारमाध्यममा आएको थियो । दानपेटिकामा चढाएको १ करोड १७ लाख ९५ हजार ९६६ नेपाली रुपैयाँ बराबरको मुद्रा सटही हुन सकेको छैन । यसरी थन्किएका विदेशी मुद्रा सटहीको विकल्प खोज्ने क्रममा विश्वका १ सय देशका मुद्रा भेटिएका हुन् ।

नेपालका विश्वका सबै देशको मुद्रा साटिँदैन । लामो समय थन्किएका मुद्रा साट्न नेपाल राष्ट्र बैंकले प्रक्रिया अगाडि बढाउन सहमति जनाएको छ । राष्ट्र बैंकको सहमतिपछि लुम्बिनी विकास कोषले कुन देशका कति मुद्रा छन् भनेर छुट्टाउने क्रममा १ सय देशका मुद्रा संकलन भएको भेटिएको हो ।

यसअघि राष्ट्र बैंकले जारी गर्ने परिवर्तित मुद्राको सूचीमा नपरेका ३९ मुलुकका मुद्रा रहेको कोषले बताएको थियो । कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले दानपेटिकामा १ सय देशका मुद्रा भेटिएको जानकारी दिए ।

कोषले यीमध्ये नसाटिने मुलुकका मुद्राको अभिलेख र संरक्षण गर्न खोजेको उनको भनाइ छ । कोषमा यति धेरै देशका मुद्रा हुने र नसाटिने तथा सरकारी निकाय निर्णयहीन हुँदा मुद्रा सुरक्षित नहुने कोषाध्यक्ष भट्टराई बताउँछन् ।

उनले लुम्बिनी वा बृहतर लुम्बिनी परिसरमा एउटा मुद्रा संग्रहालय बनाउन प्रस्ताव गर्न लागिएको बताए । ‘संग्रहालयमा देशको मुद्रा र उक्त मुलुकको पहिचान र गौरवबारे १०० शब्दको परिचय राखेर व्यवस्थापन गर्न सके पर्यटकहरू भित्र्याउन सकिन्छ’, उनले भने, ‘कुनै एउटा नगरपालिकाले यो प्रस्ताव ल्याए कसो होला ?’

इतिहासबारे अनुसन्धान गरिरहेका लेखक तथा अध्यापक युवराज कँडेलले यति धेरै देशका पर्यटकले चढाएको मुद्रालाई विकास कोष र सरकारले प्रचार गरेर लुम्बिनीमा पर्यटनको थप विकास गर्न सकिने बताए ।

‘लुम्बिनी परिसरभित्रै संग्रहालय बनाएर ती मुद्रा राख्नुपर्छ । यसो गर्दा ती देशका नागरिकमा अपनत्व हुन्छ’, उनले भने, ‘यसका साथै बुद्धकालीन मुद्रासमेत राख्न सकिए विश्वका धेरै नागरिकको अध्ययनको विषय बन्नसक्छ ।’

संस्कृतिविद् डा. गितु गिरीले विश्वका धेरै देशहरुबाट लुम्बिनीमा पर्यटक आउने भनिए पनि १ सय देशका मुद्रा नै भेटिनु ठूलो प्रमाण भएको बताए । ‘यो पहिलो पटक भेटिएको बलियो प्रमाण हो, अब यसलाई संग्रहालयमा राखेर विश्वव्यापी ब्राण्डिङ गरिनुपर्छ’, उनले भने, ‘कोषमै आधुनिक मुद्रा संग्रहालय बनाएर राखेपछि विश्वमै यसको अध्ययन गर्ने स्थान हुन्छ ।’

राष्ट्र बैंकले मुद्रा सटहीका लागि सैद्धान्तिक सहमति दिए पनि अहिलेसम्म त्यो प्रक्रिया अघि बढेको छैन । विकास कोषका कोषाध्यक्ष भट्टराईले राष्ट्र बैंकको सिद्धार्थनगर कार्यालय र कोषबीच मुद्रा सटही गर्ने सैद्धान्तिक सहमति भए पनि कार्यान्वयन नभएको गुनासो गरे ।

‘राष्ट्र बैंकसँग सहमति भएपछि लामो समयदेखि थन्किएका विदेशी मुद्रा गनेर लगत तयार गरेका छौं’, उनले भने ।

राष्ट्र बैंक सिद्धार्थनगरका अनुसार आफूकहाँ बुझाइएपछि विदेशी मुद्रा केन्द्रीय कार्यालय काठमाडौंमा पठाइनेछ । केन्द्रीय कार्यालयले आफ्नो एजेन्सी बैंक सिंगापुरमा पठाउनेछ । त्यसपछि सटही भएर राष्ट्र बैंकमा आउने र कोषको खातामा जम्मा हुनेछ । राष्ट्र बैंक सिद्धार्थनगरका उपनिर्देशक जीवनप्रकाश पाण्डेका अनुसार यो प्रक्रिया पूरा गरी मुद्रा सटही भएर नेपालमा आउन ४-५ महिना लाग्छ ।

कोषले यसअघि लुम्बिनीमा ८४ भन्दा बढी मुलुकका पर्यटक आउने र उनीहरूले मायादेवी मन्दिर तथा अशोक स्तम्भमा राखिएका दानपेटिकामा भेटीस्वरूप आफ्नै देशको मुद्रा चढाउने गरेको जनाएको थियो । यसरी चढाइएका ३९ वटा मुलुकका मुद्रा पछिल्लो सात वर्षदेखि सटही हुन सकेको थिएन । अब ती देशको संख्या थपिएको छ ।

कोषले मायादेवी मन्दिरभित्र र अशोक स्तम्भ परिसरमा राखिएका दानपेटिकाबाट वर्षेनी झण्डै चार करोड रुपैयाँ भेटीवापतको आम्दानी गर्छ । सोही आम्दानीबाट कर्मचारीको तलब भत्ता र अन्य व्यवस्थापनको काम गर्दै आएको छ । कोषले हरेक तीन महिनामा दानपेटिका खोलेर भेटी गणना गर्दै आएको छ ।

कोषको आन्तरिक आम्दानीको मुख्य स्रोत रहेको दानवापतको भेटी सटही नहुँदा मुद्रा मक्किने र च्यातिने जोखिम थियो । सटही नभएर राखिएका मुद्रामध्ये सबैभन्दा धेरै म्यानमारको ‘क्याट’ रहेको छ । ११ करोड ८० लाख ७९ हजार २५० क्याट रहेको कोषले जनाएको छ ।

त्यस्तै ओमनको ५ हजार ३३९ रियल, २२ लाख ७७ हजार २३० श्रीलंकन रुपैयाँ सटही हुन सकेको छैन । त्यस्तै पेरुको ६ लाख ५१ हजार ८३, भियतनामको ४ लाख ९८ हजार ३९८, इण्डोनेसियाको २ लाख ७० हजार ७४५, कम्बोडियाको १ लाख ९८ हजार ७०९, भुटानको १ लाख १ हजार ४९२ नेपाली रुपैयाँ बराबरको मुद्रा सटही भएको छैन ।

मंगोलिया, बंगलादेश, लाओस, पाकिस्तान, मेक्सिको, अर्जेन्टिना, फिलिपिन्स, अफगानिस्तान, मकाउ, इरान, मोरिसस, युगान्डा, इराक, माल्दिभ्स, चिली, स्वीडेन, रसिया, टर्की, ग्वाटेमाला, पोल्याण्ड, युक्रेन, ताइवान, जोर्डन, लेबनान, ब्राजिल, इजिप्ट, ब्रुनाई, सियरा लिओन, नोर्गिज क्रोनरलगायत देशका मुद्रा सटही हुन सकेका छैनन् ।

  • २३ फाल्गुन २०७९, मंगलवार प्रकाशित

  • Nabintech