६ बैशाख २०८१, बिहीबार

व्यापार घटेपछि व्यवसायी पलायन
  • न्युज मानसराेवर

बुटवल\बुटवलबाट विगत छ महिनायता सानाठूला गरी एक हजार व्यवसायी पलायन भएका छन् । बुटवल उद्योग वाणिज्य सङ्घले विगत छ महिनामा २५ हजार व्यवसायी बुटवलबाट पलायन भएका र तिनमा सानाठूला गरी करिब एक हजार व्यवसायीसमेत रहेका जानकारी दिएको हो ।

लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवलबाट स्थायी राजधानी दाङ सर्नु, विश्व आर्थिक मन्दी र बुटवलको मुख्य बजार क्षेत्रको सडक वर्षौंदेखि मर्मत नहुनुलगायतका कारण बुटवल बजार सुक्दै गएको निष्कर्ष निकालिएको छ । बुटवल उद्योग वाणिज्य सङ्घले मङ्गलबार बुटवलमा सङ्घका पदाधिकारी, पूर्वपदाधिकारी, परामर्श समितिका सल्लाहकार र सल्लाहकारसँग आयोजना गरेको बुटवल बजार कसरी चलायमान बनाउने ?

विषयक छलफल कार्यक्रममा उद्योगी व्यवसायीले बैङ्कको ब्याजदर वृद्धि, घरबहाल अत्यधिक महँगो, बुटवलको मुख्य बजार क्षेत्र अमरपथ, हाटबजार र ट्राफिक चोक क्षेत्रमा सवारी पार्किङको अभावलगायतका समस्याका कारण बुटवलबाट एक हजार व्यवसायी पलायन भएको अनुमान गरेका हुन् ।

बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष उज्ज्वल कसजूले बुटवलबाट ठूलो सङ्ख्यामा व्यवसायी नै विस्थापित भइरहेको अवस्थामा बुटवलको बजारको चहलपहल कसरी बढाउने भन्ने विषयमा छलफल आयोजना गरिएको बताए ।

त्यसैगरी बुटवल उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष नवराज श्रेष्ठले बुटवलको मुख्य बजार क्षेत्रको सडकको अवस्था लामो समयदेखि मर्मतसम्भार नहुनु, बजार क्षेत्रमा सवारी पार्किङको समस्या, बैङ्क ब्याजदर वृद्धिलगायतका कारण व्यवसायी विस्थापनको अवस्थामा पुगेको बताए । बुटवलको बजारमा चहलपहल बढाउन रात्रिकालीन बजारलाई व्यवस्थित गर्नुपर्ने, व्यावसायिक सटर भाडामा कमी गर्नुपर्ने सङ्घका पूर्वअध्यक्ष निर्मल कसजूले सुझाव दिए।

सङ्घका पूर्वअध्यक्ष खिमबहादुर हमाल र सुरेन्द्र श्रेष्ठले बुटवलमा बन्दै गरेका दुईवटा केबुलकार सञ्चालनमा आएपछि बुटवलको बजारमा चहलपहल बढ्ने आशा  गरेको बताए । यसैबीच सङ्घका वाणिज्य उपाध्यक्ष नरिश्वर पौडेलको संयोजकत्वमा बुटवलका व्यावसायिक सटर भाडा समायोजन गर्न एक समिति गठन गरिएको छ ।

  • २ चैत्र २०७९, बिहीबार प्रकाशित

  • Nabintech