१३ बैशाख २०८१, बिहीबार

सुरक्षित कोहलपुर अभियान संचालन गर्दै प्रहरी
  • न्युज मानसराेवर

कोहलपुर \ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरिक्षक सुन्दर तिवारीले कोहलपुर क्षेत्रको शान्ती सुरक्षा कायम राख्न आफु प्रतिवद्ध रहेको बताएका छन् । हालै मात्र कोहलपुर प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका डिएस्पी तिवारीले बिहिबार सञ्चारकर्मीहरुसँगको खुल्ला अन्तरक्रिया कार्यक्रममा आफ्नो वार्षिक कार्ययोजना सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।

कोहलपुर आउनु पूर्व नै आफुले कोहलपुरको समग्र वस्तुस्थितीका बारेमा अध्ययन गरेर वार्षिक कार्ययोजना तयार पारेको बताउँदै तिवारीले कार्यान्वयनका लागि सबै पक्षबाट सहयोग प्राप्त हुनेमा  विश्वास व्यक्त गरे।  अपराधिक गतिविधिका हिसावले ट्रान्जिट प्वाईन्टका रुपमा रहेको कोहलपुरमा शान्ति सुरक्षा कायम राख्नु चुनौतीको विषय भएपनि नयाँ ढंगबाट अप्रेशन सञ्चालन गर्ने योजनामा रहेको उनको भनाई थियो ।

कार्यक्षेत्रको जनसँख्याको तुलनामा प्रहरीको सँख्याको निकै न्यून रहेकाले सेवा प्रवाहमा समेत समस्या देखिएको बताउँदै डिएसपी तिवारीले स्थानिय सरकार, निजि क्षेत्र र आम नागरीकसँग सहकार्य गरेर अघि बढ्ने योजना सुनाए । केही महत्वकाक्षीं योजना अघि सारेका डिएसपी तिवारीले पैसा कमाउने उद्देश्यले आफु कोहलपुर नआएको समेत जिकिर गरे ।

“कोहलपुरमा विशेषगरी लागु औषध दुब्र्यसन तथा ओसारपसार, साईबर अपराध, चोरी निकासी, सवारी दुर्घटना, आत्महत्या र महिला तथा बालबालिका विरुद्धका अपराधका घटना मुख्य समस्याका रुपमा रहेका छन” डिएस्पी तिवारीले भने, “यस्ता समस्या समाधान तथा न्यूनिकरणकालागि सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सचेतनाका कार्यक्रमहरु सञ्चालनमा ल्याउँछौं ।”

कोहलपुरमा लागुऔषध दुब्र्यसनिको मात्र डरलाग्दो अवस्थामा रहेको बताउँदै तिवारीले पछिल्लो १ महिनामा मात्र १५७।४३ ग्राम लागुऔषध बरामद गरिएको जानकारी दिए । आफु कोहलपुर आएलगत्तै लागुऔषध प्रयोग तथा ओसारपसार नियन्त्रणकालागि ब्यापक जनशक्ति परीचालन गरी प्रमुख नाकामा चेकजाँचलाई कडाई पारीएको जिकिर गरे ।

जसको फलस्वरुप अघिल्ला ७ महिना भरी बरामद गरीएको लागुऔषधको तुलनामा पछिल्लो एक (फागुन) महिनाभित्रै धेरै लागुऔषध बरामद गर्न सफल भएको बताए ।सवारी दुर्घटना, महिला माथि हुने दुब्र्यबहार तथा आत्महत्या, प्राकृतिक स्रोत साधनको दोहोन, चोरी लुटपाट, यौनजन्य गतिविधि जस्ता जघन्य अपराध नियन्त्रणका लागि कार्ययोजना बनाएरै अघि बढ्ने घोषणा गरेका डिएस्पी तिवारीले आफु मातहतका कर्मचारीहरुबाट हुने कार्यसम्पादनको मुल्याङ्कन गरेर पुरस्कार तथा दण्डको ब्यवस्था समेत गरीने बताए ।

उनले आफुबाट समेत केही कमजोरी भए तत्काल कारबाही गर्न आफु मातहतका कर्मचारीलाई निर्देशन दिएको समेत जिकिर गरे ।बिभिन्न समस्या लिएर प्रहरी समक्ष आउने सेवाग्राहीलाई सहज र निशुल्क सेवा प्रवाहकालागि कार्यालय परिसर भित्रै उजुरी तथा निवेदन लेखनकालागि हेल्प डेस्क समेत स्थापना गरीएको डिएसपी तिवारीले जानकारी दिए ।

  • २ चैत्र २०७९, बिहीबार प्रकाशित

  • Nabintech