१२ बैशाख २०८१, बुधबार

अवैध रुपमा ल्याइएका कुखुरा बाँकेमा बरामद
  • न्युज मानसराेवर

बाँके\भारतबाट कुखुराको अवैध आयात नरोएिको भन्दै बाँकेका कुखुरा व्यवसायी र किसानहरुले सडकमा कुखुरा फालेर आन्दोलन गरेलगत्तै प्रहरीले कुखुराको अवैध तस्करी रोक्न कडाई गरेको छ । कुखुराको अवैध आयातमा प्रहरीको समेत मिलेमतो रहेको आरोप लागेपछि प्रहरीले विभिन्न नाकाहरुमा कडाई गर्दा ठुलो परिमाणमा अवैध कुखुरा बरामद हुन थालेका छन् ।

सो क्रममा भारतबाट अवैध तरिकाले भित्र्याएर नेपालगञ्ज १० शितल नगरमा लुकाई राखेको एक लाख ५० हजारभन्दा बढी मूल्यको २१९ वटा कुखुरालाई बाँके प्रहरीले बरामद गरेको छ ।  बाँकेका कुखुरापालक किसान र व्यवसायीको चर्को विरोध गरेलगत्तै प्रहरीले शुरु गरेको सर्च अप्रेसनको क्रममा ती कुखुरा बरामद गरिएको बाँकेका प्रहरी प्रमुख एसपी सन्तोषसिंह राठौरले बताए ।

सर्च अप्रेसन निरन्तर जारी रहेकाले अझै धेरै परिमाणमा त्यस्ता कुखुरा नियन्त्रणमा लिइने दावी गरे । बरामद गरिएका कुखुरालाई पशु क्वारेन्टाइनको जिम्मामा लगाइएको र सो कार्यालयले ती सबै कुखुरा नष्ट गरेको जानकारी आएको बताए ।

कुखुरा तस्करी हुने विभिन्न नाकाको बारेमा स्थानीय व्यवसायी र किसानले जानकारी गराएको हुँदा ती सबै नाकामा प्रहरीलाई विशेष रुपमा खटाइएको पनि एसपी राठौरले जानकारी गराए । नेपालगञ्जमा प्रतिबन्धित कुखुरा विक्री गर्ने पसललाई पनि कारवाही गर्न थालिएको जनाउँदै सो क्रममा गणेशमान चोकस्थित नेपाल फ्रेस हाउसलाई कारवाही गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

हरेक मासु व्यवसायीको पसलबाट बिल मागिने जनाउँदै बिल दिन नसक्नेलाई कारवाही गरिने बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्माले बताए । भारतबाट अबैधरुपमा भित्रिने कुखुराका कारण नेपाली कुखुराले बजार नपाउँदा करोडौं लगानी जोखिममा पर्नुका साथै व्यवसाय पनि धरासायी भएको स्थानीय व्यवसायी र किसानको गुनासो छ ।

सो समस्याबारे जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयलाई पटकपटक ध्यानाकर्षण गराउंदा पनि सुनुवाइ नभएको कुखुरा व्यवसायी संघ बाँकेका कार्यवाहक अध्यक्ष ईश्वर सुवेदीले बताएका छन।

  • ३ चैत्र २०७९, शुक्रबार प्रकाशित

  • Nabintech