बाँके\नेकपा (एमाले) बाँकेको आयोजनामा नेपालगञ्ज उप–महानगरपालिका वडा २३ मा शनिबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।एमालेले देशव्यापी रूपमा सञ्चालन गरिरहेको मिसन ग्रासरुट अभियान अन्तर्गत नेपालगञ्जको विकट वडाको रूपमा रहेको सो वडामा छाला रोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी गराएका छन।
“ग्रासरुट अभियानमा टोलटोलमा पुग्दा धेरैमा छाला रोगको समस्या देखियो” एमाले बाँकेका अध्यक्ष कक्षपतिले भनेका छन।’ “राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घसहित चिकित्सक र स्वास्थ्यकर्मीको समन्वय र सहयोगमा पार्टीले शिविर सञ्चालन गरेको छ ।”
नेपालगञ्जको वडा २१ र २३ तथा डुडुवा गाउँपालिकाका केही वडालाई लक्षितगरी शिविर सञ्चालन गरिएको एमाले बाँकेले जनाएको छ । नेपालगञ्ज उपमहानगरपालिका भित्रकै वडा भए पनि यी वडामा स्वास्थ्य र शिक्षाको पहुँच कमजोर रहेको छ ।
स्वास्थ्य शिविरमा आएका स्थानीय बासिन्दालाई स्वास्थ्य परीक्षणसहित आवश्यक औषधि समेत उपलब्ध गराइएको एमाले बाँकेले जनाएको छ । गाउँटोलमै चिकित्सकसहितको टोलीले निःशुल्क स्वास्थ्य परीक्षण गरेपछि स्थानीय बासिन्दाले सहजता भएको बताएका छन् ।
भेरी अस्पताल नेपालगञ्जका छाला रोग विशेषज्ञ डा. अनिषा उप्रेती नेतृत्वको टोलीले गरेको स्वास्थ्य परीक्षणमा अधिकांशमा लुतो, चिलाउने, दाद, खुट्टा फाटेकाजस्ता समस्या देखिएका थिए । शिविरमा १८० जनाको स्वास्थ्य परीक्षण भएको छ ।