४ बैशाख २०८१, मंगलवार

तीनवटै निर्वाचन क्षेत्रमा आज उपनिर्वाचन हुँदै
  • न्युज मानसराेवर

डेक्स\चितवन क्षेत्र नं २, तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ मा आज आइतबार उपनिर्वाचन हुँदै छ । राष्ट्रिय स्तरमा चर्चित नेताहरू चुनावी मैदानमा रहेकोले यो उपनिर्वाचनमा सबैको ध्यान तानेको छ । निर्वाचन आयोगले उपनिर्वाचनको लागि व्यवस्थापन, सुरक्षा प्रबन्ध, जनशक्ति व्यवस्थापन लगायत सबै तयारी शनिबार नै पूरा भइसकेको जनाएका छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनको सुरक्षा व्यवस्थापनको लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी परिचालन गरिसकेको जानकारी गराएका छन।

आयोगका अनुसार सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरीको सुरक्षाकर्मी रहने प्रबन्ध गरिएको छ । उम्मेदवार, निर्वाचन कार्यालय, मतपेटीका र मतदान स्थालको सुरक्षामा भने सशस्त्र प्रहरीको टोली खटाइएका छन् । नेपाली सेनाका सुरक्षाकर्मीलाई भने मतपत्र ढुवानी तथा सुरक्षाको जिम्मा दिइएको छ । मतदानको लागि आवश्यक मतपत्र, मतपेटिका, छाप, मसीलगायतका सामग्री करिब एक साताअघि नै सम्बन्धित निर्वाचन क्षेत्रमा पु¥याइएको थियो ।

आयोगले तीनवटै निर्वाचन क्षेत्रमा साढे तीन लाख मतदाता रहेकोमा ६५ देखि ७० प्रतिशतसम्म मतदान हुने अपेक्षा गरेको छ । आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीका अनुसार मंसिरको आम चुनावको तुलनामा बारा र चितवनमा मतदाताको संख्यामा थोरै वृद्धि भएको छ । आयोगका अनुसार चितवन क्षेत्र नं २ मा ४ सय ८० जना मतदाता थपिएका छन् र कुल मतदाता संख्या १ लाख २४ हजार ६ सय ९५ पुगेको छ । बारा क्षेत्र नं २ मा मतदाता संख्या २ सय ३७ ले बढेर १ लाख ५ हजार २ सय ४८ पुगेको छ। तनहुँ क्षेत्र नं १ मा भने मतदाता संख्या १ सय ३५ ले घटेको छ र त्यहाँ १ लाख २३ हजार ३ सय ५ मतदाता संख्या कायम भएको छ । उपनिर्वाचनका लागि १ सय ९४ मतदान स्थल र ४ सय २७ मतदान केन्द्र स्थापना गरिएको छ ।

आयोगले मतदान गर्ने कार्यमा कानुन र निर्देंशिकाको पूर्ण पालनासहित सहज, स्वच्छ, भयमुक्त वातावरणमा सम्पन्न गराउन राजनीतिक दल, उम्मेदवार, उम्मेदवारका प्रतिनिधि र सम्बद्ध सबैमा आह्वान गरेको आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेले उल्लेख गरेका छन।

आयोगले मतदान केन्द्रमा मतदान गर्न जाँदा प्रज्ज्वलनशील ठोस वा तरल पदार्थ, मोबाइल, क्यामरा वा यस्तै प्रकृतिका सामानहरू साथमा लिएर जान रोक लगाएको छ । त्यसै गरी कुनै नशालु पदार्थ वा मादक पदार्थ सेवन गरी मतदान केन्द्रमा प्रवेश गर्न निधेष गरेकोे छ ।

अशक्त, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, सुत्केरी वा गर्भवती वा आफ्नो काखे बच्चा साथमा भएकी महिला, किरियापुत्री आदि जस्ता मतदातालाई मतदान गर्ने कार्यमा प्राथमिकता दिई सहजरूपमा मतदान गर्ने व्यवस्था मिलाउन पनि आयोगले भनेको छ ।

मतदान अधिकृतले दृष्टिविहीन वा शारीरिकरूपले पूर्ण अशक्त वा अति अशक्त अपाङ्गताको प्रमाणपत्र भएको वा कुनै दुर्घटनामा परी वा अन्य कारणले आफैं मतदान कक्षमा गई एक्लै मतदान गर्न असमर्थ व्यक्ति हो होइन यकिन गरी मतदानको व्यवस्था मिलाउन पनि आग्रह गरेको छ । आयोगका अनुुसार आफंै मत संकेत गर्न नसक्ने मतदाताका हकमा एकाघरको परिवारको सदस्यलाई मतदान कक्षमा जान अनुमति दिनुपर्ने छ, त्यसपछि मतदान अधिकृतको रोहबरमा सम्बन्धित मतदाताले भनेबमोजिमको निर्वाचन चिह्नमा मत संकेत गर्ने उपयुक्त व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।

कुनै मतदाताले मतपत्रको दुरुपयोग गरेमा, गैरकानुनी तवरले मतपत्र दिने वा लिने कार्य गरेमा, मतदानको अधिकार बिना वा पटक पटक मतदान गर्न आएमा, मतदान गर्न बाधा हुने कुनै कार्य गरेमा नियन्त्रणमा लिएर कारवाही गर्न पनि सुरक्षा बललाई आग्रह गरिएको छ ।

आयोगले मतदान शुरू भएको र प्रत्येक दुई घण्टामा मतदाताको कुल संख्या, खसेको मत, तथा मतदानसम्बन्धी अन्य विवरण छिटो माध्यमबाट निर्वाचन अधिकृत तथा आयोगलाई जानकारी गराउने पनि मतदान अधिकृतहरूलाई आग्रह गरेको छ ।

प्रमु्ख राजनीतिक दलहरुको लागि प्रतिष्ठाको लडाईं बनेको उपनिर्वाचनमा तीनवटै निर्वाचन क्षेत्रमा गरी ६९ जना प्रतिस्पर्धामा उत्रिएका छन् । आयोगका अनुसार चितवन क्षेत्र नं २ मा २२, बारा क्षेत्र नं २ मा ३४ र तनहुँ क्षेत्र नं १ मा ९ उम्मेदवार चुनावी मैदानमा छन् । उपनिर्वाचनले राष्ट्रिय राजनीतिको अंक गणितमा तात्विक फेरबदल नगर्ने स्थिति हुँदाहुँदै पनि उम्मेदवारहरूको व्यक्तित्वले गर्दा उपनिर्वाचनले राष्ट्रिय रूपमा तरङ्ग उत्पन्न गरेको हो ।

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा विजयी भई उपप्रधानमन्त्रीसहित गृहमन्त्री बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले सांसद् पद खारेज भएपछि चितवन क्षेत्र नं २ बाट पुनः उम्मेदवारी दिनुभएको छ । रामचन्द्र पौडेल राष्ट्रपति भएपछि खाली तनहुँ क्षेत्रमा नं १ हालै नेपाली कांग्रेस परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेशका अर्थविद् स्वर्णिम वाग्लेले उम्मेदवार दिएपछि सो क्षेत्र पनि चर्चाको केन्द्रबिन्दुमा रहेको छ । एमालेको तर्फबाट पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको उम्मेदवारी पनि उत्तिकै चर्चामा रहेको छ ।

रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि रिक्त रहेको बारा क्षेत्र नं २ मा जनता समाजवादी पार्टीका अध्यक्ष एवं पटकपटक उपप्रधामन्त्री भएका उपेन्द्र यादवको उम्मेदवारीले थप चाख लाग्दो बनाएको छ । यादवको उम्मेदवारीसँगै मधेसको राजनीतिमा को हाबी हुने भन्ने चर्चा छाएको छ । उपनिर्वाचन हुने सम्बन्धित क्षेत्रमा बाहेक सामाजिक सञ्जालदेखि विभिन्न सार्वजनिक वृत्तमा तीन जनाको चर्चाले चुनावी माहोल बनाउँदै लगेको थियो।

तनहुँ क्षेत्र नं १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा र बारा क्षेत्र नं २ बाट निर्वाचित रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएसँगै वैशाख १० का लागि आयोगले उपनिर्वाचनको मिति घोषणा गरिएको थियो । नागरिकता विवादका कारण सर्वोच्च अदालतले रवि लामिछानेलाई पदमुक्त गरेसँगै चितवन क्षेत्र नं २ मा उपनिर्वाचनको घोषणा गरिएको थियो । आयोगले निर्वाचन आचारसंहिता र निर्वाचनसम्बन्धी कानुनको पालना गर्न विभिन्न निर्देशन दिइसकेको छ ।

  • १० बैशाख २०८०, आईतवार प्रकाशित

  • Nabintech