४ जेष्ठ २०८१, शुक्रबार

विभेदविरुद्ध तीन सञ्चारकर्मी साइकल यात्रामा
  • न्युज मानसराेवर

बाँके\सञ्चारकर्ममा खटिने रीता बुढाथोकी यतिखेर विभेदविरुद्धको महाकाली मेची साइकल यात्रामा छन्। जातीय, लैंगिक एंव सबै प्रकारको विभेद अन्त्यका लागि भन्दै बुढाथोकीसहित इन्दिरा विश्वकर्मा र संगीता नेपाली साइकल यात्रामा निस्केका हुन्।

पश्चिम नेपालको कैलाली महेन्द्रनगर गड्डाचौकीबाट वैशाख ६ गते यात्रामा निस्केको टोली बुधबार बुुटवल आइपुगेको छ। सामाजिक न्याय, समानताका लागि सञ्चारकर्मबाटै खबरदारी गरिरहेका तीन महिला सञ्चारकर्मीले साइकल यात्रामार्फत मुलुकमा विभेद अन्त्य नभएकोमा स्थानीय, प्रदेश र संघीय सरकारलाई पुन: ध्यानाकर्षण गराएका हुन्।

‘विभेदविरुद्ध सञ्चारकर्मीबाट लेखेर, बोलेर काम गर्‍यौँ, तर पनि व्यवहारमा त्यो अन्त्य हुन सकेन’ रेडियो नेपालमा कार्यरत बुढाथोकीले भनिन्, ‘अब सहर, बस्तीका मानिसहरू जाग्नुपर्छ भनेर साइकल यात्रा अभियान सुरु गरिएको हो।’

उनले संविधानले विभेद् अन्त्य गरे पनि व्यवहारमा कायमै रहेकाले सरकार र सचेत मानवलाई झकझक्याउन अभियान गरिएको बताइन्। ५७४ किमि दुरी पुरा गरी बुटवल आइपुगेका साइकल यात्रीले आफूहरूको अभियानले सार्थकता पाएको बताएका छन्।

‘हामी पश्चिम नेपालबाट करिब आधा दुरी पुरा गर्दासम्म जातीय भेदभाव अझै स्वरुप बदलेर समाजमा जीवित रहेको पाइयो, यसको अन्त्य गर्न सरकार कठोर हुनैपर्छ,’ अर्की साइकल यात्री इन्दिरा विश्वकर्माले भनिन्।

बुुटवल आइपुगेको साइकल यात्रीको टोलीलाई बुधबार राष्ट्रिय दलित पत्रकार संघ नेपाल रुपन्देही जिल्ला कार्यसमिति र लुम्बनी प्रदेश समितिले संयुक्त आयोजनामा खादा तथा प्रशंसा पत्रले सम्मान गरेको छ।

बुटवल उप–महानगरपालिकाको उप–प्रमुख सावित्रा देवी अर्यालले विभेदविरुद्धको आन्दोलन आफैँबाट सुरु गर्नुपर्ने बताउँदै अभियानको सफलताको शुभकामना दिइन्। उनले समाज रुपान्तरणको आन्दोलनमा सहभागी हुन सम्पूर्ण छोरीहरूलाई आह्वानसमेत गरिन्।

राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष विनोद पहाडीले अहिलेको युवा पुस्ता सामाजिक सञ्जालमा सौन्दर्य प्रर्दशनमा रमाइरहेको सन्दर्भमा महिला पत्रकारले साइकल यात्रा सुरु गर्नु आफैँमा परिवर्तनको संकेत भएको बताए।

विभिन्न काल खण्डमा जातीय विभेद् तथा छुवाछुतविरुद्ध विभिन्न अभियान संञ्चालन भएको स्मरण गर्दै साइकल यात्रा पनि आन्दोलनकै एउटा स्वरुप भएको उनको भनाइ छ।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराइले विभेद् अन्त्यको महत्वपूर्ण माध्यम भनेको समाजवाद भएको बताए। वरिष्ठ पत्रकार डा.बालकृष्ण चापागाइँले साइकल यात्रीको लक्ष्य र उद्देश्य समाज रुपान्तरणका लागि भएकाले अब परिवर्तन गर्न ढिलाइ गर्न नहुने बताए।

‘साइकलयात्रा समानताका लागि गरिएको मौन आन्दोलन हो, विभेद रहित समाज निर्माणका लागि राजमार्गले छोएका सहरका सचेत मानिसले गाउँसम्म सन्देश प्रवाह गर्नुपर्छ’ मानवअधिकारकर्मी गोविन्द खनालले भने।

उनले धर्मशास्त्रमा उल्लेखित गलत श्लोकका कारण विभेद अन्त्य हुन नसकेको बताए। नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका महासचिव विक्रम खड्काले तीन पत्रकारले गरेको कामको प्रशंशा गर्दै पत्रकारहरूले समाचार लेख्ने मात्रै नभई अन्य माध्यमबाट समाज रुपान्तरणका लागि महत्वपुर्ण भूमिका खेल्न सक्ने बताए।

नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले सम्मानसहित बाच्न पाउने पाउने अधिकार कसैले पनि हनन् गर्न नहुने बताए। साइकल यात्री ८ दिन लगाएर बुुटवलपछि देवदह, बर्दघाट हुँदै पूर्वी नेपालतर्फ लागेको छ।

मेची महाकालीको प्रचलन भए पनि महाकाली मेची साइकल यात्रा सुरु गरेर समाज सुल्टो मार्गमा हिड्न सन्देश दिएको यात्रीहरूको भनाइ छ। यात्रा पूर्वी मेचीमा पुगेर समापन हुनेछ।

  • १३ बैशाख २०८०, बुधबार प्रकाशित

  • Nabintech