१३ बैशाख २०८१, बिहीबार

एक सातामा तोडियो सांसद गौतमको आमरण अनशन
  • न्युज मानसराेवर

बाँके\हाम्रो बर्दिया बचाऔं समुन्नत बर्दिया बनाऔं अभियानसहित १५ बुँदे माग राखेर आमरण अनशन बसेका नेपाली कांग्रेसका संघीय सांसद सञ्जय गौतमले अनशन तोडेका छन्।

वैशाख ३० गतेदेखि बर्दियाको बारबर्दिया र गुलरिया जोड्ने भत्किएको जब्दीघाट पुलमुनि अनशन बसेका गौतम र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाबीच आज ११ बुँदे सहमति भएपछि अनशन तोडिएको हो।

मन्त्री ज्वालाले अनशनस्थल पुगेर अनशन तोडाएका छन्। बर्दियाको गुलरिया र बारबर्दिया जोड्ने पक्की पुल ६ वर्षअघिदेखि भासिएर भत्किए पनि सरकारले ध्यान नदिएको भन्दै सांसद गौतम १५ बुँदे माग अघि सार्दै भत्किएको पुलमुनि आमरण अनशनमा बसेका थिए ।

पप्पु कन्स्ट्रक्सनले बनाएको सो पुल २०७४ सालमा भासिएको थियो भने गत वर्ष बाढीले बगाएपछि बर्दियाका झन्डै १ लाख बासिन्दा प्रभावित भएका छन्।  पुल निर्माणका लागि सरकारको ध्यानाकर्षण गराउँदै गौतम सोही पुलमुनि आमरण अनशन बसेको बारेमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा र दीपक गिरीले प्रतिनिधिसभाको बैठकमा ध्यानाकर्षण गराएका थिए।

राष्ट्रिय मानव अधिकार आयोगले पनि आमरण अनशनमा बसेका प्रतिनिधिसभा सदस्य गौतमको जीवन रक्षा गर्न आग्रह गरेको थियो

।बर्दिया-१ बाट निर्वाचित सांसद गौतम कांग्रेसका केन्द्रीय सदस्य पनि हुन्।

  • ६ जेष्ठ २०८०, शनिबार प्रकाशित

  • Nabintech