२ जेष्ठ २०८२, बिहीबार

कोहलपुरमा विरुवा संरक्षण अभियान
  • न्युज मानसराेवर

कोहलपुर\कोहलपुर नगरलाई सुन्दर र हरियो नगर बनाउने अभियानलाई तीव्र पारिएको नगरपालिकाले जनाएको छ । नगरमा रुख र बोटविरुवा निकै कम रहेको ठहर गर्दै नगरपालिकाले बिरुवा रोप्ने र रोपिएका विरुवाको संरक्षण गर्ने कार्यलाई तीव्र पारेको हो ।

कोहलपुर नगरपालिकाका मेयर पुर्णप्रसाद आचार्यले कोहलपुरलाई हरियो सुन्दर नगर बनाउने योजना अनुसार अहिले कोहलपुर बजार क्षेत्रमा बोटबिरुवा रोप्ने र रोपिएकालाई संरक्षण गर्ने कार्यलाई तीव्र पारिएको बताए ।

मेयर आचार्यका अनुसार बिरुवाको संरक्षण होस् भन्ने उद्देश्यले रोप्नु पूर्व नै तारबार लगाउने काम पनि धमाधम चलिरहेको छ । कोहलपुरलाई हरित नगर बनाउने उद्देश्यले कोहलपुर–नेपालगञ्ज सडकखण्ड अन्तर्गत पर्ने क्षेत्रमा गत वर्ष पनि विभिन्न प्रजातिका बोटविरुवा रोपिएको थियो । ती बोटविरुवाको संरक्षणमा विशेष ध्यान दिईएको जनाइएको छ ।

तर लामो समयदेखि पानी नपरेका कारण हुर्किंदै गरेका कलिला बोटविरुवा मर्ने जोखिम बढ्दै गएपछि कोहलपुर नगरपालिका वडा नम्बर ९ को आयोजनामा बोटविरुवामा पानी हालेर सिचाई गर्न थालिएको छ । वडा नम्बर ९ का वडा अध्यक्ष ओपेन्द्र नाथ योगीले गर्मीले बोटविरुवा मर्ने जोखिम बढेपछि आफ्नो क्षेत्रभित्र रहेका बोटविरुवालाई सिचाई गर्ने काम गरिएको बताए ।

कोहलपुर–नेपालगञ्ज सडकखण्ड अन्तर्गत वडा नम्बर ९ मा पर्ने पिपरी चोकदेखि दक्षिण वडा नम्बर १४ को सिमा भित्र पर्ने १८२ वटा बोटविरुवामा सिचाई गरिएको वडा कार्यालयले जनाएको छ ।

  • ३० जेष्ठ २०८०, मंगलवार प्रकाशित

  • Nabintech