बाँके\लुम्बिनी प्रदेश सभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेश सामयिक कर राजश्व सङ्कलन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गरेका छन्।
छैटौँ अधिवेशनको दोस्रो बैठकमा मन्त्री कार्कीले विधेयक पेश गरेका हुन्।प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा सम्बोधन गर्दै नीति तथा कार्यक्रम बजेटको तालमेल,चालू वर्षको बजेट कार्यान्वयनको अवस्थाका बारेमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रदेशसभा सदस्य दुर्गाप्रसाद चौधरीले बजेटको समीक्षा गर्ने अधिकार संसद्मा हुनुपर्ने बताए । नदीजन्य पदार्थको उत्खनन् र व्यवस्थापनमा कमजोरी देखिएको, राजश्व चुहावट भइरहेको, राजश्व आउने ठाउँमा प्रदेशले ध्यान दिनुपर्ने र राजश्वका क्षेत्रहरूको पहिचान गर्नुपर्ने र सङ्घको मुख ताक्नु नहुने धारणा राखे ।प्रदेशसभा सदस्य गिरिधारीलाल न्यौपानेले स्रोतको आधारमा बजेट निर्माण गरिनुपर्ने, लागू गर्न सकिने योजनाहरू मात्रै थालिनुपर्ने, सबै क्षेत्रमा तत्काल गर्नुपर्ने कामहरूको रेखाङ्कन गरेर अघि बढ्नुपर्ने सुझाएका छन्।
प्रदेशसभा सदस्य बसन्ती न्यौपानेले जलन उपचारलाई प्राथमिकतामा राख्दै प्रदेशमा जलन उपचार केन्द्र स्थापनाका लागि सरकारको ध्यानाकर्षण गराइन् । कुलत तथा दुर्व्यसनविरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नेगरी योजना बनाउनुपर्ने सुझाव दिइन् । प्रदेशसभा सदस्य भुवनेश्वर चौधरीले समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश बनाउने सबैको साझा लक्ष्य भएको बताए ।
कानुन निर्माण, नीति तथा कार्यक्रम तथा बजेट निर्माणमा ध्यान दिनुपर्ने, प्राथमिकता र सिद्धान्तको विषयमा सुरुबाटै छलफल गर्नुपर्ने बताए । छैटौँ अधिवेशनको तेस्रो बैठक जेठ २ गते शुक्रवार दिउँसो १ बजे बस्ने जानकारी सभामुख तुलाराम घर्तीमगरले दिए ।