कोहलपुर, बाँके । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) कोहलपुर नगर कमिटीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी रु.१३लाख ७३ हजार ९ सय ९२ रकम बाँँके प्याब्सन मार्फत चेक हस्तान्तरण गरिएकाे छ ।
त्यसै गरि काेहलपुर प्याब्सनमा आवद्व स्कुल २८ वटा विद्यालय मध्ये ६ वटा विद्यालयले प्रत्यक्ष प्रधानमन्त्री दैवीप्रकोप उद्वार काेषमा ५ लाख २९ हजार ५ सय ५ रूपैया जम्मा गरेका थिए ।
उक्त रकम समेत जाेड्दा २१ लाख २ हजार ६०२ रकम प्याब्सन काेहलपुरले सहयाेग गरेकाे हाे ।
कोहलपुरमा आयोजित कार्यक्रममा प्याब्सन कोहलपुर नगर कमिटीका अध्यक्ष रमेश केसीले उक्त रकमको चेक प्याब्सन बाँकेका जिल्ला अध्यक्ष विकास बज्राचार्यलाई हस्तान्तरण गरेका हुन्।

उक्त रकम प्याब्सन कोहलपुरमा आबद्ध संस्थागत विद्यालयहरूले संकलन गरेका हुन्। कोहलपुर नगर प्याब्सनमा हाल २८ वटा विद्यालय आबद्ध रहेका छन्। ती विद्यालयहरूबाट संकलित रकमलाई एकीकृत गरी जिल्ला प्याब्सनमार्फत सहयोग गरिएको अध्यक्ष केसीले जानकारी दिए।
अध्यक्ष केसीका अनुसार हाल संकलित रकम हस्तान्तरण गरिए पनि बाँकी ३ वटा विद्यालयबाट समेत रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा थप रकम जम्मा गरिनेछ उनले भने ।

प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्यले कोहलपुर नगर प्याब्सनबाट प्राप्त रकम प्याब्सनको केन्द्रीय खातामा जम्मा गरिने र देशभरबाट संकलन हुने रकमलाई एकमुष्ट रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने बताए।
उनका अनुसार विपद् प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले देशभर प्याब्सनमा आबद्ध करिब ८ हजार संस्थागत विद्यालयबाट सहयोग रकम संकलन गर्ने योजना रहेको छ। सबै विद्यालयबाट संकलित रकम एकीकृत गरी सरकारको विपद् राहत कोषमा जम्मा गरिने उनले बताए।

अध्यक्ष बज्राचार्यले विपद्का समयमा निजी विद्यालय क्षेत्रले समेत आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै पीडितको सहयोगमा हातेमालो गरेको बताए। प्याब्सन कोहलपुरका अध्यक्ष रमेश केसीले प्राकृतिक विपद्का बेला मानवीय सहयोग आवश्यक हुने भन्दै कोहलपुरका संस्थागत विद्यालयहरूले आफ्नो क्षमताअनुसार गरेको यो सानो सहयोग विपद्मा परेका नागरिकका लागि महत्वपूर्ण हुने बताए।








