४ जेष्ठ २०८१, शुक्रबार

माग सम्बोधन नहुँदासम्म विद्यालय बन्दको घोषणा
  • न्युज मानसराेवर

बाँके\तालाचाबी विद्यालयमा बुझाएर आन्दोलित नेपाल विद्यालय कर्मचारी परिषद्ले बाँकेका सम्पूर्ण सामुदायिक विद्यालय अनिश्चितकालसम्म बन्दको घोषणा गरेको छ । गत जेठ २० गतेदेखि आन्दोलनरत विद्यालय कर्मचारीको माग सम्बोधन नहुँदासम्म बाँकेका सम्पूर्ण सामुदायिक विद्यालय बन्दको घोषणा गरिएको हो ।

सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुको सेवा सुविधालगायतका विषयलाई गत जेठ १५ गते सार्वजनिक बजेटले सम्बोधन नगरेको भन्दै आन्दोलनरत नेपाल विद्यालय कर्मचारी परिषदले असार ३ गते आईतबारदेखि विद्यालय बन्दको घोषणा गरेको हो । बजेटले आफ्नो समस्या सम्बोधन नगरेको भन्दै उनीहरुले गत जेठ २० गतेदेखि तालाचाबी विद्यालयमा बुझाएर आन्दोलनमा उत्रिएका हुन् ।

बाँकेसहित देशभर आन्दोलित उनीहरुले केन्द्रिय सर्कुलेसन अनुसार आन्दोलन गरिरहेको परिषद् बाँकेका अध्यक्ष कृष्ण कुवँरले जानकारी दिए । आन्दोलन कार्यक्रम अन्र्तगत कर्मचारीहरुले गत जेठ २६ गतेसम्म सम्बन्धित पालिका र जिल्ला शिक्षा समन्वय इकाईमा धर्ना दिएका थिए ।

परिषद बाँकेले प्रमुख जिल्ला अधिकारीलाई शुक्रबार आफ्ना मागप्रति सरकारले कुनै किसिमको चासो नराखी वेवास्ता गरेको हुनाले पूर्व घोषित कार्यक्रम अनुसार असार ३ गते आईतबारदेखि देशभरीका सम्पूर्ण सामुदायिक विद्यालयहरु बन्द गर्ने कार्यक्रम अन्र्तगत बाँके जिल्लाका सम्पूर्ण सामुदायिक विद्यालय बन्द गर्न बाध्य भएको भन्दै पत्र बुझाइ सकेको छ ।

परिषद्ले शिक्षा विकास तथा समन्वय इकाई, बाँके, ८ वटै स्थानीय तह, सबै सामुदायिक विद्यालय र विभिन्न पेशागत शिक्षकका संगठनलाई समेत उक्त पत्र बोधार्थ पठाएको छ । नेपाल सरकारको नीति तथा कार्यक्रमले ‘सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुको सेवा सुविधालगायतका विषयलाई सम्बोधन गरिनेछ’ भनेर उल्लेख गरेको थियो । तर, गत जेठ १५ गतेको बजेटले हाम्रा माग सम्बोधन नभएपछि आन्दोलित भएका छौं । यतिमात्र होइन सेवा सुविधामा समेत विभेद छ, सरकारले पटक–पटक जनाएको प्रतिबद्धता कार्यान्वयन नगरेकाले गर या मरको स्थितिमा पुगेको अध्यक्ष कार्कीले बताए ।

नेपाल विद्यालय कर्मचारी परिषद् बाँकेका अध्यक्ष कार्कीले भने ‘सरकारले बजेट छैन भन्छ, संसद विकास कोष ब्यूँताएर करोडौं बजेट बाँड्न हुने, देशको भविष्य उत्पादन हुने स्थल विद्यालयका कर्मचारीलाई अपहेलना गर्ने । यो न्यायोचित होइन् ।’ आन्दोलनरत विद्यालय कर्मचारीले हरेक पटक सेवा सुविधा बढाउनको लागि आन्दोलन गर्नुर्ने बाध्यता अन्त्यको लागि यो कठोर कदम चाल्न बाध्य भएको बताउँछन् ।

कतिपय विद्यालय कर्मचारीले बाँकेका स्थानीय पालिकामा शिक्षक कर्मचारीले पाउने तलबमा समेत एकरुपता नभएको बताउँदै आएका छन् । बाँकेमा अनुदान खाने विद्यालय कर्मचारी ५ सय ८५ जना रहेका छन् । यतिबेला सामुदायिक विद्यालयका कर्मचारीले तालाचाबी विद्यालयका प्रध्यानाध्यापकलाई बुझाएर आन्दोलनमा उत्रिएपछि विद्यालय सञ्चालनसँगै प्रशासनिक कार्य समेत प्रभावित बनेको छ । विद्यालयका लेखापाल र कार्यालय सहयोगी आन्दोलित भएपछि प्रअ र शिक्षकले नै कक्षाकोठा खोल्ने र बन्द गरिरहेका छन् ।

  • २ असार २०८०, शनिबार प्रकाशित

  • Nabintech