बाँके\बाँकेको नरैनापुर गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेट ल्याउन सभाको तयारीमा जुटेको छ ।गाउँ सभामा पेश हुने वार्षिक नीति तथा कार्यक्रम आगामी आर्थिक वर्षको वार्षिक बजेटको सबै तयारी पूरा भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले बताए ।
नरैनापुर गाउँपालिकाले असार १० गतेभित्र शुरू गर्नुपर्ने गाउँसभा समयमै गर्नका लागि बस्तीस्तरमा नीति तथा कार्यक्रमका लागि छलफल गर्दै सुझाव संकलन, माग र आवश्यकता संकलनको काम पूरा गरेको जनाएको छ ।
बुधवार बसेको गाउँ कार्यपालिकाको बैठकले बस्ती स्तरबाट भएको योजना छनोटका विषयमा विभिन्न समितिमा छलफल गरी आवश्यकताका आधारमा बजेट विनियोजन गर्ने तयारी गरेको गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले बताए ।
अध्यक्ष शाहले समयमै सभा गर्ने तयारीमा आफूहरू व्यस्त रहेको बताए । ‘हामीले वडास्तरमा जनप्रतिनिधिलाई साना–साना समूह बनाएर टोलटोलमा पठायौं, जसले सबैका माग सम्बोधन गर्न सहज होस् भन्ने सबैसँग छलफल गर्ने समय मिल्यो,’ उनी भन्छन्, ‘यसपटक फेरि पनि शिक्षा र स्वास्थ्य प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी छ ।’
बुधवार बसेको बैठकले उपाध्यक्ष जयन्तीदेवी श्रीवस्तवको संयोजकत्वमा न्यायिक समितिलाई पूर्णता दिने निर्णय गरेको छ । समितिको सदस्यमा वडा नम्बर १ का अध्यक्ष इसाक जोलाह र वडा नम्बर ५ का अध्यक्ष कृष्णचन्द्र मौर्यलाई राख्ने निर्णय भएको वडा नम्बर २ का अध्यक्ष मसूद अहमद शाहले जानकारी दिए । उनले भने, ‘कार्यपालिकाले गरेको निर्णयलाई असार १० गते गाउँ सभाबाट पारित गरिने छ ।’
वडा नम्बर ५ का अध्यक्ष कृष्णचन्द्र मौर्यले शिक्षा ऐन २०७४ लाई संशोधन गर्ने र नीति, कार्यक्रम र बजेटका विषयमा आजको बैठकमा छलफल भएको बताउँदै असार १० गते हुने गाउँसभा विवादरहित तरिकाले सम्पन्न हुने बताए ।
वडा नम्बर २ का अध्यक्ष मसूद अहमद शाहले अबका दिनमा दीर्घकालीन टिक्ने र फाइदा हुने खालका योजनालाई प्राथमिकता दिने बताए । ‘शिक्षा, स्वास्थ्य, कृषि, वातावरण संरक्षण प्राथमिकतामा रहनेछन्,’ उनी भन्छन्, ‘बजेट तथा कार्यक्रम ल्याउँदा नरैनापुरको दीगो विकास र फाइदा हुने कुरामा ध्यान दिइनेछ । त्यसका साथै पछाडि परेका सबै क्षेत्रलाई समेट्ने प्रयास रहने गरी काम थालेका छौं ।’
बैठकमा गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाह, उपाध्यक्ष जयन्तीदेवी श्रीवास्तव, प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल, वडा नम्बर १ का अध्यक्ष इसाक जोहल, वडा नम्बर २ का अध्यक्ष मसूद अहमद शाह, ३ का वडा अध्यक्ष अजय मिश्रा, ४ का अध्यक्ष मनोज शर्मा, ५ का वडा अध्यक्ष कृष्ण चन्द्र मौर्य, ६ का वडा अध्यक्ष प्रेम मौर्य, जिन्सी शाखा प्रमुख भरत महतो र लेखा पाल प्रकाश अधिकारी लगायत कार्यपालिका सदस्यहरूको सहभागिता थियो ।