१३ बैशाख २०८२, शनिबार

नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह
  • न्युज मानसराेवर

बाँके\अविरल वर्षाका कारण राप्ती नदीमा पानीको सतह सतर्कताको बिन्दु नजिक पुगेपछि बाँकेको तटीय क्षेत्रका गाउँबस्तीलाई सतर्क रहन सूचना जारी गरिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका सूचना अधिकृत रुपन ज्ञवालीले कुसुम क्षेत्रमा राप्ती नदीको बाढी मापन केन्द्रमा जलसतह खतराको बिन्दु ६ मिटर कायम गरिएकोमा पानी सो नजिक पुगिसकेकोले सावधानीको सूचना जारी गरिएको जानकारी दिएका छन। उनले मङ्गलबार दिउँसो १ बजे राप्ती नदीमा पानीको सतह ५ मिटर ७५ सेन्टिमिटर पुगेको बताए ।

सूचना अधिकृत ज्ञवालीका अनुसार दाङ, रोल्पा, प्युठानमा लगातार पानी परेकाले नदीको सतह बढेको हो । मङ्गलबार बिहानैबाट नदी क्रमिक रुपले बढ्दै गएको छ । नदीमा पानीको सतह खतराको तहमा पुग्न थालेकोले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको हो ।

ज्ञवालीले पानीको सतह बढेपछि नदीको वरिपरिका सबै गाउँबस्तीमा सतर्क रहने सूचना पठाइएको बताए । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार कुसुममा पानीको सतह ७।८ मिटर पुग्नेबित्तिकै खतरास्वरुप नदी छेउछाउमा साइरन बजाइन्छ । नदीको सतह ७ मिटर ८० सेन्टिमिटर पुग्नेबित्तिकै राप्ती नदी आसपासका दर्जनौं गाउँ डुब्ने गरेका छन् ।

भारतले अन्तर्राष्ट्रिय नियम विपरीत लक्ष्मणपुर बाँध र कलकलवा तटबन्ध बनाएका कारण नदी प्राकृतिक रुपले बग्न नपाउँदा नेपाली भूभाग राप्ती नदीमा पानीको सतह बढ्दा राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिकाको तटीय क्षेत्रका बासिन्दा विगत धेरै वर्षदेखि वर्षेनी डुबानमा पर्दै आएका छन् ।

जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले नदीको सतह बढेर ५।७५ मिटर पुगेपछि राप्तीपारिको उच्च जोखिममा रहेका क्षेत्रहरुमा अलर्ट जारी गरिएको बताए । उनले जोखिमका क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सतर्क र सजग रहन आग्रह गरिएको र ती सबै ठाउँमा सुरक्षा निकायका तीन वटै निकायलाई तयारी अवस्थामा राखिएको समेत बताए । गोखापत्र बाट

  • ९ श्रावण २०८०, मंगलवार प्रकाशित

  • Nabintech