बाँके\मौसम पूर्वानुमान महाशाखाले आज देशका पहाडी भूभागका केही स्थानहरू तथा बाँकी भूभागका १–२ स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको जनाएको छ ।
बुधवार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले वर्षाका कारण हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
हाल नेपालमा मनसुनी वायुको साथै बंगालको खाडीको उत्तर पश्चिम र आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।