८ बैशाख २०८२, सोमबार

सरकार अब उत्पादनमा केन्द्रित बनौँ
  • न्युज मानसराेवर

भारतले  चामल निर्यातमा प्रतिबन्ध लगाएपछि त्यसको असर नेपालमा पर्ने भएको छ । चामल निर्यातमा प्रतिबन्ध लगाए पनि नेपालमा धान आयात ठप्प भएको छ । धान निर्यातमा २० प्रतिशत भन्सार लगाएपछि त्यहाँबाट धान ल्याएर प्रशोधन गर्दा नाफा नहुने भएकाले व्यवसायीले धान आयात नगरेका हुन् । भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएसँगै बजारमा चामलको मूल्य बढाइएको छ जब कि मूल्य बढाउनुपर्ने कुनै कारण नै हैन । पुरानो स्टकको चामलको मूल्य बढाए पनि सरकारले व्यापारीलाई कारबाही गर्न सकेको छैन । यसले नेपालमा आगामी दिनमा चामलको समस्या थप जटिल हुने देखिन्छ ।

नेपालमा प्रतिवर्ष १० लाख टन चामल भारतबाट आयात गर्नुपर्ने देखिएको छ । नेपालमा धान उत्पादन प्रशस्त भए पनि अपुग चामल आयात गर्नुपरेको हो । दालचामल उद्योगले भारतबाट धान ल्याएर चामल बनाई विक्री गर्ने गरेका छन् । भारतबाट धान ल्याएर प्रशोधन गरी चामल बनाएर विक्री गर्नभन्दा चामल नै ल्याएर विक्री गर्दा बढी मुनाफा हुने अवस्था थियो । तर, अब चामल आयात गर्न नपाइने भएकाले नेपालमा चामलको अभाव हुने सम्भावना देखिएको छ । चाडपर्वका बेलामा खाद्यान्नमा कालोबजारी हुने  गरेको छ ।

यस्तोमा चामलमा पनि त्यस्तै नहोला भन्न सकिँदैन । सरकारको काम यस्तो कालोबजारी र कार्टेलिङ रोक्नु हो । यसो गर्नेलाई कारबाही गर्नु हो । यी दुवै काम गर्न सरकार असफल हुँदै आएको छ । यसरी चामलका लागि अन्य देशमा भर पर्दा बेलाबेलामा समस्या आउने गरेको छ । प्रमुख खाद्यान्नमा आत्मनिर्भर हुनसक्ने हो भने यस्तो प्रतिबन्धले खासै असर पर्दैन ।

अब नेपालले कि त भारतसँग हारगुहार गरेर चामल माग्नु पर्‍यो कि त अन्य देशबाट आयात गर्न सक्न पर्‍यो । भारत धान उत्पादनमा अग्रणी मुलुक हो । त्यहाँबाट चामल निर्यात नहुने भएपछि अमेरिकामा समेत चामल किन्न लाइन लागेको दृश्य समाचारमा आइरहेको छ । यस्तोमा भारतका अगाडि निकै दारा ङिच्याएर मात्रै चामल आयात गर्न पाइने पक्का छ । भारतको प्रतिबन्धसँगै विश्वभरि नै चामलको मूल्य बढ्ने देखिएको छ । यस्तोमा नेपालले तेस्रो मुलुकबाट चामल ल्याउने हो भने निकै महँगो हुने निश्चित छ ।

त्यसैले नेपाले धान, गहुँ, मकैजस्ता प्रमुख खाद्य बालीको खेती बढाउन प्रशस्त लगानी गर्न र प्रोत्साहन दिन आवश्यक देखिएको छ । अर्को भनेको नेपालीले खाने कुरा भनेकै भात हो भनेर बुझ्ने गरेका छन् । भात नखाईकन केही खाएको जस्तै नगर्ने भाते प्रवृत्ति नेपालीमा छ । यो भाते प्रवृत्तिमा परिवर्तन ल्याउन ढिला भइसकेको छ । भात बढी भएकै कारण नेपालीमा केही रोगहरू पनि देखापरेका छन् । अर्को, यसको उपभोग घटाएर जे उत्पादन हुन्छ त्यो उपभोग गर्न थालियो भने राष्ट्रको ढुकुटी पनि बलियो हुन्छ ।

नेपालमा धानको उत्पादकत्व पनि निकै कम छ । चीन र भारतको दाँजोमा नेपालको धानको उत्पादकत्व कम भएकाले त्यसलाई बढाउन आवश्यक छ । यसो गर्न सिँचाइ र मलबीउको उचित व्यवस्था गर्नु अनिवार्य हुन्छ । तर, सरकारले समयमा मलको आपूर्ति गर्न सकेको छैन भने सिँचाइको सुविधा पनि राम्ररी पुर्‍याउन सकेको छैन ।

चामल अभावको संकेत देखिएपछि सरकारले चामल खरीद गर्ने निर्णय गरेको छ । यसरी चामल खरीद गरेर समस्याको समाधान खोजियो भने पटकपटक यस्तो समस्या आइरहँदा त्यसलाई झेल्न कठिन हुन्छ । त्यसैले उत्पादन बढाउनु नै समस्याको दिगो समाधान हो । यसतर्फ सरकारको प्रयत्न हुन जरुरी छ । विदेशबाट आयात हुने खाद्य वस्तुमा बेला बेला अवरोध हुने क्रम जारी रहेकाले नेपालले यस्तो समयलाई स्वदेशी उत्पादन वृद्धि गर्ने अवसरका रूपमा लिनुपर्छ ।

  • २० श्रावण २०८०, शनिबार प्रकाशित

  • Nabintech