५ श्रावण २०८१, शनिबार

जसले देशमै पहिलोपटक गंगा आरतीको सुरुवात गरे
  • न्युज मानसराेवर

बाँके\उनलाई सन्त अभियानी भन्न बढी सुहाउँछ होला। एक पत्रकार सधैं समाचारको घेरामा हुन्छ नै। उसलाई हरेक नयाँ कुराले आकर्षित गर्छ। यस्तै भयो शिक्षक एवं पत्रकार रामअशिष यादवसँग। उनी पत्रकार महासंघ धनुषाका पूर्व अध्यक्ष पनि हुन्।

फोहर जनकपुरले उनलाई निदाउन दिन्थेन। समाचार र साथीभाइबीच जनकपुरको फोहरको कुरा उठ्दा निश्चय नै उनलाई दुख्थ्यो। २०७० सालको कुरा हो, एक दिन टिभीमा समाचार आइरहेको थियो। सांसद नरेन्द्र मोदी जो त्यतिबेला प्रधानमन्त्री बनिसकेका थिएनन्, उनले बनारसको अस्सीघाटको सफाइ अभियान चलाएको बारे। समाचारमा मोदी स्वयम् जल तथा घाट सफाइमा जुटेका देखिन्थे। यो घटनाले उनलाई क्लिक गर्यो। हुन त यसअघि पनि जब उनी ब्रह्मकुमारी राजयोग सेवा केन्द्रबाट भारत राजस्थानस्थित मधुवनको भ्रमणमा गएका थिए, त्यहाँको स्वच्छता र निर्मलताले उनको मनमा सफाइप्रतिको एउटा मोह जगाइसकेको थियो। उनी भन्छन्- त्यहाँको पावन वातावरणले पहिलो पटक मभित्र सद्भाव जागेको थियो।

 यी दुई घटनाले उनी एक साधारण व्यक्तिबाट अभियानीमा दरिएका थिए। जनकपुरको सफाइ गर्ने भोक उनको मनमा जागिसेकको थियौ नै। उनले प्रख्यात जानकी मन्दिरको सफाइ गर्ने मनमनै निश्चय गरे। तर मनमा द्विविधा भइरह्यो। जानकी मन्दिरका संरक्षक त त्यहाँका महन्त छन्। उनले सफाइ कार्यमा हस्तक्षेप गर्न सक्छन्। अथवा सफाइ कार्यको बीच दुबैको तालमेल नमिल्न पनि सक्छ। र उनले जानकी मन्दिर सफाइको विचार त्यागे।

तर मोदीको उक्त अभियानको असर भने उनको मनमा गढेर बसिसकेको थियो। लगत्तै उनको मनमा विचार आयो जनकपुरको सबैभन्दा ठूलो छठ हुने पवित्र गंगा सागरको सफाइ गर्ने। गंगा सागर जनकपुरको प्रमुख पवित्र पोखरीमध्येको एक रहेपनि यसको जल र चारैतिर बनेको घाटहरु फोहरको डंगुर हुँदै गएको थियो। त्यसमाथि गंगा सागरको कुनै खास संरक्षक पनि थिएन। एक प्रकारले वेबारिसे थियो गंगासागर।

मनमा विचार आउनासाथ उनले आफ्नो विचार पहिलो पटक विजय दत्त, होटेल व्यवसायी विजय झुनझुनवाला, अधिवक्ता राजकुमार महासेठ र अनिलसँग साझा गरे। सबैले उक्त अभियान राम्रो हुने आश्वासनमात्रै दिएनन् साथ दिने वाचासमेत गरे। यसरी पाँच जनाको समूहले पहिलो पटक गंगा सागरको सफाइमा उत्रने निधो गरे।

रामआशिष यादव भन्छन्, त्यसपछि हामीले तत्कालिन नेपाली सेनाका कर्नल, सशस्त्रका एसपी राजेन्द्र शाक्य र प्रहरीलाई सहभागि गराउँदै २०७० फागुन ११ गते पहिलो पटक सफाइ गर्यौ। त्यसपछि विद्यार्थी, युवा, स्थानीय व्यवसायी, शिक्षक, पत्रकार, महिला अधिकारकर्मीहरुलाई साप्ताहिक रुपमा अभियानमा सहभागि गर्दै लग्यौं। जल सफाइ अभियान विस्तारै पोखरी सफाइ अभियानमा परिणत हुँदै गयो र यो एक जिल्लाबाट समग्र प्रदेश हुँदै देशभरि विस्तार हुँदै गएको अवस्था छ।

एउटा व्यक्तिको सोचले ल्याएको क्रान्ति
एउटा व्यक्तिले चाहेमा एउटा गाउँ, शहर र देशकै मुहार फेर्न सक्छ जसको ज्वलन्त उदाहरण हुन् जल अभियानी राम आशिष यादव। मधेश प्रदेशको राजधानी जनकपुरलाई ‘धाम’ बनाएको हो त्यहाँस्थित मठ–मन्दिर तथा पवित्र पोखरीहरुले। कुनै समय घाटहरु नबने पनि सबै पोखरी सफा र निर्मल नै हुने गर्थे। वर्षभरि पर्ने पर्व–तिहार र विशेष दिनहरुमा स्थानीयहरु विशेष गरी महिलाहरु विभिन्न जलाशयमा स्नान गर्ने परम्परा थियो।

रामआशिष भन्छन्, मानव सभ्यताको सुरुवात नै नदी र जलासयको किनारबाट भएको हो। जानकीको जन्मभूमि जनकपुरधाम पश्चिममा दूधमती नदी र पूर्वमा बिमला जलाद नदीको किनारमा बसेको छ। विश्वमा जलश्रोतमा दोस्रो धनी देशको सूचीमा रहेको नेपालको हिमनदीबाट ८३ हजार मेगावट बिजुली उत्पादन गर्ने क्षमता रहेको छ। जल हामी बनाउन सक्दैनौं तर बचाउन सक्छौं।’
यादवको अध्यक्षतामा २०७१ सालमा ‘हिस्टोरिकल जनकपुर’ नामक संस्था भयो। अब उक्त संस्थाको मातहतमा रहेर सफाइ र संरक्षणका अभियानहरु सञ्चालन हुन थाले। गंगा सागरको जल सफाइबाट सुरु भएको अभियान विस्तारै जनकपुरको पोखरी सफाइ र संरक्षणको अभियानमा केन्द्रित भयो। ‘क्लिन जनकपुर ग्रिन जनकपुर’ भन्ने नारा दिएर सफाइमा जुटे। त्यसपछि वृक्षारोपणको कार्य पनि द्रूत गतिमा भयो।


गंगासागर

यसरी सुरु भयो देशमै पहिलो पटक गंगा आरती
अभियानी यादव भन्छन्, सफाइ र संरक्षणका अभियानहरु जारी थिए। एक दिन मेरो मनमा विचार आयो हरिद्वार र बनारसमा गंगा आरती हुन्छ। त्यस्तै जनकपुरको गंगा सागरमा पनि गंगा आरती गर्ने हो भने धर्मको दृष्टिले पनि गंगासागर फोहर हुँदैन। यसको स्वच्छता बनिरहन्छ। त्यसको लागि पुनः सबैसँग उनले सल्लाह गरे। तर एक–दुईजना बाहेक सबै विपक्षमा उभिए।

सबैको विचार थियो गंगासागर नदी होइन पोखरीमात्रै हो। यस्तोमा पोखरीमा के गंगा आरती गर्नु, खर्चिलोमात्रै हन्छ। यहाँको आरती हेर्न को आउँछ ? गंगा आरतीको विपक्षमा ठूलै जमात थियो। तर मैले दृढ निश्चय लिएँ, गंगा सागरमा गंगा आरतीको शुरुवात गर्छु। यो नराम्रो काम होइन, एउटा धार्मिक क्रिया हो। चल्यो भने चल्यो, चलने भने पनि मान्छेले भन्छन् रामआशिषले प्रयास त गरेका थिए तर सफल भएन। यसै निश्चयका साथ मैले मिथिलाका विद्वान पंडितहरुलाई सल्लाहको लागि बोलाएँ।

त्रेता युगमा राजा जनकले मिथिलाका विद्वान पण्डितहरुलाई बहसको लागि बोलाउँथे र कलियुगमा मिथिलाका पण्डितहरुलाई यसरी बोलाएर सल्लाह लिने सौभाग्य मैले प्राप्त गरेँ। करिब ६० जना पण्डितहरु गंगासागरमा आएका थिए। आरतीको लागि सबै पण्डितहरुले खुशी हुँदै स्वीकृति र समर्थन गरे। पण्डितहरुले गंगादशहराको दिनबाट आरतीको शुरुवात गर्ने सल्लाह दिए। उक्त दिनदेखि सुरु गर्दा राम्रो हुने उनीहरुको मान्यता थियो।  २०७१ जेठ २५ को गंगादशहराको दिन जनकपुरस्थित गंगासागरमा गंगाआरतीको थालनी भएको हो।

आरती सुरु भएको दिन मुख्य यजमान अथवा अतिथिका रुपमा तत्कालिन भारतीय राजदूत रञ्जित रे र ब्रम्हकुमारी राजगोय सेवा केन्द्र जनकपुरकी प्रमुख गंगा माताको विशेष उपस्थिति रहेको थियो। त्यसदिनदेखि निरन्तर गंगाआरती हुँदै आएको छ।

धार्मिक पर्यटन विकासको लक्ष्य
अभियानी यादव भन्छन्, ‘अभियानको मुख्य उद्देश्य प्रकृति–संस्कृतिको संरक्षण गर्नु र धार्मिक प्रर्यटकको विकास गर्नु नै हो। विगत १० वर्षदेखि थालिएको अभियानमा पूरै जनकपुरको पोखरीहरुको कायाकल्प भएको छ।

गंगा सागरपछि दुधमति नदी गरिमा संरक्षण समिति बनाएर दुधमती नदीको सफाइ अभियानमा हामी जुट्यौं। धनुषाधाम संरक्षित वन परिषद् समाज गठन भई धनुषाधामको सफाइ अभियान शुरु गर्यौ। परशुराम संरक्षण समिति बनाएर त्यसको सफाइ भयो। गंगासागर सफाइ अभियान यतिमा मात्रै केन्द्रित छैन। यो विस्तार हुँदै गयो स्थानीय। त्यसपछि मणिमण्डपको सफाइ सुरु भयो।

प्रत्येक ठाउँमा संरक्षक समित गठन गर्दै अभियानकै रुपमा सफाइको साथै संरक्षणको जिम्मा दिइयो। यसो गर्नुको खास कारण एक पटक सफाइ गरेर मात्रै हुँदैन यो सधैं सफा र सुरक्षित तथा संरक्षित भइरहनु यसको उद्देश्य थियो।’

जनकपुरबाट अभियान महोत्तरी जिल्लाको मठियानी स्थित लक्ष्मी सागरमा उनी आफैं उपस्थित भई गंगा आरतीको शुरुवात गराए। त्यस्तै जलेश्वरनाथ महादेव मन्दिरसँगैको पोखरीमा शिवआरतीको शुरुवात उनले आफ्नै उपस्थितिमा गराए। विरगन्जमा र सिरहाको दुर्गा पोखरीमा पनि उनले आफ्नै उपस्थितिमा आरतीको शुरुवात गराए। त्यतिमात्रै नभएर जनकपुरको गंगा महाआरतीको प्रभावमा अहिले पशुपतिनाथमा समेत गंगा आरतीको थालनी भइसकेको छ भने हलेसी महादेव, पोखरा, देवघाट लगायतमा विस्तारको क्रममा रहेको छ। यादव भन्छन्, धेरै ठाउँमा हामीले आफ्ना प्रशिक्षित पण्डित लगेर आरतीको शुरुवात गर्न मदत गर्ने गरेका छौं।

जनकपुरमा गंगा आरतीको लागि बनारसबाट तीन जना पुजारी आएका थिए। उनीहरु ७ दिन बसेर मिथिलाका पुजारीलाई महाआरतीको प्रशिक्षण दिएका थिए। अहिले गंगा आरती र पूजा गर्ने सबै मैथिल पण्डितहरु हुन्। जो सबै प्रशिक्षित रहेको उनी बताउँछन्। जनकपुरको गांगा आरती अहिले देशविदेशमा प्रख्यात हुँदै गएको छ। प्रत्येक शनिबार गंगा सागरको सफाइ कार्य अहिलेसम्म जारी छ। अन्य पोखरीहरुको आकर्षण गंगा सागरजस्तै बनाउनु पर्ने आवश्यकता छ। यसमा युवाहरुको सक्रियता र स्थानीय सरकाको चासो हुनु आवश्यक छ।


गंगासागर किनारमा ध्यान गर्दै स्थानीय

सेभ हिस्टोरिकल जनकपुरले फेर्न सक्ला त मुहार ?
अभियानी रामआशिष यादव अहिले सेभ हिस्टोरिकल जनकपुरका संस्थापक अध्यक्ष हुन्। उनी भन्छन्, ‘जल प्रदुषण, प्रकृति प्रदुषण र वायु प्रदुषण यी तिनै प्रदुषण नियन्त्रणमा सेभ हिस्टोरिकल जनकपुरले निरन्तर कार्य गर्दै आएको छ। संस्थाले विगत १० वर्षदेखि कार्य गर्दै आएको छ। हजारौं वृक्ष लगाइसकिएको छ। संस्थामार्फत अहिले जनकपुरको सबै पोखरी सफाइ भइरहेको छ। अरगजा पोखरी सफाइ र पोखरीको डिलमा वृक्षारोपण कार्य मैले आफ्नौ हातले गरेको छु। अहिले पोखरीहरुको मुहार नै फेरिएको छ। गंगा सागरपछि पोखरी सफाइमा क्रान्ति नै आयो।’ त्यसपछि राज्यले पनि पोखरीको संरक्षण र सरसफाइमा लगानी गर्न अग्रसर भएको उनी बताउँछन्।

‘स्थानीय सरकारले पोखरीहरुको घाट बनाउनेलगायतको कार्य गरिरहेको छ। हामी भने जिल्ला वन कार्यालयको सहयोगमा वृक्षारोपन नियमित गर्दे आइरहका छौं। वन कार्यालयले वृक्षमात्रै उपलब्ध गराउँछ। संस्था भने सहयोगमा नै चलेको छ। कुनै विद्यालयले सहयोग गरिदिन्छ भने कसैको जन्मदिनको उपलक्ष्यमा वृक्षहरु उपहार दिइन्छ, यसरी अभियान चलिरहेको छ। यसमा सरकारको कुनै सहयोग छैन। स्थानीय सरकार वा पालिकाहरुले हामीलाई सहयोग गरको छैन। उनीहरु आफ्नो स्तरमा घाट बनाउने लगायतको कार्य गरिरहेको छ।’

उनले जीवन दायनी यस्ता पोखरी, जलाशयहरुको सफाइ गर्न र संरक्षण गर्न अभियान चलाएका छन्। उनले सबैलाई पोखरी नदीको किनारमा वृक्षारोपन गर्न, जलासयमा प्लाष्टिक र अन्य कुनै प्रकारको फोहर नफाल्न सचेतना जगाइरहेका हुन्छन्। उनी बाटोघाटो हिँड्दा होस् अथवा कुनै कार्यक्रममा, सभामा बोल्दा, जल प्रदुशण नियन्त्रणको लागि सामूहिक संकल्पको लागि आह्वान गरिरहेका भेटिन्छन्। उनको यसै अभियानले प्रोत्साहित भएर जनकपुरका प्रायः युवाहरु आ–आफ्नो टोल र वडामा सरसफाइलाई प्राथमिकता दिएका छन्।

उनले ‘जल जीवन हरियाली’ अभियान नै चलाएका छन्। जस अन्तर्गत जनकपुरका पोखरीहरुको सफाइका साथै वृक्षारोपणलाई प्राथमिकता दिइएको छ। ‘मात्र एक पाइला जल संरक्षणको लागि’ भनेर नारा चलाएका छन्। उनी भन्छन्, मान्छे चन्द्रमामा पुगे पनि धर्तीमा कसरी बस्ने भन्ने जानेकै रहेनछन्।

अतिक्रमित पोखरी कसले मुक्त गर्ने ?
सडक बनाउने क्रममा राज्यले जनकपुरको ऐतिहासिक गोरधोइ पोखरीलाई अतिक्रमण गरेकोप्रति उनको दुखमनाउ छ। उनी भन्छन्, ‘पोखरी भरेर रोड बनाइएको छ, जसको हामीले विरोध गरेका थियौ तर राज्यले संरक्षण गर्नुको साटो अतिक्रमण गर्यो, यो राम्रो काम होइन।’

अभियानी यादवका अनुसार जनकपुरमा वास्तवमा ७२ कुण्ड (पोखरी)हरु थिए। जसमध्ये मध्ये थुप्रै कुण्डहरु अतिक्रमणमा परेको छ। जनकसरोवर, कपालमोचिनी लगायतको एक दर्जन पोखरीहरु अतिक्रमणको चपेटमा परेको छ। १२ वटाभन्दा बढी पोखरी अतिक्रमित रहेको अवस्था छ।

उनी आक्रोश व्यक्त गर्दै भन्छन्, जनकपुरस्थित वकिलटोल वडा नं २ मा रहेको जनकसरोवर पोखरी पुरेर स्थानीय गुठीको मिलोमतोमा अतिक्रमण भइरहेको अवस्था छ। जनकपुरको अतिक्रमित सबै पोखरी गुठीको मिलोमतोमा अतिक्रमणमा परेको छ। स्थानीय सरकारको कमीकमजोरीको कारण धार्मिक सम्पत्तिहरु अतिक्रमणको चपेटमा पर्दै  गएको छ। स्थानीय सरकारले ध्यान पुर्याउनुपर्ने आवश्यकता छ।’ यादव स्वयं पनि मधेस प्रदेश सरकारका प्रदेश सभा सदस्य हुन्। उनी जसपा नेपालमा आवद्ध छन्।

अभियानले सृजना गरेको रोजगार
अभियानी यादव सुनउँछन्, ‘गंगा आरतीमा पाँच जना पूजारी र सफाइ कर्मचारी लगायत ११ जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन्। गंगा आरती हेर्नको लागि बाहिरबाट धार्मिक प्रर्यटनको आगमन बढेको छ जसले होटेल व्यवसायसमेत बढेको छ। साँझदेखि रातीसम्म मान्छेको भीड लाग्ने गर्छ जसले गर्दा स्थानीय होटल, चिया पसल, पान पसललगायतको व्यापार बढेको छ।

मिथिलाको संस्कृति कति समृद्ध छ भन्ने परिचय विश्वभरिमा विस्तारै फैलिँदो छ यो सबल पक्ष हो। यसको उद्देश्य नै प्रकृति र संस्कृतिलाई बचाउने र जगेर्ना गर्ने हो यी दुबै भएपछि समृद्धिपनि हुँदै जानेमा म ढुक्क छु।’ हिस्टोरिकल जनकपुरका अहिलका अध्यक्ष अधिवक्ता राजकुमार महासेठ रहेका छन्। नेपाल समय

  • २७ श्रावण २०८०, शनिबार प्रकाशित

  • Nabintech