११ बैशाख २०८२, बिहीबार

तटबन्ध बगाउँदा बाँकेमा दुई गाउँपालिकाका सात गाउँ उच्च जोखिममा
  • न्युज मानसराेवर

बाँके\ बाँकेमा राप्ती नदीले राप्तीसोनारीको खल्ला झगडियाको तटबन्ध बगाएर कटान तीव्र बनाउँदै गएपछि जिल्लाको दुई पालिकाका सात गाउँ उच्च जोखिममा छन्।

केहीदिन यता भएका निरन्तर वर्षाले गर्दा राप्ती नदीमा आएको बाढीले खल्ला झगडियाको अलपत्र तटबन्ध बगाउँदा राप्ती सोनारी र नरैनापुर गाउँपालिकाका सात गाउँ डुबानको जोखिममा परेका हुन्।

गत वर्ष नदीले बगाएको सो तटबन्ध एक महिना अघि निर्माण सुरु गरिए पनि ढुङ्गाको अभाव देखाएर बीचमै काम रोकिएकोले सो अधुरो तटबन्ध नदीले बगाएपछि तटीय क्षेत्रका गाउँबस्तीमा पानी पस्न थालेको छ।

राप्तीसोनारी खल्लाझगडियाका अरुण यादवले आधा अधुरा छोडिएको तटबन्ध राप्ती नदीले बगाएर फालेपछि यस क्षेत्रका सात वटा गाउँ डुबानको उच्च जोखिममा छन्।

राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका देउपुरा, पिप्रहवा, खल्ला झगडिया, गेदुवा, गङ्गापुर, सोनवर्षा खुदरबेटवा, कडुवालगायतका बस्तीमा बाढीको अत्यधिक जोखिम बढेको छ।  राप्तीनदी तटका बस्ती र उर्वर भूमि जोगाउन बर्सेनि गरिँदै आएको तटबन्ध बाढीले हरेक वर्ष बगाउने गरेकोले तटीय क्षेत्रका गाउँहरू जोखिममा परेको स्थानीयको भनाइ छ।

जनताको तटबन्ध कार्यक्रमले बाँकेमा नदी नियन्त्रणका लागि आर्थिक वर्ष २०७८/७९ मा १४ करोड र २०७९/८० मा साढे ६ करोड रुपियाँ खर्च गरेको देखिएको छ।   गत वर्ष आएको बाढीले खल्लाझगडियामा निर्माण गरिएको तटबन्ध र सडक भत्काएको थियो। सो पुननिर्माणका लागि पटक पटक सम्बन्धित निकायमा हारगुहार गरिएपनि यस वर्ष पुरा निर्माण हुननसकेको अधुरो तटबन्धलाई अहिले फेरि बगाएपछि गाउँबस्तीहरु जोखिममा परेको स्थानीयले बताएका छन्।

  • १० भाद्र २०८०, आईतवार प्रकाशित

  • Nabintech