बाँके\कोहलपुरमा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोतकेन्द्रले १६औं राष्ट्रिय पुस्तकालय दिवस तथा १९औ साधारण सभा सम्पन्न गरेको छ । “पुस्तौं पुस्तका लागि पुस्तकालय” भन्ने नारा सहित नेपाल सरकारले हरेक वर्ष भाद्र १५ गते मनाउँदै आएको राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधी सभा सदस्य तथा नेपाली काँग्रेसका केन्द्रिय सहमहामन्त्री किशोर सिंह राठौरले पुस्तकालयको महत्वबारे चर्चा गरे ।
कार्यक्रमका प्रमुख अथिती रहेका संघीय साँसद राठौरले पुस्तकालयले विद्यार्थी वर्गमात्र नभई आम नागरिकको पहुँच बढाउनुपर्नेमा जोड दिए । उनले हरेक व्यक्ति अनुशासनको दायरमा रहनुपर्ने बताउँदै ज्ञानले व्यक्तिमा अनुशासन कायम हुने बताए ।
सुविधा सम्पन्न भौतिक पुर्वाधार सहितको पुस्तकालय कोहलपुरको मात्र नभई पश्चिम क्षेत्रकै गौरवका रुपमा रहेकाले तिनै तहका सरकारले विशेष प्राथमिकतामा राख्न आवश्यक रहेको उनको धारणा थियो ।
राठौरले पुस्तकालयको विकासमा आफुले पुस्तकालय लक्षित कार्यक्रमहरु कार्यान्वयका लागि आवश्यक पहल तथा समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिबद्वता व्यक्त गरे ।पुस्तकालयका अध्यक्ष चेतकान्त भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य सञ्जु कुमारी चौधरी, कोहलपुर नगरपालिका उप प्रमुख संगीता सुवेदी, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य महानन्द ढकाल, कोहलुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेल, पुस्तकायका पूर्व अध्यक्ष तथा स्व। हरिभक्त पौडेल स्मृती अक्षयकोष संरक्षक जयश्वर पौडेलल लगाएतले सम्बोधन गरेका थिए ।
दिवसकै अबसर पारेर विहान रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । रक्तदान कार्यक्रममा ७६ पिन्ट रगत संकलन भएको पुस्तकालयले जनाएको छ ।
राष्ट्रिय पुस्तकालय दिवसको अबसरमा सम्पन्न सप्ताहव्यवापी कार्यक्रम अन्तर्गत मा.वि. तह अन्तर्गतको वक्तृत्वकला प्रतियोगितामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । प्रतियोगितामा जीवन ज्योती मा.वि.मा अध्ययनरत छात्रा श्रिद्धी गौतम प्रथम, ग्रिन पिस मा.वि.मा अध्ययनरत छात्र आयुष पोख्रेल द्वितिय, डाइनामिक मा.वि.मा अध्ययनरत कविता जैसी तृतीय र नमूना मा.वि.मा अध्ययनरत छात्र सोमना देवकोटा र बागेश्वरी मा.वि.मा अध्ययनरत छात्रा श्रदा बस्नेतले सान्त्वना स्थान हासिल गरेका थिए ।
यसै गरी यस वर्षको स्व. हरिभक्त पौडेल स्मृती अक्षयकोषबाट समाजसेवी बलराम शर्मा सम्मानित भएका छन् । दिवसको अबसरमा पुस्तकालयले हरेक वर्ष नियममित पाठकलाई गर्ने सम्मानबाट लक्ष्मण आचार्य सम्मानित भएका छन् ।