८ बैशाख २०८२, सोमबार

३० किलो चित्तलको मासुसहित एक पक्राउ
  • न्युज मानसराेवर

बाँके\बाँकेको राप्तीसोनारी गाउँपालिकाबाट प्रहरीले ३० किलो जङ्गली चित्तलको मासुसहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले इलाका प्रहरी कार्यालय बनकट्टीबाट चेकजाँचमा खटिएको टोलीले राप्तीसोनारीको फत्तेपुरबाट मासुसहित पक्राउ गरेको हो ।

नेपालगन्ज जाँदै गरेको भे १ ह ३९०८ नम्बरको भाडाको अटोमा राखेर लैजाँदै गरिएको अवस्थामा ३० किलो चित्तलको मासुसहित अटो र चालकलाई पक्राउ गरेको डाँगीले जानकारी गराएका छन। उनले  अटोको डिक्कीमा लुकाइछिपाई नेपालगन्ज लैजाँदै गरेको अवस्थामा राप्तीसोनारी –६ का अटोचालक हरि परियारलाई मासुसहित पक्राउ गरेर सो बारेमा अनुसन्धान भइरहेको बताए ।

डिएसपी डाँगीका अनुसार पक्राउ परेका चालक परियारसहित बरामद गरिएको चित्तलको मासुलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय बाँकेमा पठाइएको छ । जिल्ला वनसँग मिलेर प्रहरीले सो बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यता, डिभिजन वन कार्यालय बाँकेका निमित्त प्रमुख वन अधिकृत गणेश खड्काले प्रहरीले मासुसहित परियारलाई वनमा बुझाएको जनाउँदै बहुमूल्य जनावर मार्ने काममा सक्रियको बारेमा थप अनुसन्धान भइरहेको उल्लेख गरे । उनले मासुसहित पक्राउ परेका परियारको घटनामा अनुसन्धान अधिकृत तोकेर अनुसन्धान सुरु गरिएको बताएका छन । परियारलाई वन्यजन्तु ऐनअनुसार मुद्दा चलाइने डिभिजन वन कार्यालयले जनाएको छ ।

सो कार्यालयका अनुसार पक्राउ परेका परियारले बरामद गरिएको मासु कहाँबाट ल्याइएको र कहाँ लैजान थालेको हो सोबारेमा अझै केही खुलाएका छैनन् । तर, सो बारेमा सबै जानकारी हासिल गरिने र बहुमूल्य वन्यजन्तु मार्ने विरुद्ध कडा रूपमा प्रस्तुत हुने डिभिजन वन कार्यालय बाँकेले जनाएको छ ।

सो घटनामा संलग्न परियारलाई छुटाउन राप्तीसोनारीका केही स्थानीय नेताहरूले डिभिजन वन कार्यालयलाई दबाब दिइरहेको जनाइएको छ । राप्तीसोनारी गाउँपालिका बाँके राष्ट्रिय निकुञ्जकै छेउमा रहेकाले सो निकुञ्ज र वरिपरिको क्षेत्रमा चोरी सिकारी गरेर वन्यजन्तुका बहुमूल्य अङ्ग र मासु ओसारपसार गर्ने कार्य विगतबाटै हुँदै आएको स्थानीयले जनाएको छ ।

  • १७ भाद्र २०८०, आईतवार प्रकाशित

  • Nabintech