११ बैशाख २०८२, बिहीबार

अस्पतालमा थालेसेमियाका बिरामीको चाप बढ्दो
  • न्युज मानसराेवर

बाँके\पश्चिम नेपालको बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुरमा फैलिंदैगएको थालेसेमिया रोग थारु समुदायका बालबालिकामा बढी देखा परिरहेको चिकित्सकहरूले जनाएका छन् । अहिले अस्पतालमा सो रोगका बिरामीको चाप बढेको अस्पतालको भनाइ छ ।

पछिल्लो समयमा थालेसेमिया रोगबाट पीडित बालबालिका उपचारका लागि नेपालगन्जस्थित भेरी अस्पतालमा आउनेक्रम ह्वात्तै बढेको अस्पतालले जनाएको छ । भेरी अस्पतालका सूचना अधिकारी डा। सङ्केतकुमार रिसालले महिनामा १५ देखि २० जना थालेसेमियाबाट पीडित बालबालिका उपचारका लागि अस्पताल पुग्नेगरेको बताए ।

उनले बाँकेलगायत विभिन्न जिल्लामा सिकलसेल र थालेसेमियाबारे जनचेतना फैलाउने र रगत परीक्षण गर्ने कार्य भइरहेकाले पनि बिरामी फेला पर्दैगएको बताएका छन।

डा। रिसालले सिकलसेलजस्तै थालेसेमिया पनि वंशाणुगत रोग भएकाले यसको रोकथाम र नियन्त्रणका लागि पनि विवाहपूर्व नै ध्यान दिएर रगत परीक्षण गराएर रोग नभएकासँग विवाह गरेमा मात्र नियन्त्रण सहज हुने बताए ।

सिकलसेल र थालेसेमिया रोगको उपचारको स्रोत व्यक्तिका रूपमा रहनुभएका भेरी अस्पतालका मेडिसिन विभाग प्रमुख डा। राजन पाण्डेले थालेसेमिया रोगका बिरामीमा ८० प्रतिशत थारु समुदायका बालबालिका भेटिएको उल्लेख गरेका छन।

उनले वंशाणुगत रोगको रूपमा रहेको थालासेमिया ८० प्रतिशत तारु समुदायका बालबालिकामा र २० प्रतिशत अन्य समुदायका बालबालिकामा भेटिएको जानकारी गराए ।

डा। पाण्डेका अनुसार थालेसेमिया सिकलसेल एनिमियाजस्तै आमा बुवाबाट बालबालिकामा सर्ने रोग भएकोले यसबाट सन्तानलाई जोगाउन विवाह गर्नु अगावै रगत परीक्षण गराएर विवाह गर्न सुझाव दिए ।

उनले भने , “थालेसेमिया भएका महिला र पुरुषबिच विवाह नगर्दा यो रोग बच्चामा सर्दैन । एक जनामा थालेसेमिया छ भने उसले थालेसेमिया नभएका व्यक्तिसँग विवाह गर्नुपर्छ । बच्चामा थालेसेमिया सरिसकेको छ भने उसको विवाह थालेसेमिया नभएकासँग गर्नुपर्छ ।”

स्वास्थ्य कार्यालय बाँकेले जिल्लामा थालेसेमियाका बिरामी पत्ता लगाउने तथा समुदायमा सचेतना जगाउने काम गत वर्षबाटै निरन्तर भइरहेको जनाएको छ । कार्यालयका अनुसार जिल्लाको तारु बाहुल्य गाउँबस्तीमा सो काम जारी छ ।

  • १४ आश्विन २०८०, आईतवार प्रकाशित

  • Nabintech