१२ श्रावण २०८१, शनिबार

बाँकेका किसान आधुनिक कृषि उपकरणतर्फ आकर्षित
  • न्युज मानसराेवर

बाँके\गाउँघरमा खेताला राख्दा खर्च बढी हुने र समय पनि बढी लाग्ने हुँदा बाँकेका किसान आधुनिक कृषि उपकरणतर्फ बढी आकर्षित हुन थालेका छन्।  यस पटक जिल्लाका धेरै किसानले धानका लागि थ्रेसर मेसिनको प्रयोग गरेकोले कम खर्चमा छिटो छरितो काम भएको उनीहरूले जनाएका छन्।

डुडुवा गाउँपालिका ६ भंघोटना गाउँका कृषक वंशीलाल मौर्यले अहिले गाउँघरमा काम गर्ने नभेटिँदा र कामदार लगाएर काम गर्दा समय र खर्च दुवै बढी लाग्ने हुँदा आधुनिक कृषि उपकरणतर्फ आकर्षण बढ्दै गएको बताए । उनले यस पटक थ्रेसर मेसिनको प्रयोग गरेर धान दाउने काम गरेकोले छिटो र सस्तोमा भएको बताउनुभयो। मौर्यले पाकेर काटिएको धान दाइँका लागि यस वर्ष डुडुवाका अधिकांश किसानले थ्रेसर मेसिनको प्रयोग गरेको बताए ।

सोही कारणले छिटो धान बजारमा उपलब्ध भएको पनि किसानको भनाइ छ। यसैगरी बाँके कोहलपुर ७ का किसान जयवीर थापाले गाउँघरमा पछिल्लो समय जनशक्तिको अभाव भएसँगै कामदार पाउनै समस्या हुन थालेको र पाए पनि निकै खर्चिलो भएकोले अधिकांश किसानको पहिलो रोजाइ आधुनिक कृषि उपकरण बनिरहेको बताए ।

यो वर्ष गाउँघरमा थ्रेसर मेसिनको माग बढ्दै गएपछि व्यवसायीक रूपमा थ्रेसर मेसिन राखेर भाडामा पनि चलाउन थालिएको छ। भाडामा दिनका लागि थ्रेसर मेसिन राख्नु भएका नेपालगन्जको हिरमिनियाका लल्लनप्रसाद पाण्डेले थ्रेसर मेसिनले काम गर्दा पैसा र समयको बचत हुने हुँदा यसको लोकप्रियता बढ्दै गएकोले यस वर्ष आफ्नो मेसिन धेरै प्रयोगमा आएको बताए । उनले आगामी वर्ष एउटा थप मेसिन पनि किनेर ल्याउने योजना रहेको बताए ।

पाण्डेले प्रति १ क्विन्टल धान थ्रेसरिङ गरेबापत १० किलो धान लिँदै आएको जनाउँदै बाँकेका किसानमा थ्रेसर मेसिनप्रति आकर्षण यस वर्ष धेरै बढेको पाइएको बताए । उता कृषि ज्ञान केन्द्र नेपालगन्जले पनि आधुनिक प्रविधिको विकासले किसानलाई सजिलो बनाएपछि जिल्लाका किसानलाई आधुनिक उपकरण र प्रविधिको प्रयोगमा लाग्न आग्रह गर्दै आएको र त्यसका लागि सहयोगसमेत गर्दै आएको जनाएको छ।

कृषि ज्ञान केन्द्र नेपालगन्जका प्रमुख सकिल अहमद खाँले गाउँघरमा गोरु पाइन छाडेको, जनशक्ति कम हुँदै गएको र कामदारको अभाव रहेकोले कृषिका आधुनिक उपकरणको माग बढ्दै गएको बताए । गोखापत्र

  • १७ मंसिर २०८०, आईतवार प्रकाशित

  • Nabintech