१२ श्रावण २०८१, शनिबार

सडक निर्माण सुरु गराउन समिति निर्माण
  • न्युज मानसराेवर

बाँके\ बाँकेको कोहलपुर चप्परगौडीबाट खड्कवार हुँदै सल्यानको घुइयाबारी जोड्ने अन्तरप्रदेश सडक निर्माणका लागि दवाव सिर्जना गर्न समन्वय र सहकार्य समिति गठन गरिएको छ ।

कोहलपुरको चप्परगौंडीमा भएको भेलाले सो सडक निर्माणका लागि बाँके राष्ट्रिय निकुञ्जसँग समन्वय र सहकार्य गर्न वडा १२ का वडा अध्यक्ष विरेन्द्रकुमार शाहको अध्यक्षतामा १२ सदस्यीय समन्वय समिति गठन गरिएको हो ।

समितिका सदस्यमा नेकपा (एमाले) का क्षेत्रीय संयोजक बलराम भट्टराई, वडा १३ का डम्बर खड्का, नेकपा (माओवादी केन्द्र) का वडा अध्यक्ष निरकबहादुर शाही, राष्ट्रिय प्रजातन्त्र पार्टी कोहलपुरका सल्लाहकार चक्रबहादुर केसी, एमालेका वडा अध्यक्ष रुपसिंह डाँगी, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि मेनबहादुर देवकोटा, कोहलपुर मध्यवर्ती क्षेत्र विकास समितिका अध्यक्ष ओमप्रकाश वली, नेकपा (एस) की जिल्ला कमिटि सचिवालय सदस्य नारायणी वली, नेपाली काँग्रेस १२ का वडा सभापति केशकुमारी वली र राजमोका वडा अध्यक्ष रुद्रनाथ आचार्य रहेका छन।

चप्परगौडीबाट खड्कवार–घुइँयाबारी हुँदै सल्यान जोड्ने अन्तरप्रदेश मार्ग निर्माणमा बाँके राष्ट्रिय निकुञ्जले अवरोध गरेको स्थानीयको भनाइ छ । कोहलपुर नगरपालिकाको वडा १२ र १३ ले संयुक्त रुपमा आयोजना गरेको भेलामा बोल्ने अधिकांश व्यक्तिले निकुञ्जले अवरोध गरेको भन्दै विरोध जनाएका थिए । चप्परगौडीदेखि खड्कवार थारुगाउँसम्म ४ खण्डमा विभाजन गरी बाटोको टेन्डर सम्झौता भएको छ ।

चारवटा निर्माण कम्पनीसँग चप्परगौडीदेखि खड्कवार थारु गाउँसम्म सडक निर्माण गर्न ८ करोड ५० लाखमा सम्झौता भएको कोहलपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख तथा वडा १२ का वडा अध्यक्ष विरेन्द्रकुमार शाहले जानकारी दिए ।

सडक निर्माणपछि बाँके र सल्यानका जनताको आर्थिक जीवनस्तर उठाउन कोशेढुंगा सावित हुने हुँदा निर्माण आवश्यक रहेको लुम्बिनी प्रदेशसभा सदस्य सञ्जुकुमारी चौधरीले बताउनुभयो । उहाँले टेण्डर पक्रियाबाट छनौट भएका निर्माण व्यवसायीलाई विभिन्न बहानामा काममा अवरोध हुँदैआएको छ ।

  • २३ मंसिर २०८०, शनिबार प्रकाशित

  • Nabintech