९ बैशाख २०८२, मंगलवार

बजार अनुगमनलाई तिब्र बनाइदै बाँकेमा
  • न्युज मानसराेवर

बाँके\बाँकेमा बजार अनुगमनलाई तिब्र बनाइएसंगै उपभोक्ता ठग्ने व्यापारी कारबाहीमा पर्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेको नेतृत्वमा बजार अनुगमनलाई तिब्रता दिएसंगै उपभोक्ता ठगी गर्ने व्यापारी धमाधम कारबाहीमा पर्न थालेका हुन ।

प्रशासनले जिल्लाका विभिन्न क्षेत्रका बजारमा दैनिक रुपमा सशक्त छड्के अनुगमन गर्दै आएको छ । अनुगमनका क्रममा उपभोक्ताको हित विपरीत कार्य गरी उपभोक्ता ठगी गर्दै आएका व्यापारीहरुलाई कानुन बमोजिम कारबाही पनि गरिरहेको छ ।

यही क्रममा सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङ नेतृत्वको सरोकारवाला निकायसहितको अनुगमन टोलीले नेपालगञ्जका विभिन्न माछा तथा मासु विक्री गर्ने पसलहरुको अनुगमन गरेको छ ।जमुनाह र धम्बोझी बजारक्षेत्र आसपासका विभिन्न नौ वटा माछा तथा मासु पसल अनुगमन गर्दा ६ वटा पसलले उपभोक्तालाई ठगी गरेको पाइएपछि तिनीहरुलाई कारबाही गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिएका छन।

कारबाही गरिएकाहरुमा मो।सरिफ फ्रेश हाउसले बिल बिजक बिना कारोबार गरेको पाइएकाले तत्काल कारबाहीस्वरुप २० हजार रुपियाँ जरीवानाका साथै पसलबाट खसीको मासु ७ किलो र कुखुराको मासु ३ किलो ८ ग्राम खान अयोग्य रहेको पाइएकाले जफत गरी नष्ट गरिएको छ ।यस्तै बिस्मिल्लाह फ्रेस हाउसले पनि बिल बिजक बिना कारोबार गरेको पाइएकाले १० हजार रुपियाँ जरिवाना गरिएको छ । सुफियाना फ्रेस हाउसबाट मङ्गुर माछा ३ किलो, कुखुराको मासु २ किलो ५ ग्राम र अन्य जातको माछा २९ किलो खान अयोग्य पाइएकाले जफत गरी नष्ट गरिएको छ भने बिल बिजक बिना कारोबार गरेको पाइएकाले ५ हजार रुपियाँ जरीवाना गरी कारबाही गरिएको छ ।

हाम्रो फ्रेस हाउसबाट पनि खसीको मासु ११ किलो र कुखुराको मासु ३ किलो ५ ग्राम खान अयोग्य रहेको पाइएकाले जफत गरि नष्ट गरिएको तथा बिल बिजक बिना कारोबार गरेकाले २० हजार रुपियाँ जरिवाना गरिएको छ ।

त्यसैगरी जमुनाह बजार क्षेत्रमा खुल्ला रुपमा सडक पेटीमा माछा बेचिरहेका दुई जना विक्रेताले अनुगमन टोलीलाई देखेर भागी फरार थिए । विक्री स्थलबाट ३५ किलो माछा बरामद गरी नष्ट गरिएको थियो ।सो स्थानबाट ८ हजार २ सय ८० रुपियाँ नगद, नोकिया मोबाइल एक थान, माछा काट्ने औजार र ढक तराजु दुई थान बरामद गरी मुचुल्कासहित स्थानीय जमुनाह प्रहरीलाई बुझाइएको प्रजिअ पोखरेलले जानकारी दिए।

  • ६ पुष २०८०, शुक्रबार प्रकाशित

  • Nabintech