५ बैशाख २०८२, शुक्रबार

बालविद्याले उचाल्यो उपाधि
  • न्युज मानसराेवर

कोहलपुर\कोहलपुरमा मंगलबारदेखि सुरु भएको सातौं अन्तर मावि मेयर कप तथा १६ औं पालिका स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड खेलकुद छनौट प्रतियोगितामा बालविद्या माध्यामिक विद्यालयले उपाधि उचालेको छ ।

बालविद्या माध्यामिक विद्यालयले ८ स्वर्ण, २ रजत र ६ कास्य प्राप्त गरी अन्तर मावि मेयर कप तथा १६ औं पालिका स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड खेलकुद छनौट प्रतियोगिताको उपाधि उचालेको हो । यस्तै त्रिभुवन माध्यामिक विद्यालयले ८ स्वर्ण, १ रजत र ३ कास्य प्राप्त गरी द्धितीय भएको छ भने गोरखा यूनाईटेडले ६ स्वर्ण, १ रजत र ५ कास्य प्राप्त गरी तृतिय भएको छ ।

यस्तै एथ्लेटिक्सतर्फ छात्र प्रतिक सुनार र छात्रा तुलसा दमाई, भलिबल तर्फ छात्र सन्दिप रावत र छात्रा ग्रेष्णा चिलवाल र कवडीमा छात्र गणेश आले मगर र छात्रा सरिता बुढा उत्कृष्ट खेलाडीका रुपमा मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो । यस्तै कृष्ण माध्यामिक विद्यालयलाई अनुशासनका रुपमा मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो भने मार्च पासमा प्रथम वेस्टर्न माविलाई प्रमाण पत्र प्रदान गरिएको थियो । कोहलपुर खेलकुद विकास समितिको व्यवस्थापन र सञ्चालनमा भएको उक्त प्रतियोगिताको नगर प्रमुख प्रमुख पूर्ण प्रसाद आचार्यले समापन गरेका हुन् ।

समापन कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले उनले समापन समारोहलाई सम्वोधन गर्दै अन्तर मावि मेयर कपलाई थप व्यस्थित र परिस्कृत गर्दै लैजाने प्रतिबद्धता गरे । कोहलपुर नगरपालिकाको प्रतिष्ठासँग जोडिएको प्रतियोगिता भएकाले यसलाई व्यस्थिति र भव्य बनाउँदै लैजाने उनको भनाइ थियो । ‘पाठ्यक्रमको ज्ञानले मात्र विद्यार्थी पूर्ण हुन सक्दैन’ उनले भने, ‘अतिरिक्त ज्ञानको आवश्यक जरुरी हुन्छ ।’ ‘खेलकुद पनि अतिरिक्त क्रियाकलाप हो’ उनले थपे, ‘विद्यालयले पनि यसतर्फ ध्यान दिन आवश्यक छ ।’ आगामी संस्करणमा खेल विधालाई थप गरिने आचार्यले प्रतिबद्धता जनाए ।

गत वर्ष तीन वटा विधामा मात्रै प्रतियोगिता हुँदै आएकोमा यो पटक मार्सलआर्ट विधा थप गरिएको थियो । ‘भलिबल, दौड र कपडी हुँदै आएकोमा यो पटकदेखि मार्सलआर्ट विधा पनि थपियो’, उनले भने, ‘आगामी संस्करणमा अरु विधा पनि थपिने छ ।’ प्रतियोगितामा कक्षा ६, ७ र ८ विद्यार्थीहरुलाई पनि समाहित गर्ने योजनाबारे परामर्श गरिने बताए । उनले समग्रमा प्रतियोगिता सव्य र भव्य भएपनि केही विद्यालयले फर्जि खेलाडी प्रतिस्पर्धीकारुपमा खेलाएको प्रति असन्तुष्टि जनाए ।

‘६ वटा विद्यालयले फर्जी खेलाडी खेलाएको भनिएको छ, उनीहरुमाथि छानविन भइरहेको छ’, उनले भने, दोषी प्रमाणित भए उनीहरुलाई अर्को पटकको संस्करणमा भाग लिन नपाउने गरी कारवाही गरिन्छ ।’ पुरस्कार जित्नका लागि फर्जी खेलाडी खेलाउने विद्यालय, शिक्षक, प्रशिक्षक समेतलाई छानविन गरेर कारवाही गरिने आचार्यले बताए ।

‘खेलक्षेत्रमा सम्भावना बोकेका र प्रतिस्पर्धामा विजयी हुने सपना बोकेका खेलाडी विद्यार्थीमाथि तेजोवध गर्ने कार्य सह्य छैन’, आचार्यले भने, ‘खेलाडी विद्यार्थीलाई अझैपनि कसैमाथि शंका लाग्छ भने आइतवारसम्म शिक्षा शाखामा निवेदन दिनुहोस्, फर्जी भेटिए पदक खोसिन्छ र संलग्नलाई कारवाही हुन्छ ।’ मेडलधारी खेलाडीहरुलाई जिल्लामा हुने पालिका स्तरीय प्रतियोगिताको तयारीमा जुट्न आग्रह समेत गरेका छन् ।

‘मेयर कपसम्म ल्याउन विद्यालयको भूमिका हो, मेयर कपमा छनौट भएका खेलाडीहरुको व्यवस्थापन गर्ने जिम्मा पालिकाको हो,’ खेलाडीहरुको व्यवस्थापनतर्फ ध्यान दिन नगर खेलकुद विकास समितिलाई निर्देशन दिन्छु ।’ आचार्यले भने । समापन समारोहलाई सम्वोधन गर्दै नगर उपप्रमुख संगिता सुवेदीले खेलकुदप्रति विद्यार्थीको उत्साहको प्रशंसा गरिन् ।

खेल क्षेत्रको विकासका लागि कोहलपुर नगरपालिकाले संस्थागतरुपमा सहयोग गर्ने उपमेयर सुवेदीले प्रतिबद्धता जनाइन् । उनले शिक्षासँगै खेलकुदका कार्यक्रमलाई पनि पालिकाले सँगसँगै अगाडि बढाएको उल्लेख गरिन् । यस्तै कोहलपुर नगर खेलकुद समितिका अध्यक्ष बुद्धिबहादुर थापाको अध्यक्षतामा भएको समापन कार्यक्रमको संचालन प्रतियोगिता संचालन समितिका सदस्य सचिव वीरेन्द्र मल्लले गरेका थिए ।

यस्तै मल्लका अनुसार प्रतियोगितामा ३६ माध्यामिक विद्यालयका १ हजार ३ सय ६७ जना खेलाडी (छात्रछात्रा)हरुले प्रतियोगितामा सहभागि भएको आयोजक समितिका सदस्य सचिव मल्लले बताए । विजयी खेलाडीहरुलाई नगर प्रमुख, नगर उपप्रमुख, वडाअध्यक्ष, खेल प्रशिक्षक लगायतले मेडल तथा प्रमाणपत्र र पुरस्कार वितरण गरेका थिए । कोहलपुर नगरपालिका २ तेह्र विघा खेलमैदानमा भएको प्रतियोगितामा जनप्रतिनिधि, खेलकुदकर्मी, प्रहरी प्रशासन, खेलप्रेमी लगायतको उपस्थिति रहेको थियो ।

  • १३ पुष २०८०, शुक्रबार प्रकाशित

  • Nabintech