काठमाडौं: एमालेका राष्ट्रियसभा संसदीय दलका नेता देवेन्द्र दाहालले सत्ताधारी गठबन्धनको अकमण्र्यताका कारण वर्तमान व्यवस्थालाई कमजोर बनाउने प्रयास भइरहेको आरोप लगाउनु भएको छ ।
राष्ट्रिय सभाको सोमबारको बैठकमा बोल्दै उहाँले सरकारबाटै व्यवस्थामाथि आक्रमण प्रयास भइरहेको भन्दै रोष प्रकट गर्नुभएको हो ।
सांसद दाहालले संसदको महासचिव नियुक्तिका विषयमा राष्ट्रपति रामचन्द्र पौडेलले चलखेल गरेको समेत आरोप लगाउनुभयो ।
महासचिव नियुक्तिको विषय राष्ट्रपतिको कार्यालयमा पुगेर रोकिएको छ । उहाँले यस विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले भन्नुभयो, ‘अधिवेशन सुरु भइसक्दा समेत कार्यवाहक महासचिवबाट काम चलाउनुपर्ने स्थिति कसरी सिर्जना भयो ? हामीले कस्तो राष्ट्रपति पायौं ? राष्ट्रपतिज्यु तपाईको अध्ययन चिन्तन बढी भएन र ? संसदको महासचिवमा तपाईको चलखेल किन ?’ राष्ट्रपति सम्मानित पद भएका कारण यसको गरिमालाई कायम राख्न समेत सांसद दाहालले आग्रह गर्नुभयो ।