२७ बैशाख २०८१, बिहीबार

सरस्वती पूजाको अर्थ बोधमा समस्या
  • न्युज मानसराेवर

सरस्वती मया दृष्ट्वा वीणा पुस्तक धारिणी 

हंंश वाहिनी संयुक्त विद्या दानम् करोतु मे

सरस्वतीको वाहन हाँस रहेको चित्रहरू र तस्बिरमा देखिन्छ । यो अत्यन्तै महत्त्वपूर्ण विषय हो । हाँसले एउटै भाँडामा मिसाएर राखेको दूध र पानी  छुट्टाउने क्षमता राख्छ । गुण र अवगुण, सकार र नकार,इमान र बेइमान, छुट्टाउने क्षमता राख्नु ठुलो कुरा हो ।  त्यसैले सरस्वतीको वाहन हाँस राखिएको हो । यसको अर्थ शिक्षा क्षेत्रका सबै मानिस र सरस्वतीका भक्तहरू आर्थिक र नैतिक आदि दृष्टिकोणले अत्यन्त विवेकी, इमानदार, स्वच्छ छविका हुनु पर्छ भन्न खोजेको हो । विद्यालयमा लगानी गर्ने हुन् कि सञ्चालक समितिका पदाधिकारी र सदस्य हुन,् शिक्षक र शिक्षिका हुन् । सबैमा सबै खालको इमानदारिता हुनुपर्छ ।

वास्तवमा पढेको शिक्षित वा विद्वान् मानिस नै बेइमान भयो भने समाज कहिल्यै सद्दे हुँदैन । सोझो, सिधा, मन, बचन र कर्मले मात्र  सच्चा सरस्वती भक्त भइन्छ । त्यसैले पुर्खाहरूले सरस्वतीको वाहन हाँस राखेको हुनुपर्छ ।   सरस्वतीको वाहन छट्टु स्याल, चोर बिरालो ,बाघ,काग  किन नराखेको होला । हाम्रा पुर्खाहरू पनि धेरै ज्ञानी रहेछन् भन्ने थाहा हुन्छ । त्यसैले सरस्वती पूजा गर्नु भनेको देखाउन मात्र गरिने र  ढोँगी आडम्बरी पूजा होइन । यो त  पढे अनुसार व्यवहारका नै  आफ्नो जीवनमा लागु गरिने विषय हो । त्यसैले हरेक विद्यालय परिवारले यसलाई राम्ररी ध्यान दिएर  विद्यालय सञ्चालन गर्नुपर्छ । विद्यालय जस्तो र सरस्वतीको मन्दिरमा जथाभाबी गर्नु हुन्न र जथाभाबी बोल्नु र व्यवहार पनि गर्नु हुन्न । यस्तो कामले सरस्वतीको मन्दिर अपवित्र हुन्छ । बडाले जे ग¥यो काम हुन्छ, त्यो सर्वसम्मत भनेझैँ अरूहरू आफ्ना मातहतकाले पनि त्यही सिक्छन् । यस मन्दिरमा कसैलाई काखा, पाखा र भेदभाव गरिनु हुन्न । जसकसैको योग्यता, क्षमता,कर्तव्य परायणता  र इमानदारिताको कदर गर्नुपर्छ ।

सरस्वतीले. लगाउने लुगा पनि सेतो, सप्फा र टकटक देखिन्छ । यसको मतलब सरस्वतीको मन्दिरका सबैमा स्वच्छता हुनुपर्छ भनिएको हो ।  मन र तन दुवैमा कालोमैलो, कपटी  भावना हुनुहुँदैन भन्न खोजेको हो । मानिस भन्नु अझ मन दिल र दिमाग हो । जब मन धमिलो हुन्छ, उसले गर्ने सबै काम धमिला र मैला हुन्छन् । मन चङ्गा घरमा गङ्गा त्यसै भनेको होइन । पवित्र मनले सबै मिलेर काम गर्ने हो भने सरस्वतीका सबै मन्दिरहरू  ज्ञान, ध्यान, धन र मनका  प्रभावशाली र समृद्ध हुन्छन् तर मेरो  र म भन्ने होइन, हाम्रो भन्ने भावना हुनुपर्छ । यसै कारण यस थुकी नदी भनिएको हो ।

सरस्वतीका हातमा किताब देखिन्छ । यसको अर्थ सबै ज्ञान र विज्ञान र तिनका सबै शिक्षाका विषयहरू सरस्वतीमा निहित छन् र तिनबाट आफूले चाहेको शिक्षा प्राप्त हुन्छ भनेको हो । तर सरस्वतीको पूजा मात्र गरेर भक्ति र स्तुति मात्र गरेर जान्ने भइँदैन । पढ्न मन नगरेर र नपढेर केबल देवीलाई भाकल गरेर मात्र परीक्षामा प्रथम भइन्न ।  मिहेनत नगरी कुनै पनि काममा सफल भइन्न । यस्ता कुरा विद्यालयका प्रअ,शिक्षक र शिक्षिकाहरूले अर्थ लगाएर बताउनु पर्छ नानीहरूलाई ।

अर्को सरस्वतीका हातको वीणाले कला,साहित्य,गीत, सङ्गीत नृत्य र नाट्य आदि जस्ता अनेक विषयको ज्ञानको कुरा झल्काउँछ ।  हाम्रा पुर्खा यस्ता विषयमा कति परसम्मको विषयका बारेमा जान्दा बुझ्दा रहेछन् तर हामी आजका धेरै जान्ने भन्नेहरू कति सम्म अज्ञानी रहेछौँ भन्ने हामीलाई नै थाहा छैन । विद्या भनेको अनन्त छ । कुनै विद्या शिक्षा र ज्ञान लिएर असल मानिस बन्न सकिन्छ र ज्ञानी र धनी बन्न सकिन्छ भन्ने कुरा हामीले अझै बुझेका छैनौँ कि ।  हामी आफ्ना नानीबाबुहरुलाई डाक्टर र इन्जिनियर मात्र बनाउन चाहन्छौँ ।

नानीबाबुहरूको के विषयमा रुचि छ भन्ने हामीलाई मतलब छैन । जवर्जस्ती पढ्न कर गछौँ अनि सबै बरबाद हुन्छ । त्यसैले विद्यालयका हर कुरा र विषय ज्ञान र शिक्षासित सम्बन्धित हुनुपर्छ भनेर हाम्रो बोर्डिङ स्कुलले यही माघ २७ गते शैक्षिक वनभोज गरेको थियो । यस स्कुलले सरस्वती पूजाका दिन पनि सरस्वतीको महिमा लगायत विषयमा शिक्षाविद् द्वय प्रा.डा.बद्री विशाल पोखरेल र डा. मोहन तुम्बाहाङले नेपाली र अङ्ग्रेजीमा विद्यार्थीहरूलाई प्रशिक्षित गराउने कार्यक्रम राखिएको छ । त्यसैले विद्यालय ख्यालख्यालको विषय होइन । विद्यालयमा लगानी गर्नु प्रिन्सिपल हुनु, शिक्षक शिक्षिका हुनु जस्ता कुराको ठुलो महत्त्व छ ।

यहाँ पैसालाई मात्र महत्त्व दिइन्न र दिनु पनि हुन्न । यसको मतलब काम अनुसार उचित दाम, तलब र सुविधा नदिई हुँदैन । तर मिहेनत गर्ने, विद्यार्थी सङ्ख्या बढाउने र  आय आर्जन पनि गर्ने अनि मात्र प्रतिफल खोज्नुपर्छ । भाँडै रित्तो भएपछि कसरी स्कुल सम्बद्ध हुन्छ । सरकारी होस् वा निजी वा प्राइभेट जहाँ पनि मिहेनत नगरी हुँदैन । विद्यालयमा लगानी गर्नेले पनि तुरुन्त आजको भोलि प्रतिफल खोज्ने होइन रहेछ र खोजे पनि पाइने रहेनछ । एक चिनियाँ उक्ति अनुसार विद्यालयमा गरेको लगानीको प्रतिफल १०० वर्षपछि मात्र आउँछ रे । मकैको खेती  लगाए पाँच महिनामा फाइदा पाइन्छ । त्यसैले विद्यालयमा गरेको लगानी त्यति छिटो पाइँदैन तर इमानदार रूपमा सञ्चालन गर्ने हो भने सधैँ आश मात्रै गरेर  बस्नु पनि पर्दैन ।

शिक्षाका बारेको विस्तृत ज्ञान नहुँदा म त पढ्दा सधैँ ब्याकबेन्चर थिएँ । कक्षाकोठाको अगाडि अगाडि बस्ने मुख्यमन्त्री भएनन् । तिनीहरू खाई जीविका गर्न मात्र जान्ने भए वा तिनले भात खान मात्रै पढेका रहेछन् भन्ने सम्मका स्तरहीन कुरा कोसी प्रदेशका मुख्यमन्त्रीले गलत बोलेछन् । तर तिनले व्याकबेन्चर पनि एक एक क्षमताका हुन्छन् । सबै विद्यार्थीमा  एक न एक क्षमता हुन्छ ।  डा. पोखरेलका अनुसार पिकासो नामका सुप्रसिद्ध कलाकार चित्रकार व्याकबेन्चर थिए । पढ्ने बेलामा कक्षामा बस्दा सरले पढाएकोमा पटक्क वास्ता नगर्ने,पछिल्लो बेन्चमा बसेर के के कोरिबस्ने गर्थे रे ।

घर परिवार र स्कुल नै हैरान भयो । उनलाई एउटा अलग कोठामा थुनेर पनि राखियो रे तर उनले कक्षामा शिक्षकले पढाइका कुरामा पटक्कै वास्ता गरेनन् रे । आखिर तिनी एक दिन संसारका अत्यन्त लोकप्रिय चित्रकार भए । उनका चित्र धेरै मूल्यमा विक्री भएका  थिए । त्यसैले सरस्वतीको पूजा अर्चना गर्नेहरूले विद्या भन्ने कुरा कति गहन र विस्तृत छ भन्ने कुरा पनि बुझ्नुपर्छ र हरेक विद्याको महत्त्व हुन्छ र आफ्ना नानीबाबुहरूको रुचि अनुसार पढ्न र बढ्न दिनु पर्छ । खाए खा नखाए घिच् गर्नु हुँदैन । राम्ररी बुझेर मात्र सरस्वतीको सही पूजा हुन्छ ।

लेखक इटहरी उपमहानगर पालिका वडा.नं. ४ स्थित हाम्रो इङ्लिस बोर्डिङ स्कुलकी सञ्चालक समितिकी उपाध्यक्ष हुनुहुन्छ ।    

  • २ फाल्गुन २०८०, बुधबार प्रकाशित

  • Nabintech