नेपालगञ्ज:नेपालगञ्ज–गुलरिया सडक खण्ड अन्तर्गत बाँकेको खजुरामा अलपत्र एक हजार ८०० मिटर सडक निर्माण सुरु भएको ६ वर्षसम्म पनि पूरा नभएपछि स्थानीय बासिन्दाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको ध्यानाकर्षण गराएका छन् ।
खजुराका अगुवा शिव श्रेष्ठले खजुरा सडकको काम छिटो सम्पन्न गर्न र पेडारी नालामा पक्की पुल निर्माण गर्न आग्रह गगर्दै श्रेष्ठले ‘यहाँ भएको ठेक्का रद्द गरी नयाँ ठेक्का भई काम सम्पन्न गरियोस् ।’
स्थानीयको ज्ञापनपत्र बुझेपछि मन्त्री ज्वालाले खजुरावासीको समस्या समग्र सरकारको समस्या रहेको बताउदै मन्त्री ज्वालाले ‘बाँकी काममा नयाँ ठेक्का दिएर हुन्छ वा हुलाकीमा जोडेर हुन्छ, सरकारले गम्भीरतापूर्वक काम गर्नेछ ।’ मन्त्री ज्वालाले धेरै समय अस्तव्यस्त हुन नदिने समेत बताए ।
सडक डिभिजन कार्यालय नेपालगञ्जका अनुसार २०७४ चैत २९ गते गजुरमुखी कन्स्ट्रक्सन कम्पनी प्रालि इलामले सडक निर्माण कार्य सुरु गरेको छ । बाँकेको खजुरा बजारमा एक हजार ८०० मिटर र बर्दियाको गुलरियामा दुई हजार २०० मिटर लम्बाइको सडक निर्माणका लागि २१ करोड ४९ लाख रुपियाँमा सम्झौता भएको हो ।
सम्झौता सुरु हुँदा २०७७ चैतमा सम्पन्न हुनुपर्ने थियो । निर्माण कम्पनीको मागका आधारमा तीन पटक म्याद थप भए पनि काम सन्तोषजनक अघि बढ्न नसकेको स्थानीयको गुनासो छ । दैनिक हर्जानामा पनि काम सम्पन्न नभएपछि सडक डिभिजन कार्यालयले ठेक्का तोडेर कालोसूचीमा राखेको छ । निर्माण कम्पनी अदालत पुगेको छ ।