११ मंसिर २०८१, मंगलवार

योग विज्ञान मानव जीवनका लागि महत्वपूर्ण: मन्त्री नमुना
  • न्युज मानसराेवर

नेपालगञ्ज: लुम्बिनी प्रदेशकी सहरी विकास मन्त्री कृष्णा केसी नमुनाले योग विज्ञान जीवनोपयोगी भएकाले हरेक नागरिकले योग गर्नुपर्ने बताएकी छिन् । योग समिति नेपालको साधारणसभा एवम् तेस्रो अधिवेशनको आज नेपालगञ्जमा उद्घाटन गर्दै मन्त्री नमुनाले अस्वस्थकर जीवनशैली बढ्दै गएको सन्दर्भमा हरेक नागरिकलाई योगमा जोड्न जरुरी रहेको बताइन् ।

योग विज्ञान मानव जीवनका लागि अत्यन्त महत्वपूर्ण भएको बताउँदै उनले स्वस्थ मनस्थिति, स्वस्थ विचार र शारीरिक तन्दुरुस्तीले मात्र सार्थक र सुन्दर जीवन बाँच्न सकिने उल्लेख गरिन् । स्वस्थ भए मात्र मानव क्रियाकलाप सही ढंगले अगाडि बढ्ने मन्त्री नमुनाको भनाई छ ।

योग समिति नेपालका अध्यक्ष योग गुरु गिरिराज शर्मा भट्टरार्ईको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा योग समितिमा आबद्ध विभिन्न व्यक्तित्वहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । योग समिति नेपालले योगको महत्व बुझाउँदै आम नागरिकलाई योग गर्न अभिप्रेरित गर्दै आएको छ ।

योग समिति नेपाल केन्द्रीय समितिको तेस्रो साधारण सभा एवं अधिवेशनले सर्व सहमत नयाँ कार्य समिति चयन गरेको छ । नेपालगञ्जमा शनिबार भएको अधिवेशनले योग गुरु गिरिराज भट्टराइलाई पुन अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । यसैगरि उपाध्यक्षमा निर्मला शाह र लोकमाया सुवेदी सुमित्रा लाई चयन गरेको छ भने सचिवमा चिरञ्जीवी ज्ञवाली, सहसचिवमा टंक पौडेल रहेका छन ।
अधिबेशनले कोषाध्यक्षमा अम्बिका कोइराला र सह कोषाध्यक्षमा मन्दिरा शर्मालाई निर्वाचित गरेको छ । सदस्यहरूमा झबिलाल शर्मा, प्रेम केसी, सविता शर्मा, दिपक थापा, मेघराज बराल, प्रमोद अग्रवाल, सुनिता पन्थी र वसन्त गौतम रहेका छन ।

साधारण सभामा मानवताका लागि योग भन्ने मूल मर्मलाई सफल पार्न पत्रकारीताको क्षेत्रबाट योगदान गरेको भन्दै यूथ टुडेका सम्पादक आलम खान, पत्रकार रुद्र सुबेदी र शुक्रऋषि चौलागाईलाई कदर पत्रबाट सम्मान समेत गरिएको थियो ।

  • ५ फाल्गुन २०८०, शनिबार प्रकाशित

  • Nabintech