११ मंसिर २०८१, मंगलवार

प्रसूतिगृहबाट चोरिएको शिशुसहित ३ जना पक्राउ

विवाह गरेको लामो समयसम्म पनि सन्तान नभएपछि बच्चा चोरी

  • न्युज मानसराेवर

काठमाडौँ:काठमाडौँको थापाथलीस्थित प्रसूतिगृहबाट चोरी भएको शिशुसहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार दैलेख घर भई हाल काठमाडौँको काडाँघारी बस्ने मनीषा भनिने मनकुमारी सिंहसहित ३ जनालाई पक्राउ गरिएको हो। बाँकी २ जना पनि मनकुमारीकै आफन्त हुन्।  ‘तीन जना पक्राउ गरेका छौँ’, परिसरका एक प्रहरी अधिकारीले भने, ‘विस्तृत कुरा आज हामी पत्रकार सम्मेलन गरेर बताउनेछौँ।’

शिशुसहित उनीहरूलाई शुक्रबार राति ११:४५ बजे काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको संयुक्त टोलीले काँडाघारीबाट पक्राउ गरेको हो।  विवाह गरेको लामो समयसम्म पनि सन्तान नभएपछि ती महिलाले बच्चा चोरी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

शुक्रबार दिउँसो १२ बजे प्रसूतिगृहमा फलोअप उपचारमा ल्याइएकी २६ दिने शिशुलाई लाइनमा उभिएकी एकजना महिलाले लिएर गायब भएकी थिइन्। जन्डिसकी बिरामी ती शिशुको फलोअप उपचारका लागि बूढानीलकण्ठ नगरपालिका १२ की २२ वर्षीया सविना श्रेष्ठ जेठानीसहित प्रसूतिगृह आएकी थिइन्।

शिशु लिएर महिला गायब भएपछि पीडित परिवारले प्रहरीलाई खबर गरेको थियो। खोजीका क्रममा प्रहरीले शिशुसहित मनकुमारी र उनका २ आफन्तलाई काठमाडाैँकै काँडाघारीबाट नियन्त्रणमा लिएको हो।  सीसीटीभीको दृश्यका आधारमा प्रहरीले शिशु पत्ता लगाएको हो।

  • १२ फाल्गुन २०८०, शनिबार प्रकाशित

  • Nabintech