११ मंसिर २०८१, मंगलवार

नौलापुरमा तीनजना युवामाथि सांघातिक आक्रमण, हानियो बन्चरो बनाईयो घाईते

घटनास्थलबाट दुईवटा बञ्चरोसहित कुसल परियारलाई पक्राउ

  • शुभाकर विश्वकर्मा

बैजनाथ,बाँके: बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ४ नौलापुरमा तीनजना युवामाथि सांघातिक आक्रमण भएको छ । सोमबार राति १० बजेतिरको नौलापुरमा विवाह हेर्न गएका युवामाथि सांघातिक आक्रमण भएको भएको हो ।

जुम्लाको चन्दननाथ नगरपालिका वडा नम्बर ५ घर भइ हाल बैजनाथ-४ मा बसोबास गर्दै आइरहेका २६ वर्षीय शिव सुनार, बैजनाथ गाउँपालिका वडा नम्बर ४ का कवीर बुढाथोकी र कोहलपुर नगरपालिका वडा नम्बर ३ मदनचोकका २१ वर्षीय घनश्याम बुढाथोकी घाइते भएका ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख सुन्दर तिवारीले जानकारी दिए । विवाह चलिरहेको समयमा १० जनाको समूहमा आएको अज्ञात समूहले उनीहरुमाथि बञ्चरो प्रहार गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । उनीहरुको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ ।

तीनैजनाको टाउकोमा गम्भीर चोट लागेको छ ।‘तीनैजनालाई ज्यान मार्ने मनसायले आक्रमण गरेको देखिन्छ, तिनै जनाको टाउकोमा चोट लागेको छ । उनीहरुको आइसियूमा उपचार भइरहेको छ,’ डिएसपी तिवारीले भने । घटनामा धारिलो हतियार बञ्चरो प्रहार भएको तिवारीले बताए । पीडित सुनारको टाउँकोसहित मुखमा गम्भीर चोट छ । त्यस्तै कवि बुढाथोकीको टाउको, हात र मुखमा चोट लागेको छ । यस्तै शरीरका अन्य भागमा पनि गहिरो चोट लागेको छ ।
घनश्यामको पनि टाउकोमा गम्भीर चोट छ । घटनास्थलका प्रत्यक्षदर्शीहरुका अनुसार उनीहरुलाई १० जनाको समूहले सामूहिक आक्रमण गरेको थियो । बञ्चरो प्रहार भएका तीनैजना घाइते अवस्थामा भेटिएका थिए । उनीहरु बाटोमै लडिरहेको अवस्थामा भेटिएपछि स्थानीयले आफन्तलाई खबर गरेका थिए । त्यसपछि उनीहरुलाई राति नै शिक्षण अस्पताल कोहलपुर पुर्याइएको थियो । घटनामा संलग्नहरुको खोजी कार्य भइरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
किटानी जाहेरी दर्ता, एकजना पक्राउ सोमबार राति भएको आंघातिक आक्रमणमा संलग्नविरुद्ध ईलाका प्रहरी कार्यालय कोहलपुरमा किटानी जाहेरी दर्ता भएको छ । पीडितहरुको तर्फबाट गम्भीर घाइते शिव सुनारकी दिदी पूजा सुनारले ईलाका प्रहरी कार्यालय कोहलपुरमा किटानी जाहेरी दर्ता गरेकी छन् । सुनारले ज्यान मार्ने उद्योगसम्बन्धी कसूरमा दर्ता गरेको जाहेरीमा सोमबार अन्दाजी १० बजेतिरको समयमा १० जनाको समूहमा आएको युवाहरुको समूहले बञ्चरो प्रहार गरेको उल्लेख छ ।
सुनारले घटनामा संलग्न भएको आरोपमा कोहलपुर नगरपालिका वडा नम्बर १ कोशिलानगरका अन्दाजी २३ बर्षीय कुसल परियार र तिलक परियारसहित १० जनाविरुद्ध मुद्दा दर्ता गरेकी हुन् । ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । विवाहको रमाइलोबाट फर्किँदै गर्दा एक्कासी आक्रमण भएको जाहेरीमा उल्लेख गरिएको छ । बञ्चरो प्रहारको घटनामा संलग्नहरुलाई पक्राउ गरी हदैसम्म कारबाही गर्न माग गरिएको छ । यस्तै घाइतेहरुको उपचार खर्च र क्षतिपूर्तिसमेत माग गरिएको छ ।
यता ईलाका प्रहरी कार्यालय कोहलपुरले घटनामा संलग्न भएको आरोपमा कुसल परियारलाई पक्राउ गरिएको छ । उनलाई घटनास्थलबाटै दुईवटा बञ्चरोसहित पक्राउ गरिएको तिवारीले बताए । अन्यको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

  • १५ फाल्गुन २०८०, मंगलवार प्रकाशित

  • Nabintech