काठमाडौं: अन्ततः सत्ता गठबन्धन भत्किएको छ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेका अनुसार, आजै मन्त्रिपरिषद् समेत पुनर्गठन हुँदैछ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एमाले सहित रास्वपा, राप्रपा र जसपा सहभागी हुनेछन् । अरु दलहरुसँग पनि कुरा हुँदै गरेको नेताहरुले बताएका छन् ।
स्रोतका अनुसार, आइतबार रातिसम्म चलेको बैठकमा जुटेको सहमति अनुसार माओवादी केन्द्रले नेपाली कांग्रेससँगको सहकार्य तोड्ने भएको हो । यद्यपि एकपटक प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति देउवासँग आज कुरा गर्दैछन् । ‘एमालेसँग भएको सहमति अनुसार नै प्रचण्डले देउवालाई भेट्न लाग्नु भएको हो । भेटमा नयाँ सहमति जुटेको कुरा नै भन्नु हुन्छ होला’, स्रोतले भन्यो । पुरानै गठबन्धन फर्काउने सहमति राति जुटेछि बिहान नै बालकोटमा एमाले र बालुवाटारमा माओवादी केन्द्रको सचिवालय बैठक बसेको छ ।
बालुवाटार हिँडे ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार हिँडेका छन् । ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्न प्रधानमन्त्री निवास बालुवाटारतिर लागेका हुन् ।
ओलीले सोमबार बिहान पार्टीको सचिवालय बैठक र जनमत पार्टीका अध्यक्ष सिके राउतसँगको भेटवार्ता गरेका थिए । कांग्रेस नेतृत्वको गठबन्धन भत्किएपछि नयाँ समीकरणको खाका तय गर्न ओली बालुवाटार जान लागेको बुझिएको छ ।