११ मंसिर २०८१, मंगलवार

बाबु र आफनो अधिकार खोज्दै सुर्खेतवाट नेपालगञ्ज आईन कृपा

पारिवारिक तनावले कृपाले आफ्नो पढाइलाई समेत निरन्तरता दिन सकेकी छैनन्

  • रूपा गहतराज

नेपालगन्ज: बाल्यकालमै कृपा सोनीले बुवाआमाको काख र साथ पाइनन् । हुर्कंदै गरेपछि ११ वर्षको उमेरमा आमाले छोडेर गइन् । आमाले दोस्रो बिहे गरेर घरजम गरेपछि आमा–बुवाको सहारा नपाएकी उनी आफन्तको घरमा नै हुर्किन् । कहिले मामाघर त कहिले सानिमाको घर गर्दै उनले आफ्नो बाल्यकाल बिताएको बताइन् ।

आफ्ना लागि केही नबोल्दिएपछि आफूले आमाविरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिनुपरेको कृपाले सुनाइन् । कृपाले सुर्खेत जिल्ला अदालतमा नाता प्रमाणित गरी पाउँ भनी बुवा कुवेर सोनीविरुद्ध पनि मुद्दा दर्ता गरेकी छन् । आमाले बुवाको पहिचान खुलाएपछि आफूले जन्मदर्ता गराउन पाएको उनले सुनाइन् । १८ वर्षका दौरानमा कहिलेकाहीं मात्र उनले बुवा कुवेर सोनीलाई भेट्न पाएकी थिइन् । ‘कहिल्यै पनि घरमा भेट्नु भएन,’ उनले भनिन्, ‘एक–दुईपटक होटलमा चाहिं भेटेकी छु ।’

बुवा–आमाको अभावमा हुर्किएकी कृपा अहिले बुवासँग आफ्नो पहिचान स्थापित गर्ने लडाइँमा छन् । आफ्नै बुवाले छोरीलाई स्वीकार गर्न नमानेपछि उनी अहिले बुवा खोज्दै नेपालगन्ज आइपुगेकी हुन् ।

नेपालगन्जका व्यवसायी कुवेर सोनीले कृपा आफ्नो छोरी नभएको बताएपछि उनी अहिले अलपत्र परेकी छन् । पारिवारिक तनावले कृपाले आफ्नो पढाइलाई समेत निरन्तरता दिन सकेकी छैनन् । कक्षा ८ मा पढ्दै गरेकी उनी अहिले नियमित स्कुल जानसमेत पाएकी छैनन् ।

‘भेटमा जहिले पनि आश्वासन मात्र दिनुभयो । आजसम्म म जसोतसो गरेर बाँचे, अब मेरो भविष्य कसले हेर्ने ? कसको सहारामा म बाँच्ने ?’ कृपाले भनिन्, ‘कि मेरो बुवा देखाइदिनुपर्‍यो, होइन भने म बाउबिनाकी छोरी हुँ भन्ने प्रमाणित गरिदिनुपर्‍यो ।’

कृपाका अनुसार उनकी आमा र कुवेरले प्रेम सम्बन्धपछि बिहे गरेका थिए । बुवाले आमालाई नेपालगन्जको कोरियनपुरमा कोठा लिएर राखे । नेपालगन्जकै एक अस्पतालमा आफ्नो जन्म भएको आमाबाट थाहा पाएको कृपा बताइन् ।

कृपाका अनुसार आफू जन्मेपछि दुई वर्षसम्म आमा नेपालगन्जमा बसिन् । तर, समयक्रममा कुवेरले आमाछोरीलाई नै स्वीकार नगरेपछि कृपालाई लिएर उनकी आमा सुर्खेत गएकी थिइन् । अहिले कृपा १८ वर्षकी भइन् । ‘मलाई बुवाको धन–सम्पत्ति केही चाहिएको हैन,’ कृपाले भनिन्, ‘मलाई मेरो पहिचान दिए पुग्छ, मलाई चाहिएको त्यत्ति हो ।’

कुवेरको परिवारले मुद्दा फिर्ता गर्न मानसिक रुपमा दबाब दिइरहेको पनि कृपाले सुनाइन् । ‘बाहिर भेट्दा तिमी मेरी छोरी हौ, म तिमीलाई हेर्छु, पढाउँछु भनेर ढुक्क पार्नुहुन्छ,’ उनले भनिन्, ‘अदालतमा पुगेपछि मलाई चिन्नु हुन्न, बोल्नुहुन्न ।’

कुवेर सोनी विवाहित हुन् । उनी नेपालगन्जमा व्यवसाय गरेर बस्छन् । उनले कृपा आफ्नी छोरी नभएको दाबी गरे । ‘मैले बिहे नै गरेको छैन, कसरी मेरी छोरी हुन्छे ?’ उनले भने, ‘अहिलेसम्म हराएकी छोरी १८ वर्षपछि कसरी टुप्लुक्क आइपुगी ? यो सब मेरो सम्पत्ति देखेर फसाउन गरिएको प्रपञ्च मात्रै हो ।’

  • २७ फाल्गुन २०८०, आईतवार प्रकाशित

  • Nabintech