११ मंसिर २०८१, मंगलवार

बाँकेका निरौला र मल्ल निस्किय साईकलमै मेचिकालि यात्रामा

कञ्चनपुरको कुतियाकभरदेखि मेचीस्थित झापाको केचनाकेवलसम्मको यात्रा तय

  • न्युज मानसराेवर

नेपालगञ्ज : बाँकेका दुई युवाले महाकालीदेखि मेचीसम्मको साइकल यात्रा शुरु गरेका छन् । बाँके खजुराका सतिश निरौला र नेपालगञ्जका रमेश मल्ल दुई जनाले एकसाथ चलाउन मिल्ने साइकलबाट पश्चिमको महाकाली नदीबाट साइकल यात्रा शुरु गरेका हुन् ।

पश्चिम महाकाली नदीस्थित कञ्चनपुरको कुतियाकभरदेखि मेचीस्थित झापाको केचनाकेवलसम्म करिब एक हजार १०० किलोमिटर साइकलबाट पूरा गरिने निरौलाले बताए । फागुन २४ गते कुतियाकभरदेखि सुरु भएको साइकलयात्रा चैत ३ गते केचनाकेवल पुगेर समापन हुनेछ ।

यात्राको सातौं दिन बुधबार दिउँसो निरौला र मल्ल मकवानपुरको हेटौंडा पुगेका छन् । निरौलाले भने, ‘साइकल पछाडिको भागमा दुई जनालाई चाहिने बन्दोबस्तीका आवश्यक सामग्री राखेर यात्रा अघि बढाएका छौं, प्रत्येक दिन करिब एकसय किलोमिटर यात्रा गरिरहेका छौं ।’

वातावरण संरक्षण तथा पर्यावरणको पक्षमा सचेतना फैलाउन लामो साइकल यात्रामा निस्किएको निरौला र मल्लको जोडीले ठाउँ–ठाउँमा साइकलप्रेमीबाट पाएको हौसलाबाट उत्साहित भएको जनाएको छ ।

निरौला र मल्लले यसअघि पनि नेपाल र भारतका विभिन्न स्थानमा साइकलबाटै पुग्नुभएको थियो । निरौला र मल्लसहितको समूहले नेपालगञ्जदेखि बर्दियाको ठाकुरद्वारासम्मको टुर दि ठाकुरद्वारा साइकलयात्रा गर्दैआएको छ ।

महाकालीदेखि मेचीसम्मको साइकलयात्राका क्रममा विभिन्न स्थानीय बासिन्दासँग अन्तरक्रिया गर्न पाएको र देशको विभिन्न पक्षबारे बुझ्ने अवसर प्राप्त भएको मल्लले बताए ।

कञ्चनपुरको कुतियाकभरका बासिन्दा लामो समयदेखि सीमा रक्षकको रुपमा रहँदैआएको भए पनि सरकारका तर्फबाट प्राथमिकतामा पर्न नसकेको उनीहरुले बताए । कुतियाकभर भारतको उत्तरप्रदेश तथा उत्तराखण्डसँग सीमा जोडिएको गाउँ हो ।

  • ३० फाल्गुन २०८०, बुधबार प्रकाशित

  • Nabintech