हुम्ला: दक्षिणी क्षेत्रको कर्णाली नदी किनारमा बसोबास गर्दै आएका व्यवसायीले माछाबाट राम्रो आम्दानी गर्न थालेका छन् । नदीमा जाल हालेर दैनिक माछा मार्ने र त्यो बिक्री गरेर राम्रो आम्दानी गर्न थालेका छन् । सर्केगाड गाउँपालिका केन्द्र सर्केगाडका होटल व्यवसायी जानबहादुर छन्त्यालले दैनिक नदीमा जाल हालेर पाँच केजीसम्म माछा पार्ने गरेको बताउनुभयो । हाल सर्केगाडमा माछाको मूल्य प्रतिकेजी आठ सय रुपियाँ पर्ने गर्छ । उहाँले दैनिक चार हजारसम्म जालमा परेका माछा बिक्री गरेर कमाइरहेको बताउनुभयो ।
अदानचुली गाउँपालिकाको गल्फागार्डका स्थानीय उब्जन फडेराको काम पनि दैनिक जाल हालेर माछा पार्ने रहेको छ । उहाँले दैनिक तीनदेखि छ केजी माछा जालमा पर्ने र त्यसलाई बिक्री गर्ने गरिएको बताउनुभयो । पुसदेखि वैशाख महिनासम्म माछाबाट राम्रो कमाइ हुने गरेको बताउँदै फडेराले यसबाट हुने कमाइप्रति सन्तुष्ट रहेको बताउनुभयो ।
माछालाई जाल हाल्ने हुम्ला जिल्लाका कवाडीदेखि खार्पुनाथ गाउँपालिकाको खार्पुसम्म कम्तीमा ८० जना स्थानीय जाल हाल्ने कार्य गर्दै आउनुभएको छ । उहाँहरूले जालमा पारेको माछा सदरमुकाम सिमकोटसम्म बिक्रीका लागि ल्याउने गरिएको छ । त्यस्तै यतिबेला दक्षिणी हुम्लामा माछाको बेचबिखन राम्रो हुने गरेको छ ।