कोहलपुर,बाँके: बाँकेको कोहलपुर नगरपालिका आसपासमा सञ्चालित ई रिक्सा चालकहरुले अटोरिक्सा व्यवस्थापनको माग गर्दै शान्तिपुर्ण आन्दोलनमा उत्रिएका छन् । लामो समय सम्म कोहलपुर नगरले उनीहरुको मागलाई सम्बोधन नगर्दा शान्तिपुर्ण रुपमा आन्दोलनमा उत्रिनु परेको ई रिक्सा चालकहरुले वताएका छन ।
दोहोरो कर र दोहोरो विलबुकले मारमा परेको भन्दै उनीहरुले स्थानिय तहमा मात्र दर्ता र कर तिर्ने वातावरण मिलाउन माग गर्दै सोमवार कोहलपुरको भेला भई शान्तिपुर्ण आन्दोलन गरेका हुन। दोहोरो करले हामीलाई अन्याय भयो न्यायकालागि सडकमा उत्रिएका छौं आशा छ नगरपालिकाले न्याय गर्नेछ न्युज मानसरोवरसंगको कुराकानिमा उनीहरुले भने । दुई -दुई ठाउँमा दर्ता गर्दा पनि हामीलाई सुखले कमाई गरि खान दिईएको छैन ई रिक्सा चालक मेघनाथ काफ्लेले दुखेसो पोखे ।
सोमवार कोहलपुरमा संचालित ई रिक्सा मजदुर संगठन र कोहलपुर यातायात सेवा प्रालिले ई रिक्सा व्यवस्थापनको माग गर्दै कोहलपुर नगरपालिकालाई ज्ञापन पत्र समेत बुझाएका छन् । कोहलपुरमा संचालित अटो रिक्सा कार्यविधि अनुसार संचालन नभएको, ट्राफिक प्रहरीको चेकजाँचमा लापरवाही भएको, अटोरिक्सा अव्यवस्थित अवस्थामा रहेकोले यसको व्यवस्थापन गर्न आवश्यक रहेको ई रिक्सा मजदुर संगठन कोहलपुरका अध्यक्ष बिनोद मल्लले बताए । कोहलपुरमा सञ्चालित ई रिक्साहरु नगरपालिकामा मात्र दर्ता पश्चात सञ्चालन गर्न दिने अवस्थाको सिर्जना गर्न दवाव मुलक ज्ञापन पत्र बुझाएको अध्यक्ष मल्लले न्युज मानसरोवरलाई बताए।
ई रिक्सा चालकले अरुबाट हेपएर पनि सेवा प्रदान गर्दै आएको भन्दै मल्लले आपतको समयमा ई रिक्साले एम्बुलेन्सको समेत काम गरेको दावि गरे । दर्ता र लाइसेन्सको लागि कोहलपुर नगरपालिका र ट्राफिक प्रहरीले चासो नदेखाएको हुनाले यसतर्फ पनि ध्यान जान जरुरी रहेको अध्यक्ष मल्लको भनाई छ । एक जिल्ला वा अन्य पालिकामा सवारी बोकेर जाँदा आवत जावतमा समस्या निम्त्याउने गरेको कोहलपुर यातायात सेवा प्रालिका अध्यक्ष भुम बहादुर घर्तिमगरले बताए । दुई- दुई वटा विलबुक किन बोक्ने भन्दै यसलाई कार्यविधिबाटै सच्चाउन अध्यक्ष घर्तिमगरले आग्रह गरे ।
कोहलपुर नगरपालिकाका उपमेयर संगिता सुवेदीले ई रिक्सा चालकहरुले समस्या पर्दा नै हामीकहा आएको हुनाले यसबारे सकरात्मक रहेको बताएकी छिन । नगरले पनि कार्यविधि तयार गरेको छ यस बारे हामीले यातायातसंग सहकार्य गरि केही दिनभित्रै कार्यन्वय हुने गरि लागु गरिने उपमेयर सुवेदीको भनाई रहेको छ ।
ई रिक्सा चालकले दर्ता गरि मात्र सवारी साधन चलाउन पर्ने जस्ता विधि तयार भएको छ सोही अनुसार चालकले नगरपालिकामा दर्ता गरि रिक्सा चलाउदा आफुलाई पनि सहज र सुरक्षित हुने भन्दै सुवेदीले रिक्साको विषयमा निति बनेको छ त्यही आधारमा कडाईका साथ अगाडी लैजाने र व्यवस्थापन गर्ने तर्फ नगरपालिकाको ध्यान केन्द्रित बनेको बताईन ।
जिल्ला ट्राफिक कार्यालय बाँकेले भने अटो रिक्साको लाइसेन्स, विल बुक नियमित चेकजाँच गरिनुका साथै रिक्साको दाहिने साइडमा रड हाल्न लगाउने कार्य भैरहेको जनाएको छ । अटो रिक्सा व्यवस्थापनका लागि नियमित चेकजाँच गरिनुका साथै दर्ता गराउन अनुरोध गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख गोपी कृष्ण सुवेदीले बताए । चारैतिर चेकजाँच गर्न जनशक्तिको अभावले सम्भव नभएको समेत सुबेदीले बताएका छन ।
हाल कोहलपुर नगरभित्र करिब ६ सय अटो रिक्सा सञ्चालनमा रहेका छन जसमध्ये बढिमा १ सय ५० रिक्सा नगरपालिकामा दर्ता रहेको वतााईएको छ।