२१ बैशाख २०८१, शुक्रबार

एसईईमा बाँकेबाट नौ हजार २९३ जना विद्यार्थी सहभागी हुदै

बाल सुधार गृहमा रहेका बालबिज्याईकर्ताहरुलाई सुधार गृहमै परीक्षा दिने व्यवस्था

  • गजेन्द्र गुरुङ

नेपालगञ्ज,बाँके:यहि चैत १५ गतेबाट सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा बाँके जिल्लाबाट नौ हजार २९३ जना विद्यार्थी सहभागी हुने भएका छन् । जिल्लाका विभिन्न ८ वटा पालिकाका २८ सामुदायिक र ६ संस्थागत गरी ३४ परीक्षा केन्द्रबाट नौ हजार १०२ नियमित र १९१ ग्रेड वृद्धि गरी जम्मा नौ हजार २९३ जना विद्यार्थीले एसईई दिन लागेको शिक्षा विकास तथा समन्वय इकाई बाँकेका प्रमुख रामसुरेश यादवले जानकारी दिनुभयो ।

इकाई प्रमुख यादवका अनुसार एक मदरसासहित १०१ सामुदायिक विद्यालय र ९७ संस्थागत गरी १९८ विद्यालयका चार हजार ७६३ छात्र र चार हजार ५३० छात्रा गरी नौ हजार २९३ विद्यार्थीले एसईई दिने भएका हुन् । उहाँका अनुसार १० वटा सामुदायिक विद्यालयका ३५७ जना प्राविधिकधारका विद्यार्थीे पनि एसईईमा सहभागी हुनेछन् ।

जसमध्ये सामुदायिक १०१ विद्यालयका तीन हजार दुई सय छात्र र तीन हजार २४० छात्रा गरी छ हजार ४४० विद्यार्थी र संस्थागत ९७ विद्यालयका एक हजार ६७१ छात्र र एक हजार १८२ छात्रा गरी दुई हजार ८५३ विद्यार्थी रहेका छन् ।

एसईईमा जयेन्दु बाल सुधार गृहका ३३ र नौ वस्ता बाल सुधार गृहका ११ गरी ४४ जना बालबिज्याईकर्ता पनि सहभागी रहने उहाँले बताउनुभयो । त्यसैगरी दृष्टिविहीन पाँच जना, कान नसुन्ने तीन जना र शारिरीक अपाङ्गता भएका दुई गरी १० जना अपाङ्ग क्षेत्रका विद्यार्थी पनि सहभागी रहने उहाँले बताउनुभयो ।

बाल सुधार गृहमा रहेका बालबिज्याईकर्ताहरुलाई सुधार गृहमै परीक्षा दिने व्यवस्था मिलाइएको यादवले बताउनुभयो । डुडुवामा रहेको जयन्दु बाल सुधार गृहका ३३ जना बालबिज्याईकर्तालाई नेपालगन्जमा रहेको मङ्गल माध्यमिक विद्यालय उपकेन्द्र र बैजनाथमा रहेको नौवस्ता बाल सुधार गृहका ११ जना बालबिज्याईकर्तालाई सूर्योदय माध्यमिक विद्यालय चिसापानी उपकेन्द्रमार्फत् परीक्षा लिइने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।

सबैभन्दा बढी कोहलपुर नगरपालिकामा १०, नेपालगन्ज उपमहानगरपालिकामा नौ, खजुरा, राप्तीसोनारी र बैजनाथमा गाउँपालिकामा चार–चार र जानकी, डुडुवा र नरैनापुर गाउँपालिकामा एक–एक गरी जम्मा ३४ परीक्षा केन्द्र तोकिएको इकाई प्रमुख यादवले जानकारी दिनुभयो ।

बैजनाथको सुर्योदय माध्यमिक विद्यालय चिसापानी केन्द्रबाट सबैभन्दा बढी ४१७ विद्यार्थीले एसईई दिन लागेका छन् । त्यसैगरी बैजनाथकै भगवती माध्यमिक विद्यालय हसनापुर केन्द्रबाट सबैभन्दा कम १७२ जना विद्यार्थी एसइइमा सहभागी हुन लागेको यादवले बताउनुभयो ।

गत वर्ष बाँके जिल्लाबाट आठ हजार ८८६ जना विद्यार्थीले एसईई दिएका थिए । यो वर्ष गत वर्षको तुलनामा ४०७ बढी विद्यार्थी एसईईमा सहभागी हुनेछन् ।

  • ८ चैत्र २०८०, बिहीबार प्रकाशित

  • Nabintech