नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउपालिकाले किसान मैत्री बाताबरण बनाउन बिभिन्न प्रयोगात्मक गतिबिधि सञ्चालन गर्दै आएको छ । परम्परागत रुपमा कृषिकर्म गर्दै आएको नरैनापुरमा केही पृथक योजनाका साथ काम गर्न थालिएको नरैनापुर गाउँपालिका कृषि शाखाका प्रमुख सदन भण्डारी बताउछन । कृषिकर्मका लागि अत्यन्त उर्बर भूमिसंगै जिल्लाको अन्न भण्डारको रुपमा परिचय बनाउन सफल नरैनापुर गाउपालिकामा सिचाईको अभावका कारण खेती गर्दा आकासे पानीको भरपर्नु तथा बैकल्पिक सिचाई पनि सबै तिर हुन नसक्नु यहाँको बिडम्बना भएकोले बैकल्पिक सिचाईको व्यवस्था खोजि गरिएको शाखा प्रमुख भण्डारी बताउछन् । केही वर्ष अघिसम्म बाटोघाटो र विजुली बत्तिको अभावमा जेनतेन गुजारा गर्दै आएको नरैनापुर गाउपालिकामा बाटो र विद्युत पुगेसंगै विकासको लागि बाटो खुलेको हो । नरैनापुर गाउपालिकाले किसानलाई नगदे तथा बेमौशमी बालिमा आकर्षण बनाउनको लागि बिभिन्न प्रयोगात्मक कार्यक्रम अन्तरगत किसानको खेतबालीमै पुगेर कृषक पाठशाला सञ्चालन गर्दै आएको छ । ‘किसानको खेतमा पुगेर कृषक पाठशाला कक्षा चलाउदै आएको छ। यसमा कुनै बालि विषेशलाई लिएर साताको एकपटक खेतीगर्ने तरिका, किट् जन्य समस्या भएमा उपचार गर्ने तरिका र उत्पादन गरी बिक्रि बितरण र भण्डारण गर्ने तरिका सबै सिकाईने हुँदा यस कार्यलाई कृषक पाठशाला भनिएको हो’–उनले स्पष्ट पार्दै भने । नरैनापुर कृषि शाखा प्रमुख भण्डारीले किसानलाई नगदे बालितर्फ खासगरी तरकारी खेतीमा आकर्षण गराउनको लागि समुह निर्माण गरी कृषक पाठशाला सञ्चालन गर्दै आएको बताए । उनले यसवर्ष बन्दागोभीको खेतीको बारेमा समुह निर्माण गरेर कृषक पाठशाला सञ्चालन गरेको जानकारी दिए । कृषक पाठशालामा सहभागी अग्नी चौधरीले हरियाली महिला समुहमा आवद्ध भएर तरकारी खेती गर्न सिकेको बताईन । उनले भनिन–‘पहिला घरको करेशामा बेर्ना सारेर छाडिन्थ्यो फलेमा खाईन्थ्यो नफले त्यतिकै खेर जन्थ्यो तर, अहिले भने किन फलेन भनेर हेर्ने, खोडमेल गर्ने, मलजल गर्ने जस्ता सबै तरिका सिक्न पाएका छौ ।’ कृषक पाठशालाले थोरै जमिनको पनि सदुपयोग गर्ने तरिका सिकाएको उनको अनुभव छ । नरैनापुर–४ हरियाली कृषक महिला समुह दौलतपुर की अध्यक्ष प्रतिमा भुषालले समुहमा आवद्ध भएर कृषक पाठशाला सञ्चालन गर्दा आफुहरु जस्ता किसानलाई नगदे वालिको खेती गर्न प्रोत्साहन गर्न सिकाएको बताउछिन । उनले भनिन–‘ हामी गृहणीलाई हाम्रै घरदैलोमा आएर पालिकाले कृषक पाठशाला हामीले बुझ्ने शैलीमा सञ्चालन गरेको छ । यसबाट मौसमसी बेमौसमी खेती गर्ने लगायतका धेरैकुरा सिक्न पाएका छौ । यो वर्ष बन्दागोभीको खेती गर्ने तरिका सिक्न पायौ अर्को वर्ष अर्को बालिको खेती गर्ने तरिका सिक्ने आशा गरेका छौ ।’ भुषाल र चौधरीलगायको २४ जनाको समुहले कृषक पाठशालामा गएर जैविक मल बनाउने तरिका, बिउ राख्ने, बिरुवा रोप्ने, गोडमेल गर्ने, किरा लाग्दा जैविक उपचार गर्ने जस्ता तरिका सिक्न पाएका छन । उनीहरुले एकै स्वरमा भन्छन–‘ नगदे खेती गर्नको लागि हामीकहाँ सिचाईको समस्या छ । पालिकाले सिचाईको सुविधा र उत्पादनको बजारीकरणका लागि पहल गरिदिन सके हाम्रो मेहनतले सार्थकता पाउने थियो ।’ नरैनापुरका स्थानीय दैनिक खाने तरकारी पनि आफुले उत्पादन नगरी सीमापारीको भारतीय बजारमा भर पर्ने बाध्यतालाई हटाउदै पालिकाले वडानं. ४ मै हाटबजार स्थापना गर्ने र कृषकका उत्पादन हाटबजार वा संकलन केन्द्रसम्म ल्याउनको लागि कृषि एम्बुलेन्सको रुपमा कृषि उत्पादन ढुवानी गर्ने सवारी साधन खरिद गर्ने योजनामा रहेको छ । नरैनापुर गाउपालिका बाँके कृषि शाखा प्रमुख भण्डारीले नरैनापुर गाउपालिकाको मुख्य समस्या भनेको सिचाईको अभाव भएको कारण सचाईको लागि बैकल्पिक व्यवस्था मिलाउदै डिप बोरिङ्ग, बोरिङ्ग उपलब्ध गराउनुको साथै निर्माणाधिन अवस्थाको सिक्टा सिचाई आयोजनाको नहरको पानी किसानको खेतसम्म पुराउनको लागि निर्माणमा कुनै अवरोध नहुने गरि काम सञ्चालनको बाताबरण मिलाएको बताए । उनले किसानको उत्पादन विक्रि वितरणको लागि हाटबजार र संकलन केन्द्र स्थापना गरी ढुवानीको लागि कृषि एम्बुलेन्सको रुपमा अटो, वा पिकअप भ्यान सञ्चालनमा ल्याउने गरी तयारी गरिएको बताए । उनले भने–‘किसानको उत्पादनलाई बजारसम्म पुराउनको लागि प्रदेश र संघसंगको सहकार्यमा ढुवानीको साधन सञ्चालन गर्ने र हाटवजार वा संकलन केन्द्र बनाईने योजना रहेको छ । जुन चाँडै कार्यान्वयनमा ल्याईने छ ।’