२१ बैशाख २०८१, शुक्रबार

पुन: पक्राउ पर्ने सूचना पाएपछि अखिल क्रान्तिकारीका महासचिव पुन धरौटी नबुझाएर थुनामै
  • न्युज मानसराेवर

बुटवल:रुपन्देही जिल्ला अदालतबाट बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा ४ लाख रकम धरौटी तोकिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा तथा माओवादी निकट अखिल क्रान्तिकारीका महासचिव दीपेश पुन ५ दिनदेखि त्यो रकम नबुझाएर थुनामै बसेका छन् ।

वैशाख ७ गते अदालतबाट उनीसँगै त्यो भन्दा धेरै रकम धरौटी तोकिएका समेत रकम बुझाएर छुटेपनि पुन भने यहाँबाट त्यो धरौटी रकम बुझाएर बाहिर निस्केपछि काठमाडौंमा रहेको सुन प्रकरण मुद्दामा प्रहरीले लैजाने सूचना पाएपछि चलाखीपूर्वक धरौटी रकम बुझाउन आनाकानी गरेर बसेका थुनामै बसेका छन् । स्रोतका अनुसार ५ दिनदेखि थुनामै बसेका पुनलाई सिआईबीले काठमाडौं लैजाने तयारी थालिसेको छ ।

रुपन्देही जिल्ला अदालतले थुनछेक बहसपछि ६ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएपनि पुनले त्यो रकम नबुझाएका कारण थुनामुक्त नभएको रुपन्देही अदालतका सूचना अधिकारी अनन्तराज मरासिनी बताउँछन् ।

वैशाख ७ गते न्यायाधीश डा दीपक उप्रेतीको इजलासले सुन प्रकरणमा काठमाडौंमा पक्राउ परेर रुपन्देहीको सहकारी प्रकरणमा जोडिएका पुनलाई ४ लाख धरौटी तोकेको हो । अदालत स्रोतका अनुसार पुनले यो रकम बुझाएपछि बाहिर निस्केपनि प्रहरीले सुन प्रकरणमा हिरासतमा राख्ने भएकाले चलाखीपूर्वक यहाँ बसेका हुन् ।
‘त्यो तहको परिवारको सदस्यले ४ लाख धरौटी बुझाउन नसकेको कुरा विश्वास गर्ने कुरा हुँदैन, यहाँ आनन्दले बस्न पाएपछि उता प्रहरी हिरासतमा बस्न किन जाउन्, तर अब सिआइबीले केही दिनमै लौजान्छहोला, आन्तरिक तयारी भइसकेको छ’ स्रोतले भन्यो ।

प्रहरीको २ महिना लामो अनुसन्धानपछि वैशाख ३ गते जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत रुपन्देहीमा सहकारी ठगी प्रकरणमा मुद्दा दर्ता भएको थियो । ओखलढुङ्गा घर भएका जीबी राईसहित २८ जनालाई प्रतिवादी बनाएर सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेपनि एक जनालाई मात्र थुनामा राख्दै अरुलाई धरौटीको फैसला भएको छ ।

सहकारीमा राखेको निक्षेप हिनामिना गरेर ठगी गरेको र यसमा दीपेश पुनसमेतको संलग्नता रहेको आरोप लगाएर १ हजार ८३१ जनाले इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएका थिए । उनीहरूको ८६ करोड १८ लाख २३ हजार रकम हिनामिना भएको प्रहरी प्रतिवेदनमा देखिएको छ । सोही रकम बराबरको बिगो कायम गरेर अदालतमा मुद्दा लगिएको थियो ।

सहकारी पीडितहरुले जीबी राई अध्यक्ष र दीपेश पुन कोषाध्यक्ष रहेको सुप्रिम सहकारीको बचत रकम हिनामिना गरेको बताउँदै आएका छन् । २०८० चैत २ गते सुन तस्करी प्रकरणमा मुछिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन काठमाण्डौमा पक्राउ परेपछि सोही दिन सहकारी ठगी प्रकरणमा छानविन गर्न बुटवल ल्याइएको थियो ।

दीपेश पुनको चिनियाँ सुन तस्करसँग संलग्नता देखिएपछि प्रहरीको अनुसन्धानबाट बाहिरै रहेका थिए । सीआईबीले ६१ किलो सुन तस्करी प्रकरणमा दीपेशलाई सामान्य सोधपुछ कागज गराएर छाडेको थियो । पछिल्लोपटक दिपेशका दाजु जितेन्द्र र तत्कालीन उपराष्ट्रपतिसमेत रहेका बाबु नन्दबहादुर पुनको वैदेशिक मामिलाविज्ञ जीवनकुमार गुरुङ समेतका व्यक्ति तस्करीमै संलग्न रहेका प्रमाणहरू बाहिरिएपछि उनीमाथि अनुसन्धानको दायरा ल्याउनुपर्ने दबाब बढेकाले प्रहरीले पक्राउ गरेको हो ।

  • ११ बैशाख २०८१, मंगलवार प्रकाशित

  • Nabintech