७ जेष्ठ २०८१, सोमबार

आम्दानीको मुख्य श्रोत नै बाख्रापालन
  • न्युज मानसराेवर

राप्ती सोनारी:बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं. ७ कि किसान सिता दमाईले बाख्रा पालनबाट लाखौँको आम्दानी गरिरहेकी छिन् । निबुवाटार बस्ने उनले दुई बाख्राबाट सुरु गरेको व्यवसाय अहिले खोर नै भरिभराउ छ ।

सिताले भनिन,“हेपर नामक संस्थाले बाख्रा पालन सुरु गरेको समयमा एउटा बाख्रो र पाठी मात्रै दिएको थियो । पछि बढ्दै जाँदा दुई वर्षमा दर्जनको हाराहारीमा भए ।” अहिले बाख्राको जति कारोबार गरे पनि तीस भन्दा कमको संख्या नभएको उनको भनाइ छ । निबुवाटारमा रमाएको दमाई परिवारले सिलाई कटाई गरेर जीवन निर्वाह गर्दै आएका थिए तर सिलाई कटाइले परिवार पाल्न निकै समस्या भए पछि हेपरको सहयोगमा एक दशक पहिला मात्रै बाख्रापालन सुरु गरेको उनले सुनाइन् ।

जिल्ला सदरमुकामबाट एक घण्टा मात्रै टाढा रहेको निबुवातारमा उनले तीन चार महिनाको अन्तरालमा दुई÷तीन वटा खसी बिक्री गर्दै आएको बताइन् । “मैले जिन्दगीमा धेरै व्यवसायमा हात हाले, तर सफलता भने कतैबाट हात लागेन, उनले भनिन्, “बाख्रा व्यवसायपछि भने कहिल्यै पछाडि फर्कनुपरेन ।

अहिले पनि तिन चार महिनाको अन्तरालमा दुई÷तीवटा खसी बेचिन्छ । त्यो अनुसारको उत्पादन पनि भइरहन्छ ।” निरन्तर सङ्घर्षपछि सफलता मिल्दै जाँदा ‘गरे के हुँदैन र ?’ “बाख्रापालनबाट केही घाटा छैन”, उनले भनिन्, “दिनभर चराउँदा पनि पुग्छ, घाँस काट्नुपर्छ भन्ने हुँदैन । बिक्री नहोला भन्ने पनि छैन ।

दिउँसो ग्वालो (चरिचराउन गर्ने व्यक्ति) भए पुग्छ तर, ग्वालो बलियो छैन भने एकै पटक धेरै नोक्सान हुन्छ ।” जङ्गल नजिकै भएका कारण कहिले काहीँ बाख्रालाई बाघ, स्यालबाट जोगाउन भने हम्मेहम्मे पर्ने गरेको उनले भनिन् । उनले भनिन्“मेरा सम्पत्ति भनेकै यी चौपाया नै हुन् । यिनको रेखदेखमा लागेपछि कतै जान पाइँदैन । रेडियो सुन्नेबाहेक बाहिरी संसार पनि केही थाहा हुँदैन ।”

अहिले दमाई परिवारलाई खसीबोका तथा बाख्रा बिक्रीका लागि बाहिर जानुपर्दैन । कसैलाई चाहिएमा सम्पर्क गरेर घरमै पुग्ने गरेको उनले बताइन् । निबुवाटार एउटा ‘पिकनिक जोन’ पनि हो । वनभोज खान यहाँ सयौँको संख्यामा मान्छे आउँछन् ।

  • १८ बैशाख २०८१, मंगलवार प्रकाशित

  • Nabintech