६ जेष्ठ २०८१, आईतवार

के चाहन्छ काँग्रेस ? सहकारी समस्या समाधान कि रवि लामिछानेमाथि प्रहार ?
  • न्युज मानसराेवर

कोहलपुर,बाँके:यति बेला नेपाली राजनीतिमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीचको रस्साकस्सी चर्चामा छ ।विशेषगरी काँग्रेसले रास्वपा अध्यक्ष तथा उपप्रधानमन्त्री रवि लामिछाने लक्षित गर्दै राजनीतिक गतिविधि बढाउँदा दुई दलबीचको दुरी बढ्दो क्रममा देखिएको छ । यसका लागि दुवै पार्टीका शीर्ष नेताहरूको टिप्पणीको आक्रामकता हेर्दा पर्याप्त हुन्छ ।

अहिलेको मूल विवाद भनेको उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेको नाम जोडिएको सहकारी प्रकरण नै हो। जसलाई काँग्रेसले राजनीतिक अस्त्र बनाएको आरोप लागिरहेको छ ।

यति बेला थुप्रै  सहकारी संस्थाहरू समस्यामा परेका छन् । मनोमानी लगानी, नियमको बर्खिलाप र स्वार्थको खेलका कारण केही सहकारी संस्था चरम आर्थिक सङ्कटमा छन् । तिनै सहकारी देखाएर अन्य सहकारीलाई पनि समस्यामा भएको जस्तो देखाउने र अनावश्यक होहल्लाका कारण अन्य सहकारीलाई समेत विश्वासको सङ्कट परेको छ ।

काँग्रेसले भने अन्य सहकारीको समस्या भन्दा पनि जुन सुकै हालतमा उपप्रधानमन्त्री रवि लामिछानेलाई लक्षित गर्दै संसद्‍मा समेत कडा रूपमा प्रस्तुत भइरहेको छ । सहकारीको ठुलो रकम हिनामिना गरेर फरार गितेन्द्रबाबु राईसँगको सम्बन्धनका कारण समेत लामिछानेमाथि प्रश्नहरू उठिरहेका छन् । यसको समाधानका लागि सत्तापक्षले समग्र समस्याग्रस्त सहकारीको छानबिन गर्न सकिने विकल्प अघि सारे पनि काँग्रेस अझै लामिछानेमै केन्द्रित छ । काँग्रेसले लामिछानेमाथि अनुसन्धान गर्न संसदीय छानबिन समिति गठन गर्न माग गरेको हो । यसको रास्वपाले खुला प्रतिवाद गरिरहेको छ ।

काँग्रेसको माग लामिछानेमा मात्रै केन्द्रित हुँदा यो राजनीतिक फण्डा मात्रै भएको आरोप समेत लागिरहेको छ । विशेषगरी काँग्रेससहितको गठबन्धन भत्किएर वर्तमान सत्ता गठबन्धन बनिरहँदा काँग्रेसबाटै रवि लामिछानेलाई प्रधानमन्त्री बन्न अफर आएको थियो । तर अनेक प्रयासका बाबजुद वर्तमान गठबन्धन बनेपछि काँग्रेस स्वयंले प्रधानमन्त्री बनाउन खोजेको व्यक्तिविरुद्ध निरन्तर लागिरहेको  रास्वापको बुझाई रहेको छ  ।

आफ्नो सफाइ दिइरहँदा लामिछानेले काँग्रेसमाथि समेत नैतिक प्रश्न गर्नुभएको छ,  ‘आफ्नो अफर मान्यो भने माथिल्लो पदका लागि विभिन्न च्यानलबाट कुरा ल्याउने । नमानेपछि गृहमन्त्रीमाथि छानबिनको कुरा उठाउने ?’

रास्वपाले समेत पार्टीगत निर्णय गरेर काँग्रेसको माग ठिक नरहेको निष्कर्ष निकालेको छ ।  रास्वपाका सह–प्रवक्ता मनीष झाले काँग्रेस स्वयंले अनेक मुद्दा लागेका व्यक्तिलाई संसद् प्रवेश गराएर कुनै उजुरी नै नपरेका उपप्रधानमन्त्रीमाथि अनावश्यक बखेडा निकालेको आरोप नै लगाउनुभयो ।

उपप्रधानमन्त्री रवि लामिछानेले समेत काँग्रेसको माग अनावश्यक रहेको भन्दै भन्नुभयो ‘म विरुद्ध मिडियामा निरन्तर समाचार आएपछि महान्यायाधिवक्ता कार्यालयमार्फत मैले बुझेको थिए, कतै मुद्दा छैन, बयानमा पोलिएको पनि छैन। दलका नेतालाई बुझाइएको ज्ञापन पत्रमा पनि मेरो नाम छैन भने कसरी छानबिन समिति बनाउने ?’

त्यसो त काँग्रेस अहिले सरकार गिराउन अनेक प्रपञ्च गरिरहेको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र नेकपा एसका अध्यक्ष माधव नेपाललाई साथ लिने काम गरिरहेको प्रमुख प्रतिपक्षीको लक्ष्य पूरा नहुने देखे पछि गठबन्धन कमजोर बनाउन लागिपरेको रास्वपाका नेताहरूको ठहर छ । सोहीकारण रास्वपाका नेता मनीष झाले भन्नुभएको छ, “काँग्रेसले अरूको इसारामा मुलुकमा अस्थिरता निम्ताउन छानबिन समितिको माग गरेको हो ।’

  • २५ बैशाख २०८१, मंगलवार प्रकाशित

  • Nabintech